राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ । सम्झौता अनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।