शुक्रबार, कार्तिक ७ गते २०८३

लेखा समितिको क्षमता अभिवृद्धि गरी आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्तदुरुस्त बनाउन गोष्ठी लाभदायक हुन्छ

बैशाख १९, २०८१ बुधबार
लेखा समितिको क्षमता अभिवृद्धि गरी आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्तदुरुस्त बनाउन गोष्ठी लाभदायक हुन्छ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून)ले आगामी बैशाख २५ र २६ गते सहकारीमा लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ । बचत तथा ऋण सहकारीमा सुशासन कायम गर्न र दिगो संस्थागत विकासको निरन्तरता दिन यो गोष्ठी गर्न लागेका हौं । सहकारी स्वनियन्त्रित र स्वनियमनमा सञ्चालन हुने संस्था हो । सहकारी मूल्यमान्यता, सिद्धान्त र सहकारी ऐननियमले सहकारीलाई लोकतान्त्रिक संस्थाको रुपमा परिकल्पना गरेको छ । लोकतान्त्रिक संस्थाभित्र आन्तरिक नियन्त्रण प्रणाली हुन्छ । सहकारीमा लेखा समिति आन्तरिक नियन्त्रण प्रणालीको रुपमा काम गर्ने महत्वपूर्ण कडी हो । 

सहकारी संस्था भित्र २ वटा समिति हुन्छन् । उनीहरुको भूमिका पनि  त्यहि किसिमले परिभाषित गरिएको छ । सञ्चालक समिति कार्यकारीको भूमिकामा रहन्छ । सञ्चालक समितिले केही काम आफैले र धेरै कामहरु व्यवस्थापन मार्फत सम्पादन गराउँछ । सदस्यहरुको हितमा काम गर्ने प्रतिनिधिको रुपमा सञ्चालक समितिले काम गरिराखेको हुन्छ भने सञ्चालक समितिले सम्पादन गरेका कामहरु सहकारी सिद्धान्त, मूल्यमान्यता र साधारण सभाले स्वीकृत गरेको बार्षिक कार्यक्रम, नीति र म्यानडेट भित्र सञ्चालित छन् कि छैनन् भनेर आन्तरिक रुपमा परिक्षण गर्ने काम लेखा समितिको हो । लेखा समितिको कार्य दक्षता अभिवृद्धि गर्ने, विश्वमा भएका अभ्यासहरु आन्तरिकीकरण गर्ने, आन्तरिक प्रणालीलाई चुस्त, दुरुस्त गराउन कस्ता विधि र प्रविधि तथा क्षेत्रहरु निर्धारण गरिएका  छन्, त्यस्ता सीप तथा क्षमताको आन्तरिकीकरण गरेर हस्तान्तरण गर्ने र लेखा समितिको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो दोस्रो पटकको गोष्ठी गर्दछौ । 

अहिलेको परिस्थितिमा लेखा समितिको गोष्ठी नगरेको भए हुन्थ्यो कि भन्ने आवाज पनि उठेको छ । तर नेफस्कूनले ठिक समयमा वस्तुगत र परिवेशलाई विश्लेषण गरेर गोष्ठीको आयोजना गरेको हो । अहिले कोही व्यक्ति विरामी भयो, हामीसँग पैसा छैन अस्पताल नलैजाउँ, दुई÷चार दिन पछि लैजाउँला भन्दा त्यो निर्णय ठिक हुँदैन । अहिले सहकारी संस्थामा सदस्यहरुको विश्वास धरमराएको छ । सबै सहकारी संस्था स्वनियमनमा चलेका छैनन् कि भन्ने प्रश्न उठेको छ । दुई वटा हातमा एउटा हात निस्कृय रहेको अवस्था छ । लेखा समितिको भूमिका, क्षमता र प्रभावकारिता माथि प्रश्न उठाइएको अवस्था छ । यो समयमा सदस्यहरुको बचतलाई सुरक्षा प्रदान गर्नको लागि र सञ्चालक समिति तथा व्यवस्थापनले गरेको कार्यहरुलाई सदस्यहरुको तर्फबाट हेरिदिएर ठिक छ भन्ने वातावरण तयार पार्नु लेखा समितिको जिम्मेवारी हो  । त्यसैले अहिलेको अवस्थामा लेखा समितिको गोष्ठी वस्तुनिष्ठ र यथार्थमा आवश्यक छ । लेखा समितिको क्षमता अभिवृद्धि गरी सदस्यको बचतको सुरक्षा प्रत्याभूति गर्नको लागि र आन्तरिक नियन्त्रण प्रणालीलाई थप चुस्तदुरुस्त बनाउनको लागि  तथा संस्था भित्रको सञ्चालकीय अधिकार र नियन्त्रकीय अधिकारलाई सन्तुलित बनाएर अगाडि बढाउनको लागि क्षमतावान र सिपमुलक लेखा समिति चाहिन्छ । 

