ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले कोषाध्यक्ष गोष्ठीको आवश्यकताको महशुस किन गर्यो?
हामीले यही जेठ १८ र १९ गते दुई दिने ‘ललितपुर साकोस कोषाध्यक्ष गोष्ठी २०८१’ आयोजना गरेका छौं । सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न र सहकारीमा देखिएको विकृति विसंगतिलाई अन्त्य गर्न गोष्ठीले सघाउने छ । त्यसैगरी संस्थाहरुमा वित्तीय सुशासनमा कायम गर्न सघाउ पु¥याउने उद्देश्यले हामीले यो गोष्ठी आयोजना गरेका हौं । केही महिना अघि मात्र साकोस अध्यक्षहरुको गोष्ठी गरिसकेका छौं । ललितपुर बचत संघ देशकै पुरानो संघ हो र २०५० सालमा स्थापना भएको संघले सदस्य संस्थाहरुलाई सबल र व्यवस्थित बनाउन विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । संघमा आवद्ध संस्थाहरुलाई दिगो बनाउन र सुशासनमा सञ्चालन गर्नको लागि सक्रिय रुपमा काम गर्दै आएको छ । गोष्ठीमा जिल्लामा रहेका एक सय संस्थाका कोषाध्यक्षहरुलाई सहभागी गराइनेछ । अहिले केहि सहकारी संस्थाका सञ्चालकहरुका कारण संस्थामा समस्या आएको छ र त्यस मध्ये पनि कोषाध्यक्षको काम कर्तव्य र अधिकार के हो, संस्थामा कोषाध्यक्षको भूमिका के हुन्छ, संस्थामा कोषाध्यक्षले के कस्ता काम गर्नुपर्छ भनेर सिकाउन र बुझाउनको लागि हामीले गोष्ठी गर्न गइरहेका छौं ।
कतिपय संस्थामा कोषाध्यक्ष काम थाहा नहुँदा कोषको दुरुपयोग भएको छ । जसले गर्दा सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा धेरै संस्था पुगेका छन् । यसलाई मध्यनजर गर्दै कोषाध्यक्ष सबल र सक्षम हुनपर्छ भनेर हामीले यो गोष्ठी गर्न लागेका हौं । कोषाध्यक्ष डाइनामिक भएर लेखा प्रणालीलाई चुस्त, दुरुस्त र पारदर्शी राख्न सक्नुपर्छ । संस्थाको वित्तीय अवस्था के छ र संस्थालाई कुन दिशामा अगाडि बढाउनुपर्छ, बजेटको आकार कसरी बनाउन सकिन्छ, लाभांश वितरणको तरिका के हुनसक्छन् र कोषहरुको बाँडफाँड कसरी गर्नुपर्छ, संस्थाको वित्तीय सुरक्षाको लागि कोषाध्यक्ष जिम्मेवार व्यक्ति हो कि होइन भन्ने जस्ता कुरा बुझाउनु हाम्रो दायित्व भएका कारण यो गोष्ठी आयोजना गरेका हौं । यो विषम परिस्थितिमा कोषाध्यक्ष जिम्मेवार बनेर अगाडि बढ्नुपर्छ र कोषाध्यक्ष नै ढुकुटीको मालिक भएका कारणले गर्दा त्यसको जिम्मेवारी बोध गराउनको लागि नै यो गोष्ठी गर्न लागिरहेका हौं ।
