बुधबार, भाद्र ३ गते २०८३

सहकारी अभियान असफल भएकाे छैन, सिद्धान्त बाहिर चलेका केहि संस्था संकटमा परेका हुन्


बैशाख २०, २०८१ बिहीबार
सहकारी अभियान असफल भएकाे छैन, सिद्धान्त बाहिर चलेका केहि संस्था संकटमा परेका हुन्


नेफस्कूनले  लेखा समितिको राष्ट्रिय गोष्ठी आयोजना गर्दै गर्दा समय अनुकूल नभएको गुनासो छ नि ? 

समय आफैंमा ठिक र बेठिक हुदैन, समयलाई कसरी प्रयोग गर्छौ, त्यसमा निर्भर गर्छ । राम्रो गरे समय जहिले पनि राम्र्रो हुन्छ । राम्रो गर्न सकेनौं भने समय अनुकूल हुँदैन । मुल्यमान्यता र सिद्धान्तमा आधारित रहेर सहकारीलाई स्वायत्तता, स्वतन्त्रता र स्वनियमनमा चल्ने संस्था भनिएको छ । त्यस मध्ये लेखा समितिको जुन मुल्य, मान्यताले परिकल्पना गरिएको छ, त्यस अनुसार लेखा समितिले भूमिका निर्वाह गर्न नसक्दा, समितिलाई कमजोर बनाईंदा र उसले दिएका सुझावहरुलाई कार्यान्वयन नगर्दा आन्तरिक सुशासानमा कमी आयो । त्यसकै कारण धेरैजसो सहकारीमा समस्या आएको हो । यी कुरालाई चिर्दै स्वनियमनलाई व्यवहारिक र वास्तविक रुपमा प्रयोग गर्नका लागि, लेखा समितिलाई टुल्स र सीप प्रदान गर्छौं । लेखा समितिले सञ्चालक समितिलाई निर्देशन गर्न सक्छ र समितिले दिएको निर्देशन पालना गरेनन् भने विशेष साधारण सभा पनि बोलाउन सक्छ भन्ने आत्मविश्वास जगाएर अहिलेको चुनौतीको सामना गर्दै सकारात्मक सन्देश दिनको लागि गोष्ठी गर्दैछौं । 

लेखा समितिमा रहेका व्यक्तिहरुका लागि सिक्ने प्लाटफर्महरुको कमी देखिन्छ र त्यति अवसर पनि दिएको पाईंदैन नि ?

यर्थाथ कुरा हो । अहिले लेखा समिति एउटा देखाउने हात्तीको दाँत जस्तो मात्र भएको छ । कमजोर व्यक्ति र पद खोज्ने तर काम नगर्ने मान्छेलाई लेखा समितिमा लगेर राखिन्छ । त्यसैगरी लेखा समिति सञ्चालक समितिको छाँयामा छ । यी कुराले गर्दा उहाँहरुमा आत्मविश्वास, जाँगर र उत्सुकता छैन । सञ्चालक समितिले निर्णय गरेर पठाईदिए जाने हो भन्ने हैसियतमा भए पछि कसरी अवसर पाउछन् त ।

गोष्ठीबाट के कस्ता उपलब्धी हासिल हुन सक्छ ?

वर्तमान समयमा लेखा समितिले आफनो काम, कर्तव्य र अधिकारको जुन किसिमले निर्वाह गर्नुपर्ने हो, त्यो गर्न नसकेको अवस्था छ । अन्तराष्ट्रियस्तरमा लेखा समितिले आन्तरिक सुशासनका लागि कसरी काम गरिराखेका छन्, सहकारी मूल्य मान्यता र सिद्धान्त अनुसार कस्तो भूमिका निर्वाह गर्नुपर्छ भनेर हामीले व्यवहारिक सीप र ज्ञान प्रदान गर्छौ । गोष्ठीमा सहभागीहरुलाई संस्थामा कसरी व्यहवहारिक रुपमा प्रयोग गर्ने भनेर टुल्स नै विकास गरेर दिन्छौं । गोष्ठीबाट सीप सिक्नुका साथै त्यसको प्रयोग कसरी गर्ने भनेर ज्ञान हासिल गर्नुहुन्छ । 

अहिलेको आर्थिक मन्दीमा पैसा खर्च गरेर गोष्ठीमा सहभागी हुने कि नहुने भन्ने जस्ता अलमल संस्थाहरुमा छ नि ?