लेखा समितिले विश्लेषण गरेर दिएको प्रतिवेदनका आधारमा सरोकारवाला निकाय, नियामक निकाय र अन्तिम लेखा परिक्षण तथा स्वयम् साधारणसभा मार्फत संस्थाका मालिकहरु पनि आश्वस्त हुने भएकाले लेखा समितिको क्षमता विकास गर्न आवश्यक छ । अहिलेको अवस्थामा पाँच तारे होटलहरुमा गोष्ठी नगरेको भए हुन्थ्यो कि भन्ने प्रतिक्रिया पनि आएको छ । म आफै नेफस्कुनमा जोडिएको करिब ३० बर्ष भयो । हिजोका दिनमा हामीले गाईको गोठमा पनि तालिम चलायौ । विद्यालय, कालोपाटीमा लेखेर र खुल्ला चौरहरुमा हामीले गोष्ठी गर्यौं । तर अहिले हामी पैसावाला भयौ अनि पाँच तारे होटलमा जाउँ भन्न खोजेको होइन । विश्व ऋण परिषदको विश्वव्यापी सञ्जालबाट हामीले पहिलो पटक श्रोतव्यक्ति पाउँदैछौ । हामीले सहभागीबाट उठाएको श्रोतलाई दुरुपयोग नगरी र सहभागीहरुलाई बढी भन्दा बढी श्रोत सामाग्रीहरु उपलब्ध गराउँछौं र छलफललाई सहज र प्रभावकारी बनाउन हामीले उपयुक्त स्थान छनोट गरेका हौं । 

सहभागी शुल्क व्यवस्थापन गरिदिएर लेखा समितका संयोजक वा सदस्यहरुलाई गोष्ठीमा सहभागी गराइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौं । नेफस्कूनले हामी जस्ता धेरै प्रशिक्षक तथा श्रोत व्यक्तिहरु विज्ञको रुपमा उत्पादन गरेको छ । नेफस्कूनले अन्तराष्ट्रिय रुपमा समन्वय गरेर नेपालमा आन्तरिकीकरण नगरेको भए आज हामी पढाउन सक्ने, सिकाउन सक्ने र अन्तराष्ट्रिय स्तरको कुरा गर्न सक्ने हुने थिएनौं । हिजो विषम परिस्थिति थियो । हाम्रा अग्रजहरुले आफैं पैसा उठाएर कालो चिया खाएको इतिहास हामीलाई सुनाउनुहुन्छ । त्यो बेलामा पनि उहाँहरुले तालिम शिक्षा सञ्चालन गर्नु भयो । त्यहि भएर बचत ऋण अभियान नेपालको अग्रणाी अभियानको रुपमा स्थापित भएको छ । यसकारण नेफस्कूनले उचित समयमा सदस्यहरुको विश्वास धरमराएको अवस्थामा यो गोष्ठी गर्न गइरहेको छ । आन्तरिक नियन्त्रण प्रणाली चुस्त बनाएर लैजान लेखा समितिको भूमिका बढाउदै संस्थाको सन्तुलन कायम गर्न र सरोकारवालाहरुको विश्वास आर्जन गर्न यो गोष्ठी आयोजना गरेका हौं । यसमा सबै पक्षको सक्रिय भूमिकाको लागि हामी आव्हान गर्दर्छौ । 

