ललितपुर बचत संघले कुन उदेश्यले कोषाध्यक्षको गोष्ठी गर्न लागेको हो ?
अहिले धरै सहकारी संस्थामा संस्थागत सुशासनको समस्या देखिएको छ । ती संस्थाहरुमा वित्तीय अनुशासन कायम गर्न र सदस्यको विश्वास जित्नका लागि सकारात्मक वातावरण सृजना गर्ने उद्देश्यकासाथ साकोस कोषाध्यक्ष गोष्ठी गर्न लागेको हौं । संघमा ४८४ संस्थामा आवद्ध छन् । त्यस मध्ये पहिलो चरणमा १ सय सहकारी संस्थाका कोषाध्यक्षहरुलाई भेला गरेर हामीले गोष्ठी गर्न गइरहेका छौं । सञ्चालक समितिका सदस्यमध्ये पनि कोषाध्यक्षको भूमिका महत्वपूर्ण हुन्छ । संस्थामा रहिरहँदा कोषाध्यक्षले के कस्तो भूमिका निर्वाह गर्नु पर्छ भन्ने विषयमा जानकारी दिन नै यो गोष्ठी गर्न लागेका हौं ।
संस्थागत सुशासनको कमजोरी कुनकुन क्षेत्रमा रहन्छन् । लेखा परिक्षण गर्दा हामी कुन कुन ठाउँमा चुक्यौं र अब कसरी अगाडि बढ्नुपर्छ भन्ने मार्गदर्शन दिन पनि गोष्ठीले सहजीकरण गर्नेछ । हिजोका दिनमा ठुला संस्थाहरुमा सिए मार्फत नै लेखा परिक्षण हुँदा पनि आन्तरिक तथा बाह्य लेखा परिक्षणमा कहीँकतै चुकेका कारण अहिले सहकारी संस्थाहरुमा समस्या आएको हो । लेखा परिक्षण गर्ने विधिहरुमा संस्था कुन कुन क्षेत्रमा चुक्यो र कस्ता लुपहोलका कारण सहकारी संस्थाहरु वित्तीय संकटमा पुगे भन्ने कुरालाई मुख्य एजेन्डा बनाई त्यसको समाधानको विधि समेत पत्ता लगाई आगामी दिनमा संस्था सञ्चालनमा यस्ता समस्या नआओस् भन्ने उदेश्यका साथ गोष्ठी गर्दैछौं ।
यस अघि साकोस अध्यक्षहरुको गोष्ठी गरिरहँदा संस्थागत सुशासनका अभावले गर्दा नै सहकारीहरुले वित्तीय समस्या बेहोर्नुप¥यो भन्ने निष्कर्ष निकाल्यौं । लेखा सुपरीवेक्षण समिति र कोषाध्यक्षले संस्थामा जुन भूमिका निर्वाह गर्नु पर्ने हो, त्यो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसक्दा समस्या आयो । आर्थिक वर्षको मसान्त पनि नजिकिएकाले आवश्यक विधिहरु दिने काम गोष्ठीले गर्छ । लेखा परिक्षण र आन्तरिक नियन्त्रण प्रणालीलाई कसरी व्यवस्थित गर्ने तथा आगामी बर्षको नीति तथा कार्यक्रमको तयारीलाई समेत समावेश गरेर साकोस कोषाध्यक्ष गोष्ठी हुनेछ ।
पहिलो चरणमा एक सय संस्थालाई सुरक्षित बनाउन सकियोस् र केही सहकारी संस्थाले गरेको गलत अभ्यासलाई चिर्दै यस क्षेत्रको साख र विश्वास जोगाउन टेवा मिलोस् भन्ने नै गोष्ठीको लक्ष्य हो । सहकारी ऐन र नियमावलीमा भएका व्यवस्था र विश्व अर्थतन्त्रमा आएको मन्दीले सहकारी क्षेत्रलाई कस्तो प्रभाव पार्यो भन्ने सन्दर्भमा पनि गोष्ठीमा छलफल हुनेछ । अहिले सहकारीका कारणले अर्थतन्त्रमा समस्या आयो भनिराखिएको छ । तर समग्र अर्थतन्त्रमा परेको प्रभावले अहिलेको मन्दी आएको भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।
विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पार्दा सहकारी क्षेत्र पनि समस्या परेको भन्ने सन्देश सबैलाई हामीले यो गोष्ठी मार्फत दिने प्रयास गरेका छौं । हिजोका दिनमा नियामक निकायको कमजोरीका कारणले पनि सहकारीमा समस्या आएको छ । अब सहकारी संस्थालाई थप व्यवस्थित बनाउन पनि हामीले यस्ता कार्यक्रम नियमित गर्नु पर्ने बेला आएको छ ।
गाेष्ठी गोष्ठीकै लागि मात्रै हुन्छ कि सहभागीहरुले नयाँ कुरा सिक्ने अवसर पाउँछन् ?