पैसा कहिले पनि बढी हँुदैन । छोराछोरी पढाउँदा खर्च भयो भन्ने बुबाआमाले छोराछोरीलाई दक्ष बनाउन सक्दैनन् । खानाको निम्ति पैसा छैन भनेर भोकै बस्यौ भने जिन्दगी नै अगाडी बढ्दैन । रोग लागेको छ , पैसा सकिन्छ, घर घडेरी सकिन्छ भनेर उपचार गरेनौं भने हामी अकालमा मर्न सक्छौ । अहिले गोष्ठीका लागि तिरेको शुल्क खर्च होइन लगानी हो । १५ हजार लगानीले ७३ लाख जनता जोडिएको अभियान र ३१ हजार सहकारी संस्थामा सुशासन कायम गर्न टेवा मिल्छ । संस्थालाई व्यवस्थित रुपमा अगाडी बढाउन सकियो त्यसको अगाडी १५ हजार रुपैया केही पनि होइन । अन्यत्रको खर्च कटौती गरेर भए पनि गोष्ठीमा सहभागी हुन र सहकारी अभियानलाई सशक्त अभियान बनाउनका लागि जुट्न मेरो आग्रह छ । 

पछिल्लो  समय संघ र महासंघहरुले नाफा कमाउन कै लागि गोष्ठी गरे भन्ने आरोप पनि लाग्ने गरेको छ नि ? 

अवश्य छ । हुनु पनि पर्छ । सहकारीको नेतृत्व गर्ने महासंघ, सहकारी बैंक र विषयगत सहकारी संघहरुको समन्वयको अभावले गर्दा यो कुरा उठिराखेको हो । हामीले यी निकायबीच समन्वय गरेर कसले कस्ता गोष्ठी गर्ने भन्ने निक्र्यौल निकाल्न सकेको भए यो समस्या रहँदैन थियो । जुँगाको लडाई बाच्छाको मिचाई गरेकाले यो कुरा उठेको हो । तर हामीले आयोजना गर्न लागेको गोष्ठी नाफा कमाउन नभई  सहकारी अभियानलाई नै टेवा दिनकै निम्ति हो । हामीले गोष्ठीमा अन्तराष्ट्रियस्तरका श्रोत व्यक्तिहरु ल्याउदैछौ । त्यसका लागि खर्च त लाग्छ । चारपाँच सय व्यक्ति अट्ने सुविधासम्पन्न ठाउँको अभावमा हामीले तारे होटलमा नै गोष्ठी गर्नु परेको छ । गोष्ठीबाट नाफा हुन्छ भन्ने छैन । तर सबै संघहरुले कसले के गर्ने भनेर योजनावद्ध रुपमा जानुपथ्र्यो, त्यो हुन नसक्दा यस्ता कुरा उठ्ने गरेको छ । मलाई लाग्छ, सबैले नाफा कमाउनको लागि भन्दा पनि आफ्नो नाम राख्न र आवश्यकताका आधारमा नै गोष्ठी गरेको हुनुपर्छ । 

संघहरुमा समन्वयको अभाव भएको विषय तपाईले पनि उठाउनु भयो र सबै संघहरुले गर्ने गोष्ठीहरु उस्तै उस्तै पाइन्छ, अभियानको बीचमा कुन संघले के गर्ने भन्ने कुराको स्पष्टता हुन सके यस्ता कार्यक्रमको गरिमा बढ्थ्यो होला नि ?

संरचनागत रुपमा केन्द्रीय संघहरुको पनि प्रतिनिधित्व भएर महासंघ सबैको छाता  संघको रुपमा रहेको छ । यी विषयमा महासंघले विशेष भूमिका खेल्नुपर्छ । सबै विषयगत संघ र राष्ट्रिय सहकारी बैंकलाई सहभागी गराएर हरेको बर्षको कार्यक्रम तय गर्दा राष्ट्रिय रुपमा कुन कुन कार्यक्रम कसले गर्ने भनेर क्यालेन्डर बनाउँदा राम्रो हुन्छ । जसले कार्यक्रमको गरिमा बढाउनुका साथै डुब्लिकेशनको समस्या पनि हल हुन्थ्यो । सबैले सबैलाई सहयोग गर्ने वातावरण निर्माण हुन्थ्यो । 

गोष्ठीमा सहभागी हुने कि नहुने भन्ने अलमलमा रहेकालाई तपाईं के भन्नुहुन्छ ? 

