शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीइओ खनालले लिए शपथ


जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीइओ खनालले लिए शपथ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बैंक सञ्चालक समितिको मिति २०८१ जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम देवेन्द्ररमण खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो । 

पदभार ग्रहणको अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि हुने गरी काम गर्ने बताए । 

चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत रहेका थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापन विषयमा स्नातकोत्तर तथा कानून विषयमा एलएलबी तहसम्मकाे अध्ययन पूरा गरेका छन् । 

यस अघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले २०८१ बैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो । बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त हुनु भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशिल ट्रेड युनियनका प्रनितिधिहरुले शुभकामना ज्ञापन गरेका छन् ।