वर्तमान समयमा वित्तीय सहकारी संस्थाहरुमा केही आशंकाहरु उठेका छन् । केही सहकारी संस्थाका सञ्चालक  र व्यवस्थापकहरुले सदस्यको बचत दुरुपयोग गरेका कारण सहकारीप्रति आशंका उठेको हो । दुइतीन प्रतिशत सहकारी संस्थामा समस्या आएको अध्ययन प्रतिवेदनले देखाएको छ । वित्तीय क्षेत्रमा आफैमा संवेदनशील क्षेत्र हो । सहकारी नबुझेका व्यक्तिहरुले संस्था सञ्चालन गरेका कारण समस्या आएको होइन । सहकारीमा जम्मा भएको बचतलाई व्यक्तिगत प्रयोजनका लागि अथवा आफुलाई कसरी फाईदा हुन्छ भन्ने केही मान्छेका कारण समस्या आएको हो । जनताको बचतलाई केही सञ्चालकहरुले दुरुपयोग गरे । सदस्यबाट संकलन गरेको बचत गैरवित्तीय क्षेत्र, घर जग्गा र अनुत्पादनमुलक क्षेत्रमा लगानी भयो । वित्तीय क्षेत्रले पालना गर्नु पर्ने सहकारी मूल्य मान्यता र सिद्धान्तको अलावा वित्तीय मापदण्डहरुलाई पालना नगरी गैरवित्तीय क्षेत्रमा लगानी भयो । घरजग्गामा लगानी गर्दा आर्थिक मन्दीले कारोबारमा गिरावट आयो भने मुलुक संघीयतामा गई सकेपछि स्थानीय र प्रदेश मातहत सहकारीको नियमन अधिकार पनि गयो ।

त्यस्तै, कतिपयले संक्रमणकालको फाइदा उठाए । डिभिजन सहकारी कार्यालयहरु खारेज भए । नियमन अनुगमन गर्ने र प्रतिवेदन बुझ्ने निकायहरु नभएको अवस्थामा केही सञ्चालकहरुले सहकारीबाट फाइदा उठाए । घरजग्गाको कारोबारमा आएको मन्दीसँगै ती संस्थाहरुमा पैसाको सर्कुलेसन बन्द भयो । सदस्यहरुले त्यस्ता संस्थाहरुबाट बचत फिर्ता पाएनन् । बचत फिर्ता नपाए पछि सहकारीमा आशंका पैदा भयो र फलानो सहकारी संस्थाले बचत फिर्ता गर्न सकेन भनेपछि अन्य सहकारीमा एकै पटक बचत फिर्ताको चाप बढ्यो । बचत दुरुपयोग गरेका सहकारीका सञ्चालक र व्यवस्थापकहरु भाग्ने र कार्यालय नै बन्द हुने स्थिति बन्यो । यसको प्रभाव नियमित रुपमा सञ्चालन भएका समुदाय केन्द्रीत सहकारी संस्थामा पनि पर्यो । हामीले बचत संकलन गर्छौं र सदस्यहरुकै जीवन परिवर्तनका लागि आवश्यकता र क्षमताको आधारमा ऋण लगानी गर्छौ ।

