शनिबार, आश्विन १७ गते २०८३

घट्याे मुद्दतीकाे ब्याजदर, जेठ महिनामा औसत ७ प्रतिशत कायम

जेठ १, २०८१ मंगलबार
घट्याे मुद्दतीकाे ब्याजदर, जेठ महिनामा औसत ७ प्रतिशत कायम

बैंकिङ क्षेत्रमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याजदर घट्दै गएको छ। वाणिज्य बैंकहरूले प्रकाशित गरेको ब्याजदर अनुसार जेठ महिनाका लागि औसत मुद्दती ब्याजदर ७ प्रतिशत कायम भएको छ।

२० वाणिज्य बैंकहरूमध्ये २०८१ जेठ १ गतेदेखि लागु हुनेगरी व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकांशले ब्याजदर घटाएका छन् भने केहिले स्थिर राखेका छन् । तीन बैंकले भने ब्याजदर बढाएका छन् । वैशाख महिनामामा औसत मुद्दती ब्याजदर ७.५ प्रतिशत रहेकोमा जेठ महिनामा घटेर ६.९९ प्रतिशत कायम भएको हो ।  जेठ महिनाका लागि वाणिज्य बैंकहरूले एकवर्षे मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर ७.८० प्रतिशत र न्यूनतम ५.६६ प्रतिशत रहेको छ । 

ब्याजदर घटाउनेमा नबिल बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम बैंक र कुमारी बैंक छन् । एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले ब्याजदर बढाएका छन् ।

हिमालयन बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कृषि विकास बैंकले बैशाख महिनाकै ब्याजदरलाइ निरन्तरता दिएका रहेका छन् । 

साधारण निक्षेपतर्फ वाणिज्य बैंकहरूले अधिकतम ६.६६ प्रतिशत र न्यूनतम ३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।