गोष्ठीमा सहभागी हुन धेरै संस्थाका कोषाध्यक्षहरुले नाम दर्ता गराउनु भएको छ । ललितपुर जिल्लाबाट मात्रै नभई अन्य जिल्लाका कोषाध्यक्षहरुले पनि गोष्ठीमा सहभागि हुनका लागि नाम टिपाइराख्नु भएको छ । तर हामीले ललितपुर बचत संघमा आवद्ध संस्थाहरुलाई पहिलो प्राथमिकता दिएका छौं । यो गोष्ठीले जिल्ला भित्र मात्र नभई देशभर नै सकारात्मक छाप पार्ने हाम्रो विश्वास छ । यस्ता कार्यक्रमहरु धेरै जिल्लाले गर्न सक्नुपर्छ । जहाँजहाँ संस्थाका कोषाध्यक्षहरुलाई सिकाइन्छ र उनीहरुको भूमिकालाई प्रभावकारी बनाइन्छ, त्यहाँ संस्थाहरु व्यवस्थित रुपमा सञ्चालन हुन्छन् भन्ने हाम्रो बुझाई छ । जहाँ चुनौती छ, त्यहाँ अवसर पनि छ भन्ने कुरालाई मनन गरेर हामी अगाडि बढ्नुपर्छ । कतिपय संस्थामा लहैलहैमा कोषाध्यक्ष बनेको र संस्थामा आफ्नो भूमिका के हो भनेर थाहा नै नभएको अवस्था पनि छ । कतिपय संस्थाका कोषाध्यक्षले दायित्वबाट पन्छिन राजिनामा दिने क्रम पनि बढेर गएको अवस्था छ ।
सहकारी ऐन नियममा कोषाध्यक्षको भूमिकाको विषयमा के लेखिएको छ, संस्थाको विनियममा के छ, विभागबाट जारी गरिएका निर्देशनहरुको कतिको पालना भएको छ, राष्ट्र बैंकको नीति निर्देशनले के भन्छ र हाम्रो संस्थालाई कसरी दिगो बनाउन सकिन्छ र सदस्यको मन जित्नको लागि कोषाध्यक्षले कसरी काम गनुपर्छ भन्ने जस्ता विषयवस्तुमा गोष्ठी केन्द्रित हुन्छ । यो गोष्ठीले संस्थाहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । गोष्ठीलाई सफल बनाउन सबै सहकारी संस्थाका कोषाध्यक्षहरुलाई सहभागि भइदिन म अनुरोध गर्छु । सिट सीमित भएकाले छिटो भन्दा छिटोे नाम दर्ता गराउनको लागि सबै संस्थाका कोषाध्यक्षहरुलाई हामी अपिल गर्दछौं । गोष्ठीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरुद्वारा सिकाइनेछ । यस्ता गोष्ठीले संस्थाका सञ्चालकहरुलाई सदस्य केन्द्रीत काम गर्नको लागि अभिप्रेरित गर्नेछ ।
अहिले जिल्ला तह देखि केन्द्रीय तहसम्म यस्ता गोष्ठी आयोजना भइरहेको छ । यस्ता गोष्ठीहरुको आवश्यक हो कि संघहरुले कमाउने माध्यम मात्र बनाएका हुन् ?
अहिले सबै संघसंस्थाले यस्ता गोष्ठी तथा समिटहरु आयोजना गर्दै आएका छन् तर त्यसको रिजल्ट नदेखिएको कुरामा म पनि सहमत छु । यस्ता कार्यक्रमले सदस्य माझ सकारात्मक सन्देश गएको छ तर जे जस्तो परिणाम आउनु पर्ने हो त्यो भने आउन बाँकी नै छ । अहिले सहकारी क्षेत्रले विभिन्न समस्या झेलिरहनु परेको छ । विश्व अर्थतन्त्रमा आएको मन्दीको