सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । नेफस्कुनले आयोजना गरेको लेखा समितिको राष्ट्रिय गोष्ठीमा शुभकामना मन्तव्य राख्दै उनले सहकारीको प्रभावकारी नियमनका लागि बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताए । सहकारी ऐनमा भएको व्यवस्था ऋण असुली न्यायधिकरण, कर्जा सूचना केन्द्र र दोस्रो तहको नियमक निकाय गठनका लागि सरकार अगााडि बढेको सो अवसरमा उनले बताए ।
अब सहकारीको नाममा बचत संकलन गरेर दुरुपयोग गर्नेलाई कारवाही गरेरै छाड्ने उनको भनाई छ । उनले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने बताए । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने ।
अहिले सहकारीमा प्रणालीगत समस्या र गैर प्रणाली समस्या रहेको बताउँदै उनले सहकारी ऐन र मूल्य मान्यतालाई अध्ययन गर्दा सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने उनको भनाई छ । ‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि समस्या आयो भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उनले भने । सहकारीमा आर्थिक मन्दी, कोभिड १९ र ऋण असुलीका कारण समस्या आए पनि आन्तरिक सुशासन कायय हुन नसक्दा नै बढी समस्या आएको उनको दावी छ ।