शनिबार, आश्विन १७ गते २०८३

नेपाल सरकारकाे नीति र कार्यक्रम यथास्थितिबादी र बिराेधाभाषपूर्ण - नेकपा


जेठ ४, २०८१ शुक्रबार
नेपाल सरकारकाे नीति र कार्यक्रम यथास्थितिबादी र बिराेधाभाषपूर्ण - नेकपा

नेपाल कम्युनिष्ट पार्टीले एक प्रेस वक्तब्य प्रकाशित गर्दै नेपाल सरकारले ल्याएकाे २०८१-८२ काे वार्षिक नीति तथा कार्यक्रम परम्परागत, यथास्थितिवादी र विराेधाभाषपूर्ण रहेकाे उल्लेख गरेकाे छ । पार्टीका अध्यक्ष लाेकनारायण सुवेदीले जारी गरेकाे एक प्रतिकृयामा  भनिएकाे छ - नव उदारवादी विश्व अर्थतन्त्रकाे पासाेमा परेकाे नेपालकाे विद्यमान अर्थ-राजनीतिले नेपाल र नेपाली जनतकाे हित गर्न नसक्ने, असमानता बढ्ने, ऋणकाे बाेझ थपिँदै जाने, अहिलेसम्मकाे अनुभवबाट पनि पाठ नसिकेकाे, आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सहायक नहुने र राष्ट्रिय पूँजी निर्माण पनि कुण्ठित भएर रहने  र यसरी समग्रमा नेपाल कमजोर भएर जाने, कृषि र किसानकाे उत्थान नहुने, खतरा ब्यक्त गरेकाे छ ।

बक्तब्यकाे पूर्ण पाठ यस प्रकार छः ‘नेपाल सरकारले प्रस्तुत गरेको बर्ष २०८१-८२ को बार्षिक  नीति तथा कार्यक्रम पनि बिरोधाभाषपूर्ण र यथास्थितबादी छ । एकातिर देशको अर्थतन्त्रमा सुधार हुँदै छ, परिसूचकहरू ठीक छन् र सकारात्मक मोडतिर यो जाँदैछ भनिएको छ भने अर्केतिर  मुद्रास्फिति माथि भएको, बाह्य चाप बढिरहको, पूँजीगत खर्च कम भइरहेको र यसरी समग्रमा समस्या यथाबत कायम रहेको यसमा दर्शाइएको छ ।

यो नीति र कार्यक्रम कृषि र किसानका मूलभूत  समस्या हल गर्ने, किसानमाथि मिटर ब्याज, लघुबित्त र सहकारी लगायतबाट भइरहेका शोषण, कृषिमा बाह्य क्षेत्रबाट भइरहेको अतिक्रमण जस्ता गम्भीर समस्याप्रति बेखबर  र बिमुख रहेको तथा यथास्थितिमा अल्मलिएको टालटुले प्रकारको छ । यसले कृषि र किसानलार्इ उत्साह र उर्जा दिन, उत्पादन बढाउन र परनिर्भरता कम गर्ने बातावरण सिर्जना गर्न सक्ने कुनै धरातल प्रदान गर्न सक्ने देखिदैन ।

नव उदारवादी विश्व अर्थ-राजनीतिको पासोमा परेको नेपालको बिद्यमान अर्थ-राजनीतिले नेपाल र नेपाली जनताको हित गर्न नसक्ने,असमानता अझ बढ्ने, ऋणको बोझ अझ थपिदै जाने अहिलेसम्मको अनुभवबाट पनि पाठ नसिकेको, आत्मनिर्भर अर्थतन्त्रको बिकासका लागि सहायक नहुने र राष्ट्रिय पूँजी निर्माण पनि कुण्ठित भएर रहने  र यसरी समग्रमा नेपाल कमजोर भएर जाने स्थिति टड्कारो छ ।’

Nitirakaryakram.jpg