प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । जसका कारण सहकारी संस्थाहरुले पनि त्यसको सामना गरिरहनु परेको छ । आम जनतामा सकारात्मक सन्देश प्रवाह गरेर सहकारीको आवश्यकता र महत्वलाई बुझाउन यस्ता कार्यक्रम थप सहयोगी बन्ने मेरो विश्वास छ । विषम परिस्थिति भएकाले यस्ता गोष्ठी तथा सेमिनार, विस्तारित मञ्च निरन्तर रुपमा सञ्चालन गर्नुपर्छ । यस्ता कार्यक्रमबाट परिणाम के आयो भन्ने विषयमा पनि समीक्षा गर्नु जरुरी छ । गोष्ठीका लागि गोष्ठी नगरिकन परिणाम दिने किसिमले हामीले यस्ता कार्यक्रम गर्नुपर्छ ।
ललितपुर बचत संघ अलि फरक ढंगले अगाडि बढ्न खोजेको छ । हामीले अध्यक्ष र कोषाध्यक्षलाई जिम्मेवार बनाउन खोजको छौं । त्यसका साथै व्यवस्थापकहरुलाई पनि जिम्मेवार बनाउनुपर्छ भनेर केही समयमा नै व्यवस्थापन प्रमुखहरुको गोष्ठी गर्दैछौं । त्यसका साथै लेखा सुपरीवेक्षण समितिको पनि गोष्ठी गर्ने हाम्रो योजना छ । महिला सहकारी संस्थालाई लक्षित गरेर महिला सहकारीकर्मी गोष्ठी गर्ने तयारी गरिरहेको छौं । यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्छ । संघ सदस्य संस्थाहरुको लागि हो । त्यसकारण आधा पैसा संघले आधा पैसा सहभागी संस्थाले बेर्होर्ने गरी यस्ता गोष्ठीहरु गर्दै आएका छौं । दुई दिनको गोष्ठीका लागि आठ हजार पाँच सय शुल्क तोकेका छौं । यो महँगो शुल्क होइन । होटलको खाना खर्चदेखि प्रशिक्षकहरुलाई दिने पारिश्रमिकलाई हेर्ने हो यसलाई महँगो भन्न मिल्दैन । कार्यक्रममा धेरै खर्च हुन्छ तर पनि संघले कमाएको नाफा भनेको सदस्य संस्थालाई प्रवर्धन गर्न लगानी गर्ने हो । यस्तो बेलामा हामी चुप लागेर बस्यौं र समस्या समाधानका लागि हाम्रा अनुभवहरु साटसाट गर्न सकेनौं तथा समस्या समाधानका उपायहरु पहिल्याउन सकेनौं भने संघ हुनुको कुनै औचित्य हुँदैन । सबै संघ संस्थाले यस्ता कार्यक्रमहरु गर्दै आएका छन्, यसबाट के परिणाम दिन खोजेको हो त्यसमा भने ध्यान दिनैपर्छ । सहभागिहरुले गोष्ठीबाट लिएको उदेश्य पुरा भयो कि भएन भन्ने कुरामा मौन बस्ने भन्दा पनि आलोचनात्मक सुझावको हामी अपेक्षा गर्छाैं । हामीले कोषाध्यक्षहरुलाई जिम्मेवार बनाएर संघमा आवद्ध सदस्य संस्थालाई दिगो रुपमा अगाडि बढाउन थप टेवा पु¥याउन खोजेका हौं । संघको साधारण सभाले पनि यी कार्यक्रमहरुलाई नीति तथा कार्यक्रम भित्र पारेको छ ।
यस्ता गोष्ठी तथा सेमिनार मात्रै सहकारीको समस्या समाधान गर्ने माध्यम हुन् त?
