गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले पद तथा गोपनियताको शपथ लिएका छन् । सपथग्रहण पश्चात बोल्दै उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै विकास बैंकको मिति २०८० चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाललाई विदाइ समेत गरिएको थियो । ढकालले १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।
बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले बैंकलाई यो उचाईसम्म पु¥याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा व्यक्त गरेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालपत्र संवाददाता