शनिबार, आश्विन १७ गते २०८३

भारी वर्षाकाे जाेखिम, विभिन्न राजमार्गमा रात्रिकालिन यातायात बन्द


आश्विन ८, २०८३ बिहीबार
भारी वर्षाकाे जाेखिम,  विभिन्न राजमार्गमा रात्रिकालिन यातायात बन्द

 

काठमाडाैं । अविरल वर्षा र बाढीपहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लाका राजमार्गमा राति गाडी गुडाउन बन्देज लगाइएकाे छ । 

जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रशासनका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारी साधनको सुरक्षाका लागि रातको समयमा राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन्।

भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले रातको समयमा राजमार्गमा आवागमन रोकिएको प्रशासनले जनाएको छ। प्रशासनले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा नजान आग्रह गरेको छ।

त्यसैगरी सिन्धुली जिल्ला प्रशासनलले पनि राति बीपी राजमार्गमा यातायात बन्द गरेकाे छ । त्यसैगरी दाङ जिल्ला प्रशासनले विभिन्न सडक खणडमा ११ गतेसम्मका लागि बेलुकी ५ देखि बिहान ६ बजेसम्म यात्रा गर्न राेक लगाएकाे छ। त्यसैगरी मकवानपुर जिल्ला प्रशासनले कान्ति राजमार्ग र कुलेखानी सडकखण्डमा अशाेज ८ गतेदेखि अर्काे सूचनासम्म बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र यातायात सुचारू रहने जनाएकाे छ । स्थानीय प्रशासनले सुरक्षा निकायबाट जारी हुने  निर्देशनको पूर्ण पालना गर्न पनि यात्रु र चालकलाई अनुरोध गरिएको छ।