यो गोष्ठी भनेको धेरै संस्थाका कोषाध्यक्षहरुलाई सहभागि गराएर गरिने बृहत् कार्यक्रम हो । हामीले सहकारीको समस्याको समाधानको लागि व्यक्तिगत रुपमा पनि काम गरिराखेका छौं । जिल्लामा रहेका सहकारी संस्थाहरुको सुखदुुःखमा निरन्तर रुपमा साथ दिँदै आएका छौं । संघले धेरै वटा संस्थालाई परेको समस्या समाधान गर्नको लागि अग्रणी भूमिका खेल्दै आएको छ । हामीले व्यक्तिगत तथा सामुहिक रुपमा भेटघाट गरेर समस्या समाधान गर्न पहल गरेका छौं । अहिले पैसा दिएर मात्र समस्या समाधान हुन्छ भन्ने होइन । संघले तरलता अभावको समस्या परेका संस्थाहरुलाई ऋण उपलब्ध गराएको छ । त्यसका साथै प्राविधिक, कानुनी र अन्य सल्लाह सुझाव दिँदै आएको छ । महानगरपालिकासँग मिलेर साझेदारी कार्यक्रम गर्दै आएका छौं भने अन्य स्थानीय तहहरुसँग मिलेर छलफल तथा अन्तर्किया गर्दै आएका छौं । हामीले गोष्ठी मात्र नगरिकन निःशुल्क र सःशुल्क रुपमा शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएका छौं । राज्यले गर्नु पर्ने काम बचत संघले गर्दै आएको छ । सदस्य संस्थालाई जवाफदेही बनाउन र सदस्य केन्द्रीत कारोबार गर्न अभिप्रेरित गर्ने उदेश्यले हामीले विभिन्न कार्यक्रम गर्दै आएका हौं । बचत संघले अहिले अम्ब्रेला कार्यक्रम लिएर आएको छ । त्यसमा १६ वटा इन्डिकेटरहरु छन् । ती इन्डिकेटरहरुलाई पुरा गरेर संस्थालाई दिगो बनाउनको लागि यो कार्यक्रममा संस्थाहरुलाई जोड्दै लगेका छौं ।
गोष्ठीले कस्तो परिणाम दिन्छ, यसका लागि अभियान भित्र ऐक्यवद्धता चाहिएला नि ?
हामी अभियानकर्मी बीच अहिले एकता छैन । कुनै एक जना सहकारीकर्मीलाई समस्या पर्यो भने हामी खुच्चिङ मच्चाएर बसिराखेका छौं । एक भएर सहकारी ऐन २०७४ कार्यान्वयन गर्नु पर्ने र कतिपय ऐनका बुँदालाई संसोधन गर्नु पर्ने बेला छ । ऐनमा केही प्रावधानहरु थप्नु पर्नेछ । यो बेलामा अभियान फुटेर होइन एक जुट भएर दृढ संकल्प सहित समस्यालाई समाधान गरेर सहकारी बचाउनु पर्ने हुन्छ । संविधानले अर्थतन्त्रको ३ खम्बा मध्ये एक खम्बाको रुपमा लिएको सहकारी क्षेत्रलाई केही व्यक्तिले बदनाम गर्न खोजेका छन् । राज्यले समस्या समाधानमा गम्भिरता देखाएको छैन । अहिले कतिपय संस्थाको ऋण उठ्न सकेको छैन भने कतिपय व्यक्तिले सहकारीको ऋण तिर्नु पर्दैन भनेर भ्रम फैलाई राखेको अवस्था छ । सरकारले यो बेलामा संस्था सञ्चालनको लागि उपयुक्त वातावरण बनाइदिनुपर्छ भन्ने मलाई लाग्छ । सहकारी क्षेत्र धरासायी हुँदा त्यसको जिम्मा कसैले लिने देखिएको छैन । सहकारी क्षेत्रमा समस्या आएकाले व्यापार व्यवसायको क्षेत्रमा पनि ह्रास आएको छ । निम्न र मध्यम वर्गले सहकारीबाट ऋण लिएर व्यवसाय गरिरहेका थिए । अहिले त्यो रोकिएको अवस्था छ ।
सदस्यहरुलाई उद्यमशील र जागरुक बनाउने कुरामा पनि केही समस्या आएको छ । त्यसकारणले गर्दा सहकारीकर्मी एक भएर अहिलेको समस्यको सामना गर्नुपर्छ । हिजो कुरालाई समीक्षा गर्दै भोलिका लागि रोडम्याप बनाउने बेला यही हो । यसका लागि साझा संकल्प बनाएर अगाडि बढ्नुपर्छ र आफुले सञ्चालन गरेका संस्थालाई व्यवस्थित बनाएर लैजानुपर्छ । विगतमा भएका गल्तीलाई सच्च्याए अगाडि बढ्नुपर्छ । अहिले बजारमा समुदाय आधारित, लहैलहैमा खुलेका र नाफा कमाउन खुलेका सहकारी संस्था छन् । नाफामुखी सहकारीलाई शिक्षा तालिम मार्फत समुदायमा केन्द्रीत संस्था बनाउनुपर्छ । सहकारी क्षेत्र बिग्रदा अर्थतन्त्र नै धराशायी हुन्छ र यसलाई सबै पक्ष मिलेर जोगाउनुपर्छ भन्ने भावना राष्ट्रिय राजनितीमा समेत विकास गर्नुपर्छ । यसका लागि सबै मिलेर लबिइङ्ग गर्न जरुरी छ । वास्तविकता जे हो, त्यसलाई हामीले भने हिम्मत गर्नुपर्छ र साझा धारणा बनाएर जानुपर्छ ।
सहकारीमा समस्या झन् गहिरिएर गएको छ, त्यसबाट बाहिर आउने उपाय के के हुन सक्छ ?