जो जाउँ कि नजाउँ भनेर दोधारमा हुनुहुन्छ, उहाँहरुलाई फेरी भन्न चाहन्छु यो खर्च  होइन लगानी हो । गोष्ठीबाट देशभर राम्रोसँग संस्था सञ्चालन गरेका  अभियन्ताहरुको अनुभव सुन्नबुझ्न पाउनुहुन्छ । हामीले गोष्ठीमा कार्यपत्र प्रस्तुति मात्र राखेका छैनौ, व्यवहारिक रुपमा लेखा समितिलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र संस्थामा कसरी ज्ञान र सीपलाई प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुराको बारेमा पनि सिकाउँछौ । सुशासन कायम गर्न आन्तरिक नियन्त्रणका कुनकुन क्षेत्रमा काम गर्नुपर्छ भनेर धेरै विषयमा प्रस्तुतिकरण हुने भएकाले आफ्नो द्विविधालाई हटाएर सुविधालाई प्रयोग गरेर मेरो संस्थामा सुशासन र आन्तरिक नियन्त्रण प्रणाली आवश्यक छ भन्ने कुराको बोध गर्दै गोष्ठीमा सहभागी हुन मेरो आग्रह छ । केही नयाँ कुरा सिकेर सिकेका कुरालाई संस्थामा प्रयोग गर्नु भयो भने अवश्य परिवर्तन आउँछ । 

गोष्ठीबाट फर्केपछि सहभागिहरुले के के गर्न सक्छन्?

सहकारीको मूल्य, सिद्धान्त र बचत ऋण सहकारीको दर्शनमा संस्था सञ्चालनको लागि लेखा समितिले आफ्नो संस्थामा गएर सक्रिय भूमिका निर्वाह गर्न सक्छन् । लेखा समितिले संस्थामा आफ्नो भूमिका के हो र सरोकारवालासँग कसरी समन्वय गरेर जान सकिन्छ भन्ने जस्ता कुराहरुमा प्रष्ट हुन सक्नेछन् । अर्कोतर्फ, सहकारी क्षेत्रका चुनौती के के छन् र समाधानका उपायहरु के के हुन सक्छन् भन्ने कुराको जानकारी प्राप्त हुन्छ । संस्थामा अहिले जोखिम परिक्षण गर्न सकिराखेको अवस्था छैन् । जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ, स्थिरिकरण कोषमा कसरी आवद्ध हुन सकिन्छ र सुरक्षित साकोस कसरी बनाउन सकिन्छ भन्ने कुरा बुझेर व्यवहारिक रुपमा लागु गर्नुका साथै संस्थागत रुपमा परिवर्तन ल्याउन सक्नेछन् । 

सहकारी संस्थाहरुमा लेखा समितिको भूमिका कत्तिको प्रभावकारी रहेको छ ?

ज्यादै न्यून मात्रामा लेखा समिति सक्रिय भएको मैले पाएको छु । कतिपय लेखा समितिका पदाधिकारीहरुलाई आफ्नो भूमिका के हो भन्ने नै थाहा नपाएको भेटियो । कतिपय लेखा समितिले व्यवस्थापकले तयार गरिदिएको प्रतिवेदन पढेको देखियो । केही राम्रा सहकारी संस्थामा लेखा समितिले प्रभावकारी काम गरेका छन् तर समग्रमा सन्तोषजनक छैन । यसको अर्थ निस्कृय छन्, केही गरेको छैन भन्ने पनि होइन । जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनन् । 

लेखा समितिको भूमिका पनि त बढाउनुपर्ला नि ?