हामी बचत ऋण सहकारी संस्थाले आफैं उद्योग खोल्ने होइन, सदस्यहरुलाई उद्यमी बनाउने हो । बजारमा सहकारीले बचत फिर्ता गर्न नसकेको कुरा आए पछि राम्रोसँग सञ्चालन भएका सहकारी संस्थाहरुमा पनि बचत फिर्ताको चाप बढेर गयो । बजारमा पैसाको सर्कुलेसन कम भई राखेको अवस्थामा एकै पटक सदस्य बचत फिर्ता माग्न आए भने त्यो सम्भव छैन । किनभने सबै ग्राहक एकै पटक पैसा फिर्ता लिन लाइन लागे भने बैंकले पनि फिर्ता दिन सक्दैनन् । जसले गर्दा राम्रा सहकारी संस्था पनि प्रभावित  भए । अर्को तर्फ सहकारीले लगानी गरेको ऋण समयमा उठ्न सकेन । सहकारीको अभिभावकीय जिम्मेवारी पाएका निकायहरुले पनि समयमा सहकारीको पक्षमा बोलिदिएनन् । लगानी गरेको ऋण असुली नभइकन सदस्यलाई बचत फिर्ता गर्न पनि सकिँदैन । विश्वव्यापी रुपमा जारी भएको मापदण्ड र पल्र्सले १५ देखि २० प्रतिशत तरलता राखेर बाँकी रकम परिचालन गर्न भनेको छ । २० प्रतिशतसम्म तरलता राखेको संस्थाले लगानी गरेको ऋण असुली नभइकन सदस्यको बचत फिर्ता गर्न सक्ने स्थिति हुँदैन ।

त्यसकारण लगानीको भएको ऋण असुली नभई बचत फिर्ताको एकै पटक माग आउदा राम्रा संस्थाहरुमा पनि केही प्रभाव पर्यो । राज्यले सहकारी क्षेत्रमा वित्तीय स्वार्थले प्रवेश गरेका छद्मभेषीहरुलाई समयमा पहिचान गर्न सकेन । अर्कोतर्फ सहकारी संस्थालाई असिमित रुपमा कार्यक्षेत्र दिइयो । काठमाडौंमा केन्द्रीय कार्यालय र देशभर सेवा केन्द्र खोल्न दिएर बचत संकलन गरेका छन् । जुन प्रकृतिको सहकारी संस्था भए पनि बचत ऋणको कारोबारलाई मुख्य कारोबार बनाए । यस्ता कुरालाई समयमा नै नियन्त्रण गर्न नसक्दा र गैर वित्तीय क्षेत्रमा कुनै व्यक्तिले परिवारको नाममा गरेको लगानी डुबेको छ । यसले सहकारी क्षेत्रमा शंकाको अवस्था सृजना भयो । पछिल्लो समय ऋण तिर्नु पर्दैन भनेर केही व्यक्तिले आन्दोलन नै चलाए । यसले सर्वसाधरण जनतामा लिएको ऋण तिर्नु पर्दैन रे, सरकारले मिनाह गरिदिन्छ भन्ने कुराले पनि ऋण असुलीमा समस्या भयो । ऋणीहरु ऋण मिनाह हुन्छ भने ठिकै छ नि भनेर बसे ।

अर्कोतर्फ गैर क्षेत्रमा लगानी बढाइयो र पैसा त्यहाँ गएर फस्यो, चाहेर पनि सञ्चालकहरुले फिर्ता गर्न सकेनन् । सहकारीहरुमा सञ्चालकहरुलाई सदस्यले नियन्त्रण गर्ने कुरा कमजोर भयो । साधारण सभामा सदस्यको सर्वोच्चतालाई ती संस्थाले कायम गरेका थिएनन् । लेखा समिति पनि पारिवारिक संरचना बनाइएको थियो । पारिवारिक  संरचनाले गर्दा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुनगयो । यी नै कुराले गर्दा सहकारी क्षेत्रमा अविश्वासको वातावरण सृजना भयो । सहकारी सिद्धान्त, मूल्यमान्यता, विनियम र नियमावलीको अधिनमा रहेर संस्था सञ्चालन गर्नुपर्छ । त्यसका साथै सदस्यहरुको निर्णयको प्राथमिकतालाई कार्यान्वयन गर्दै सञ्चालक समितले बेथिति गर्न लागे भने लेखा समितिले सदस्यहरुलाई सुसूचित गर्दै अगाडि बढ्न सके संस्थाहरु सबल हुन्छन् । 

(कुराकानीमा आधारित)