सदस्यको बचत अपचलन गर्ने जो कोहीलाई पनि कानुनी कारवाही गर्नुपर्छ । नामधारी सहकारीकर्मीलाई कारवाही गर्नैपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । आफू केन्द्रीत भएर केही व्यक्तिले सहकारी सञ्चालन गर्दा समस्या आएको हो । अहिले धेरै सहकारीमा भाका नाघेको ऋण बढेर गएको छ । सदस्यले ऋण तिर्न सकेका छैनन् । १५ प्रतिशत तरलता राखेर ८५ प्रतिशत लगानी भएको अवस्थामा ऋण असुली नभए पछि सदस्यको बचत कहाँबाट ल्याएर फिर्ता गर्ने ? यो अहिले चुनौतीको विषय बनेर गएको छ । पैसा नतिर्नेहरुको राज्यले सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गर्नुपर्छ भन्ने मेरो माग हो । सहकारीबाट ऋण लिएको व्यक्ति कालो सूचीमा पर्ने व्यवस्था छैन तर बैंक तथा वित्तीय संस्थामा त्यो व्यवस्था रहेकाले जहाँबाट ल्याएर भए पनि पैसा तिर्ने परिपाटी छ । त्यो परिपाटीको अन्त्य गर्न राज्यले केही न केही उपाय खोजी गर्नुपर्छ । तब मात्र सदस्यको बचत फिर्ता गर्न सकिन्छ ।
तेस्रो कुरा सरकारले सहकारी सञ्चालनको लागि उपयुक्त वातावरण बनाइदिनुपर्छ । त्यसका लागि सञ्चालक र सदस्यबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्छ । सदस्य केन्द्रीत कारोबार गर्ने, सहकारी शिक्षा तथा तालिमको आयोजना गर्ने र विस्तारित मञ्च आयोजना गरी सदस्यलाई संस्थाको अवस्थाको बारेमा जानकारी दिने काम सबैले गर्नुपर्छ । सञ्चालकहरुले पारदर्र्शी ढंगले सदस्यहरुलाई संस्थाको कारोबार देखाउन सक्नुपर्छ । तब मात्र सदस्य र संस्थाबीच सम्बन्ध बलियो बन्छ । सञ्चालकहरुले पनि अहिले संस्थाबाट राजिनामा दिने क्रम बढेर गएको छ । त्यसैगरी सदस्यले पनि शेयर र बचत फिर्ता माग्ने र ऋणी सदस्यले पनि समयमा ऋण नतिरिरहेको अवस्था छ ।
यस्तो अवस्थाबाट सहकारीलाई बचाउन विभिन्न टुल्स निर्माण गर्न आवश्यक छ । कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोष ल्याउन हामीले पटक पटक भन्दै आएका छौं । ऐनमा भएको व्यवस्था तत्काल लागु गर्नुपर्छ । यी व्यवस्था लागु भए सहकारी क्षेत्र सुधारउन्मुख भएर जान्छ । जुन जुन संस्था वित्तीय रुपमा समस्यामा परेका छन् र सञ्चालकहरुले बचत अपचलन गरेका छैनन् भने त्यस्ता संस्थाहरुलाई समय दिएर सदस्यको बचत फिर्ता गर्ने वातावरण बनाउनुपर्छ । सञ्चालकहरुलाई कार्य