अहिले सहकारी संस्थामा समस्या देखिनुको कारण लेखा समितिले सही किसिमले सञ्चालक समितिलाई झकझक्याउन नसक्नु, सहि दिशा दिन नसक्नु र सञ्चालक हरुले गरेको गैर क्रियाकलापलाई रोक्न नसक्दा आएको हो । यो अभियानलाई शुद्धिकरण गर्न लेखा समितिको क्षमता अभिवृद्धि र सक्रियतालाई व्यवहारिक रुपमा बढाउन आवश्यक छ । यसले अभियानलाई शुद्धिकरण गर्न टेवा पु¥याउँछ । 

सहकारीलाई स्वायत्त र स्वतन्त्ररुपमा सञ्चालन गराउन लेखा समितिको भूमिका महत्वपूर्ण भएता पनि हिजोको दिनमा यसको वकालत भएको पाइँदैन नि ?

केही हदसम्म ढिला भयो होला, अझै बितेको केही छैन । हामी सबै एकै भएर लाग्यौ भने सुधार गर्न नसक्ने भन्ने हुँदैन । राज्य, अभियान र स्टेकहोल्डरहरु सबै लागिपरे भने सहकारीलाई सुधार गर्न सकिन्छ । गाउँघरका निमुखा जनतामा पुग्ने अभियान नै सहकारी हो । उनीहरुको जीवनस्तर परिवर्तन गर्ने भनेको सहकारीले मात्र हो । 

सहकारीको नियमन प्रभावकारी नहुँदा समस्या आएकाले छुट्टै नियामकको बहस चलिरहँदा लेखा समिति सक्रिय भएको भए सहकारीमा बाह्य नियमनको आवश्यकता पथ्र्यो कि पर्दैनथ्यो ?

अन्तिम अस्त्र नै यही हो, यो बाहेक अरु चाहिँदैन भन्न त नमिल्ला । तर केही हदसम्म सुधार गर्न सकिन्छ । सहकारीमा नजानेर भन्दा पनि नियतमा ह्रास र नैतिकतामा खोट लागेपछि कसैको केही लाग्दो रहेनछ । नीति विधिले केही गर्न सक्ने रहेनछ । नीति विधि आफै प्रयोग हुँदैन । बिग्रेका र समस्यामा परेका सहकारीलाई हेनुर्स, उनीहरुले नजानेर सहकारीमा समस्या आएकै होइन । नियतमा खराबी छ र नैतिकतामा ह्रास आएको छ । यसकारण यसलाई नियन्त्रण गर्ने निकाय पनि चाहिन्छ । नैतिक रुपमा स्खलन नहुने हो भने र सदस्यको बचतको सुरक्षा गर्न हामी सञ्चालक भएका हौं, हामी मालिक होइनौं, सदस्यको सेवक हौ भन्ने अनुभूति सञ्चालक समितिमा हुने हो भने कोही पनि चाहिँदैन । 

पछिल्लो समयको परिघटनाले नेपालमा सहकारी नै चाहिँदैन भन्ने मानसिकता पनि विकास भएको पाइन्छ नि ?

सन् ६० को दशकमा जापानमा पनि यस्तै समस्या आएको रहेछ । ७० को दशकमा युरोपमा र ८० को दशकमा अमेरिकामा यस्तै समस्या आएको रहेछ । जापानमा राज्य र सहकारीकर्मी मिलेर समाधान गरे । अहिले त्यहाँ सबै भन्दा राम्रो मोडेलमा सहकारी चलिराखेको छ । युरोपमा सरकारले सपोर्ट गर्यो र समस्या समाधान भएर राम्रो काम भइरहेको छ । अमेरिकामा सरकारले बाँचे बाँच, मरे मर भनेर छाडिदियो । त्यसले गर्दा त्यहाँका सहकारी फिल्टर भए । राम्रोसँग सञ्चालन भएका टिके र नराम्रोसँग चलेका हराएर गए । 