ललितपुर बचत संघले यस अघि चार वटा गोष्ठी गरिसकेको छ । गोष्ठीपछि जारी भएको घोषणापत्र कार्यान्वयन गर्न भने हामी पनि कहीँकतै चुकेका छौं । साकोस अध्यक्ष गोष्ठीमा हामीले फरक मोडालिटी तयार गरेको गियौं । गोष्ठीमा सहभागि भएपछि संस्था सञ्चालनका विधिहरुमा के कस्ता फरकहरु आए भनेर हामीले प्रारम्भिक संस्थाहरुमा पुगेर हेरिराखेका छौं । गोष्ठीपछि अध्यक्षहरु सचेत भएको र संस्थालाई सुशासनकासाथ सञ्चालन गर्न लागेको हामीले पायौं । कतिपय संस्थाहरुले फागुन महिनामा मात्रै अध्यक्षको गोष्ठी गरेको र फेरी कोषाध्यक्षको गोष्ठी गर्न लाग्नु भएछ, अलि छिटो भएन र भनेर प्रश्न पनि उठाउनु भयो । तर संघको साधारण सभाले पारित गरिसकेको र नीति तथा कार्यक्रममा समेत समेटेकाले यही आर्थिक बर्ष भित्र नै गर्नु पर्ने भएकाले यो गोष्ठी गर्न लागेका हौं । धेरै संस्था वित्तीय रुपमा सुशासन कायम गर्न चुकेका छन्, त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल गर्दा पहिलो चरणमा अध्यक्षहरुमा नै जागरण ल्याउनुपर्छ भनेर अध्यक्षको गोष्ठी ग¥यौं । त्यसैगरी कोषाध्यक्षलाई पनि त्यत्तिकै जिम्मेवार बनाउनुपर्छ भनेर दोस्रो चरणमा यो गोष्ठी गर्न गइरहेका छौं । संघले आयोजना गरेको यो गोष्ठीमा घोषणापत्र मात्रै तयार हुदैँन, गोष्ठीबाट फर्किसकेपछि सहभागिहरुको काम गर्ने शैलीमा धेरै परिवर्तन देख्न सकिनेछ । आर्थिक बर्षको अन्त्यमा रहेकाले गोष्ठीमा सहभागि भएर पश्चात् लेखा परिक्षेण कार्यलाई थप सुदृढ बनाउन सघाउने विश्वास हाम्रो छ ।
अहिले धेरै सहकारी संस्थालाई लेखा परिक्षणको महत्व नै थाहा छैन । एउटा अडिटरले प्रतिवेदन तयार गर्ने र सञ्चालकले हस्ताक्षर गरेर साधारण सभाबाट पारित गर्ने मात्र काम भएको छ । यो एउटा कर्ममाण्डी प्रक्रिया भएको छ । आन्तरिक लुपहोललाई कोषाध्यक्ष मार्फत् बाहिर ल्याउनु पर्ने बेला आएको छ । संस्थामा भएका हरेक गतिविधि जिम्मेवार पदाधिकारीलाई थाहै छैन भन्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ । व्यवस्थापकलाई संस्थाको बारेमा जति थाहा हुन्छ, त्यो भन्दा बढी कोषाध्यक्षलाई थाहा हुनुपर्छ । तालिम तथा गोष्ठीमा सहभागि हुने संस्थाका प्रतिनिधिहरुले काहीँ कतै संस्थालाई परिवर्तन गर्न सकेको हामीले पाएका छौं । तालिम तथा गोष्ठीमा सहभागि भइराखेका संस्थाहरु अन्य संस्थाको तुलनामा केही मात्रामा भए पनि व्यवस्थित रुपमा सञ्चालन भएका छन् । अहिले सहकारीमा विषम परिस्थिति रहेकाले खर्चको विषय पनि उठेको छ । संघले यो गोष्ठीका लागि लिएको शुल्क असाध्यै न्युन छ । हामीेले सहभागिहरुबाट लिएको शुल्कमा संघको शिक्षा तथा तालिम कोषबाट रकम थप गर्छाैं । संघले खेलेको भूमिकालाई बुझिदिएर सम्पूुर्णलार्ई सहभागि भएदिनु हुन अनुरोध गर्दछौं । गोष्ठीबाट पर्केपछि आवश्यक परेको खण्डमा संघले सहजीकरण समेत गर्नेछ । सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न केही समस्या भयो भने संघले सघाउनेछ । गोष्ठीका सहभागी भएर फर्किइसकेपछि पनि समुह बनाएर छलफल तथा अन्तरर्किया गरी आवश्यक पर्दा सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छौं ।
संस्थागत सुशासन कमजोर हुँदा सहकारीमा समस्या आएको तपाईंले बताउनु भयो, यस्ता तालिम तथा गोष्ठीले संस्थागत सुशासन कायम गर्न र सदस्यको बचतको सुरक्षा गर्न कतिको टेवा पुग्छ ?