योजना माग गर्ने र कार्य योजना अनुसार काम भयो कि भएर भनेर अनुगमन गर्ने काम गर्नुपर्छ । सञ्चालकहरुलाई थुनेर मात्र समस्या समाधान हुँदैन । थुनेर पैसा फिर्ता पाउँछन भन्ने मलाई लाग्दैन । धेरै सहकारी संस्थाका अध्यक्ष अहिले जेलमा छन् तर सदस्यले पैसा फिर्ता पाएका छैनन् । त्यसकारण सदस्यले बचत फिर्ता पाउने आधार बनाउनुपर्छ । संस्थाहरुलाई समय दिएर क्रमशः बचत फिर्ता दिने वातावरण बनाउनुपर्छ । अहिले सहकारीमा सदस्य पनि सदस्य जस्ता छैनन् । सबै सदस्य एकै पटक बचत फिर्ता माग्न आए भने दिन सक्ने अवस्था हुँदैन । यो समयमा सहकारी शिक्षा मार्फत सदस्यहरुलाई जागरुक बनाउनुपर्छ । त्यसका साथै राज्यले सहकारीमा सकारात्मक वातावरण सृजना गरिदिनुपर्छ । अहिलेको सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत सहकारी बचाउने नीति लिन्छ भन्ने हाम्रो विश्वास छ ।
सहकारीमा विश्वासको संकट छ, त्यसलाई चिर्दै सदस्यको विश्वास जित्न के गर्नु पर्ला ?
संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी सदस्यसँग जोडिनुपर्छ । सदस्यहरुलाई संस्थाको यथार्र्र्थ कुरा जानकारी गराउनुपर्छ । संस्थाप्रति विश्वास गर्ने आधारहरु के के हुन् भन्ने कुराको वास्तविक जानकारी सदस्यलाई गराउनैपर्छ । सदस्यलाई भेला गरेर विस्तारित मञ्च मार्फत सबै कुराको जानकारी गराउने काम गनुपर्छ । सरकारले एकमुष्ट रुपमा समस्याको सम्बोधन गर्ने कुरा हुनसक्छ तर संस्थाहरुले आफ्ना सदस्यहरुलाई बुझाउने र सम्झाउने काम गर्दै रहनुपर्छ । तब मात्र संस्था बलियो बन्छ । अहिले एउटा व्यक्ति २० वटा संस्थामा सदस्य बनेको छ । उसलाई कुन संस्थाको माया हुन्छ ? अब एक संस्था एक सदस्य लागु गर्नुपर्छ । अर्कोतर्फ संस्थाहरु धेरै भए । सहकारी दर्ता बन्द गर्नुपर्छ र भएका संस्थाहरु मर्ज गर्नुपर्छ । एकीकरणमार्फत् संस्थाको संख्या घटाउनुपर्छ । पालिकास्तरमा ८० प्रतिशत सहकारी हस्तान्तरण भएको छ तर ३ तहका सरकारबीच समन्वय हुन सकेको छैन । स्थानीय र प्रदेश सरकारलाई बलियो बनाएर सहकारीको प्रभावकारी नियमन तथा अनुगमन गर्नुपर्छ । तब मात्र सहकारी अभियान सुदृढ भएर जान्छ । सदस्य र संस्थाबीच नङ र मासुको सम्बन्ध बनाउनेतर्फ सबै संस्थाहरु लाग्नुपर्छ ।
दाेहोरो सदस्य हट्ने हो भने सहकारीको समस्या समाधान हुन्छ त ?