यहाँपनि राम्रो र नराम्रो संस्था फिल्टर हुने बेला आएको छ । मेरो दृष्टिकोणमा सहकारी असफल भएको छैन् । मूल्यमान्यता असफल भएको होइन । केही संस्थाहरु असफल भएका हुन् । यसमा राज्यले जसरी संरक्षण गर्नु पथ्र्यो, त्यो गर्न सकेन । अभियानकर्मीले, जसरी संस्था सञ्चालन गर्नु पथ्र्यो, त्यसरी गर्न सकेनन् । तर सहकारीको समस्या मुख्यतः ठुला शहरमा छ । दुरदराज र समुदायमा आधारित सहकारी जहाँ समुदायका व्यक्तिहरु मिलेर संस्था चलाएका छन्, त्यहाँ राम्रो छ । राज्य र बैंक पुग्न नसकेको ठाउँमा सहकारीको कुनै विकल्प छैन । अर्थतन्त्रलाई चलायमान बनाउन र समुदायमा पुग्नको लागि यो भन्दा उपयुक्त अर्को विकल्प मैले देखेको छैन । 

सहकारीको समस्यामा सरकारको भूमिका स्पष्ट देखिएन नि ? 

सरकार आफैं  समस्यामा छ । गठबन्धन टुक्रिने डरले सरकारले विकास र सुशासनको क्षेत्रमा संस्थागत रुपमा विकास गरेर लैजानुपर्छ भन्ने सोच नै बनाएको पाईंदैन । नेताहरुमा सत्ता टिकाउने भन्दा अरु ध्यान छैन । जनतालाई सेवा सुविधा दिने भन्ने लक्ष्यलिएर गएको मैले त कोही पनि देखिँन । राज्यले यसतर्फ हेनै भ्याएकै छैन ।

सहकारी अभियानलाई व्यवस्थित गर्न के के गर्नुपर्ला ?

सहकारी संस्थाको देशभर कार्यक्षेत्र दिने गरिएको छ । यसलाई हटाउनुपर्छ । संविधानले ३ खम्बे अर्थनीतिको एउटा खम्बा सहकारीलाई मानेको छ । सोही अनुसार सरकारले प्राथमिकता दिनुपर्यो । ऐननियममा भएका व्यवस्था व्यवहारमा कार्यान्वयन गर्नुपर्यो । अर्कोतर्फ,  राजनीतिक पार्टीका नेताले संरक्षण गरेका संस्थाहरुमा समस्या आएको छ । परिवारवादले सञ्चालन भएका र सञ्चालकहरुले लापरवाही गरेका संस्थामा समस्या आएको छ । अहिले तीन तहमा नियमन संरचना कायम छ । संघ, प्रदेश र स्थानीय तहले सहकारी हेर्ने व्यवस्था भएपछि कसैले पनि हेरेनन् । अब सहकारीको नियमनको लागि छुट्टै निकाय हुनुपर्छ र विज्ञ मान्छेहरु राख्नुपर्छ । बाटो बिराउनेलाई लाठी लगाउने संयन्त्र पनि हुनुपर्छ । सहकारीलाई समुदायमा आधारित नै बनाएर चलाउनुपर्छ, त्यसको विकल्प छैन । 

सहकारीलाई अहिलेको समस्याबाट बाहिर निकाल्ने उपायहरु के के हुनसक्छन् ?

ती वटा कुरामा आधारित भएर जाँदा समस्याबाट बाहिर आउन सकिन्छ । पहिलो, सहकारी दर्ता गर्दा नै विचार पुर्याउनुपर्ने हुन्छ । २५ जना व्यक्ति मिलेर जाँदैमा सहकारी दर्ता दिनु हुदैन । कति सहकारी आवश्यक हो, त्यसको संख्या, पुँजी र सदस्य यकिन गर्नुपर्छ । दोस्रो, केही व्यक्तिले सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै हिँडेका छन् । त्यस्ता व्यक्तिलाई राज्यले कारवाही गर्नुपर्छ । तेस्रो, नियमनकारी निकाय अनुभवी, दक्ष र सशक्त हुनुपर्छ । चौंथो, कर्जा सूचना केन्द्र, कालो सूची र बचत तथा कर्जा सुरक्षण कोष तत्काल सञ्चालनमा ल्याउनुपर्छ । अहिले कृषि र बहुउदेश्यीय सहकारी समस्याग्रत भएका छन् । कृषि, सञ्चार, दुग्ध, कफि, बिजुली सबैले बचत ऋणको काम गरेका छन् । यो हुन सक्दैन, यसलाई रोक्नुपर्छ । बचत ऋण परिचालन गर्ने सहकारीको लागि छुट्टै ऐन आउनुपर्छ ।