संघले सदस्य संस्थाहरुको क्षमता विकासको लागि विभिन्न तालिम तथा गोष्ठी गर्दै आएको छ । कुन कुन संस्था कस्ता तालिममा सहभागी भए भनेर हामीले अभिलेख राखेका छौं । तालिम तथा गोष्ठीमा सहभागी भएका संस्थाहरुको अन्य संस्थाहरुको तुलनामा संस्थागत सुशासन राम्रो भएको हामीले पाएका छौं । अभियानसँग नजोडिने र आफु खुशी सञ्चालन गर्ने संस्थाहरु नै अहिले बढी समस्यामा छन् । ती संस्थाका पदाधिकारीमा केही सिक्ने भन्दा पनि पहिला नै सबै जानिसकेका छौं भन्ने मनोभावका कारण अहिले समस्या भएको हो । उनीहरुमा वित्तीय व्यवस्थापन लगायत धेरै कुराको कमी देखियो । पैसा ल्याउने र त्यसलाई लगानी गर्ने भन्दा अन्य कुनै काम ती संस्थाले गरेनन् । सदस्यको जीवनस्तर माथि उठाउने भन्दा पनि संकलित बचतलाई आफुखुशी परिचालन गरी नाफा कमाउने होडमा संस्था सञ्चालन गरेको पाइयो । संस्थामा सञ्चालक, व्यवस्थापक, लेखा समिति र कोषाध्यक्षको भूमिका के हुन्छ भने कुरा वास्ता गरिएन । अध्यक्षको नीजि तजविजमा संस्था सञ्चालन हुँदा अहिले ठुलो दुर्घटना व्यर्होनु परेको छ । ती संस्थामा आएको समस्याका कारण राम्रोसँग सञ्चालन भएका संस्थाहरु पनि प्रभावित हुन पुगेका छन् । सहकारीप्रति सदस्यको विश्वसनियता घटेर गएको छ । पक्कै पनि तालिम गोष्ठीमा सहभागी संस्थाहरुमा संस्थागत सुशासन राम्रो छ र वित्तीय रुपमा पनि कुनै समस्या छैन ।
पछिल्लो समय सहकारीप्रति नकरात्मक भावना विकास भएको छ, यसलाई कसरी चिर्न सकिएला ?