एक संस्था एक सदस्य लागु गर्नैपर्छ । अहिले एउटा व्यक्ति धेरै वटा संस्थामा सदस्य बनेको अवस्था छ । यसलाई अन्त्य गर्नुपर्छ । ऐनमा आएको व्यवस्था कार्यान्वयन गरेर जानुपर्छ । त्यो भएन भने सहकारी संस्था बलियो हुँदैन । अहिले आवश्यकता पर्दा सदस्य बन्ने र आवश्यकता पुरा भए पछि छाड्ने परिपाटी छ । यसलाई अन्त्य गनुपर्छ । तब मात्र सदस्य केन्द्रीत सहकारी बन्छ । अहिले व्यक्ति केन्द्रीत सहकारी हुँदा समस्या आएको हो । एकाध सहकारीमा आएको समस्याको प्रभाव अहिले हजारौ संस्थामा परेको छ । ललितपुरमा रहेको ५०० बचत तथा ऋण सहकारी संस्था मध्ये १८० संस्था समस्यामा छन् । उजुरी पर्नुलाई मात्र समस्या भन्ने होइन होला नि । सदस्यले मागे जति बचत फिर्ता गर्न नसक्नु पनि त समस्या हो नि । ऋण नउठ्नु पनि त समस्या होला नि । उपत्यकामा ५० प्रतिशत माथि सहकारी समस्यामा छन् । सबै संस्थाले सदस्यले भने जति पैसा फिर्ता दिन सकेका छैनन् । यस्तो अवस्थामा सहकारीकर्मीहरु एक भएर अगाडि बढ्नुपर्छ । संस्था बचे न सदस्य बच्ने हो ।
सहकारी क्षेत्रको समस्या कसरी समाधान गर्न सकिएला ?
सञ्चालकले बचत अपचलन गरेको कारणले मात्र सहकारी संस्था समस्या परेका होइनन् । सञ्चालकले पैसा चलायो, अनुत्पादक क्षेत्रमा लगानी गर्यो र सहकारीमा समस्या आयो भन्ने कुरा आइराखेको छ । यसले हामी जस्ता सहकारीकर्मीलाई पीडा हुन्छ । केही सहकारी संस्थाले त्यो नगरेको होइन तर सबैलाई एउटै डालामा हालेर हेर्न भएन भने मेरो भनाई हो । अधिकांश सहकारी संस्थाको ऋण उठ्न सकेको छैन । सञ्चालकले ऋण नउठेपछी कहाँबाट ल्याएर सदस्यको बचत फिर्ता दिने ? सहकारीमा सबैको समान हैसियत हुन्छ । सबै सदस्यको उतिकै जिम्मेवारी रहन्छ । तसर्थ सबै सदस्यले बचत फिर्ता माग्ने भन्दा पनि सामुहिक रुपमा सहकारीको समस्या समाधानमा लाग्नुपर्छ ।
सदस्यले ऋण तिर्न नसक्दा भाका नाघेको ऋण बढेर गएको छ । यो समयमा हरेक संस्थाको भाका नाघेको ऋण ५ प्रतिशत भन्दा माथि छ । ऋण उठाईदिन सरकारले पनि सहयोग गरिदिनुपर्छ । तब मात्र सहकारी बच्न सक्छ । गलत गर्नेलाई कारवाही पनि गर्नुपर्छ । त्यसका साथै सरकारले सहकारीका लागि सहुलियत ऋणको व्यवस्था गरिदिनुपर्छ । गल्ती गरेको छैन तर परिस्थितिले संस्था समस्यामा परेको छ भने सरकारले सहुलियत कर्जा उपलब्ध गराई ती संस्था जोगाउन सघाउनुपर्छ । अहिलेको परिस्थितिमा सबै सञ्चालकहरुलाई जिम्मेवार बनाउनुपर्छ । अभियान र सरकार एक भएर सहकारी बचाउनतर्फ लाग्नुपर्छ । त्यसका साथै पीडितलाई न्याय दिन पनि हामीले सामुहिक रुपमा पहल गर्नुपर्छ । समस्या परेका संस्थाका सञ्चालकहरुको मनोबल बढाएर संस्था बचाउनेतर्फ हामी सबै लाग्नुपर्छ ।