केहि सहकारी संस्थाको बदमासीले गर्दा समग्र सहकारी क्षेत्रमा नै दाग लागेको अवस्था छ । सहकारीका सञ्चालक र कर्मचारीलाई खुलेर म सहकारीकर्मी हुँ भन्न सक्ने अवस्था छैन । सबै सहकारीले गलत गरे भन्ने होइन । सहकारीमा देखिएको समस्याले अर्थ व्यवस्थामा नै संकुच आएको भन्ने मलाई लाग्दैन । केही सहकारीले पक्कै पनि वद्मासी गरेका छन् । केहिले ऐनका लुपहोललाई टेकेर व्यक्ति केन्द्रीत भएर संस्था सञ्चालन गरे । सदस्यको अर्बौं बचतलाई अपचल गरे । सदस्यको जीवनस्तर भन्दा पनि आफ्नो जीवनस्तर बदल्न तिर लागे । यसले गर्दा समस्या आएको हो । समस्याबाट बाहिर आउन सदस्यमा विश्वासको वातावरण निमार्ण गर्नुपर्छ । सदस्यलाई वित्तीय साक्षरतामार्फत् सचेत बनाउनुपर्छ । प्रत्येक संस्थाले आर्थिक अवस्थाको बारेमा सदस्यहरुलाई जानकारी गराउनुपर्छ । सहकारीका ७ सिद्धान्त अनुसार संस्था सञ्चालन भइराखेको छ । हाम्रो सामाजिक उत्तरदायित्व यो हो भनेर सबै सदस्यलाई बुझाउनु पर्ने हुन्छ । सहकारीले सदस्यको जीवनस्तर बदल्न खेलेको भूमिकासहित उनीहरुलाई सहकारीको महत्व बुझाउनु पर्ने हुन्छ ।
अर्थतन्त्र क्रमशः चलायमान हुन सुरु गरेको र सदस्यहरुलाई विश्वासमा लिएर अगाडि बढ्न सकियो भने सहकारीमा देखिएको अहिलको जटिलता न्युनिकरण भएर जान्छ । खराब गर्ने सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउनुृपर्छ र सदस्यको बचत फिर्ताको लागि सरकारले प्रभावकारी भूमिका खेल्नुपर्छ । अहिले धेरै वटा सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन्, ती संस्थाहरुको अर्बौंको दायित्व छ । त्यसलाई व्यवस्थापन गर्न र सदस्यको बचत फिर्ता दिलाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समिति स्थापना गरिएको छ । त्यो कार्यालयले सबै समस्या हल गर्न सक्ने देखिँदैन । संरचनागत व्यवस्थाले थप चुनौती थपिदिएको छ । हिजोका दिनमा कुनै एक संस्थाले कानुनी सल्लाहकार सहित २० जना कर्मचारी राखेर कारोबार गर्दा पनि संस्था सञ्चालनमा समस्या आएको हामीले पाएका छौं । त्यो भन्दा चुस्त समिति त्यहाँ चाहिन्छ । ऋण असुली गर्नुपर्यो, ऋण नतिर्नेलाई कानुनी कारवाही अगाडि बढाउनु पर्यो । एउटा मोडल तयार गरेर सदस्यको बचत फिर्ता गर्नुपर्यो । जति संस्था समस्याग्रस्त घोषित भएका छन्, ती संस्थाका सबै सदस्यलाई समितिको कार्यालय कहाँ छ भन्ने जानकारी समेत छैन भने ती सदस्यले कसरी आफ्नो बचत फिर्ता पाउन सक्छन् । यो समस्या समाधानको लागि सम्बन्धित निकायहरुले विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।
सहकारीमा राखेकोपैसा फिर्ता पाईंदैन भन्ने भाष्य सृजना भएको छ । यसलाई चिर्न आवश्यक छ । आफुले राखेको बचतको साटो तराईमा जग्गा लिन बाध्य बनाइएको छ । औषधी उपचार र खाद्यान्न किन्न समेत बचत फिर्ता पाइराखेका छैनन् । दैनिक जीवन यापनलाई सजिलो बनाउन आफ्नो कमाईबाट राखिएको स सानो रकम समेत फिर्ता पाउन समस्या भएको छ । त्यसले गर्दा सहकारीप्रतिको विश्वास झन् घटेको छ । अब सदस्यहरुले पनि संस्थाको वास्तविक अवस्था बुझेर मात्र कारोबार गर्नुपर्छ । सबैजना एकैपटक पैसा फिर्ता माग्न जादाँ राष्ट बैकको नियमन भित्र रहेकै वित्तीय संस्थाहरुले दिन सक्दैनन् । संस्थाको वस्तुस्थिति र आन्तरिक विषय वस्तुलाई बुझेर संयमित भएर कारोबार गर्न आवश्यक छ । सदस्य बन्दा नै संस्थाको बारेमा यथार्थ बुझेर सदस्य बनेमा यस्तो समस्या बेहोर्नु पर्ने अवस्था आउँदैन । सहकारी सदस्यको जीवनस्तर माथी उकास्ने माध्यम हो । सोही अनुसार सबैले संस्था सञ्चालन गर्नुुपर्छ र सबै पक्षबीच हातेमालो गर्न सकियो भने मात्र समस्या समाधान गर्न सकिन्छ ।