मंगलबार, कार्तिक ११ गते २०८३

पाँच तारा सहकारीको सम्मानले ज्येष्ठ सदस्य दंग

चैत्र ३०, २०८० शुक्रबार
पाँच तारा सहकारीको सम्मानले ज्येष्ठ सदस्य दंग

 

सहकारी संस्थाहरु सदस्य केन्द्रीयताको अभावले समस्यामा पर्दै गइरहेको बेला पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले भने फरक गतिविधि गर्दै आएको छ । सदस्य र समुदाय केन्द्रीत हुन नसकेका सहकारीमा पछिल्लो समस्या आएको भए पनि पाँच तारा सहकारीले भने सदस्यलाई नै पहिलो प्राथमिकतामा राखेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । 

संस्थामा आवद्ध सदस्यहरुलाई उनीहरुको उमेर समुह अनुसार विभिन्न विधामा जोडेर सहकारी अगाडि बढेको छ । यसै क्रममा संस्थाले जेष्ठ सदस्यलाई सम्मान तथा भत्ता वितरण कार्यक्रम गरेको छ । संस्थाले १६ औं बार्षिकोत्सवको अवसरमा आज एक कार्यक्रमको आयोजना गरी ७० बर्ष माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै भत्ता वितरण गरेको हो । संस्थाले स्थापना दिवसको अवसर पारेर औपचारिक कार्यक्रमको आयोजना गरी ७५ बर्ष माथिका ५ जना सदस्यलाई खादामाला, प्रमाणपत्र, भत्ता र पोषणयुक्त खाने कुरा प्रदान गरेको छ भने ७० वर्ष माथिका ४८ जना सदस्हरुलाई २ हजारको दरले भत्ता प्रदान गरेको छ । 

संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले प्रदान गरेको सम्मान तथा भत्ताले जेष्ठ सदस्यहरु दङ्ग देखिए । सदस्यहरुले सहकारी भनेको पाँच तारा जस्तो हुनुपर्ने र अरु सहकारीले पनि पाँच तारा बाट सिक्नु पर्ने बताए । स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुलाई सम्झेर सम्मान गरेकोमा उनीहरुले खुशी हुँदै संस्थाको प्रशंसा गरे । सहकारीप्रति समाजमा भ्रम फैलाइएको भन्दै उनीहरुले त्यसको सामना गर्नुपर्ने र संस्थाको बारेमा अरुले नराम्रो भने पनि बुझेर मात्र प्रतिक्रिया दिनुपर्ने जनाए । पाँच तारा सबै सदस्यको संस्था भएकाले बजारमा आएको नकारात्मक हल्लाको पछाडी नलागी संस्थालाई अझ बलियो र मजबुत बनाउन लाग्नुपर्ने सदस्यहरुको भनाई थियो । 

संस्थाका सल्लाहकार तथा सम्मानित मध्येका एक सदस्य मदनराज घिमिरेले बजारमा सहकारीप्रति फरक धारणा विकास भएको भन्दै त्यसलाई निरुपण गर्न सबै सदस्य लाग्नु पर्ने बताए । पाँच तारा सहकारीलाई यस भेगकै नमुना संस्था बनाउन सकिने भन्दै उनले यसका लागि सदस्यहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए  । सक्रिय सदस्य भए मात्र सहकारी राम्रो हुने हुँदा सबै सदस्य सोही अनुरुप अगाडि बढ्नुपर्ने उनको भनाई छ । त्यसैगरी अर्का सम्मानित व्यक्ति तथा संस्थाका सदस्य डम्बर बहादुर तुम्बाहाम्फेले पाँच तारा सहकारीले अन्य संस्थाको तुलनामा धेरै राम्रो काम गर्दै आएको बताए । उमेरले ७५ बर्ष नाघेका तुम्बाहाम्फे पाँच ताराले एटीएम लगायत विविध सेवा ल्याएकाले आफु सदस्यको बनेको जनाए । आफुलाई पैसा चाँहिदा एटीएमबाट झिक्ने गरेको र घर छेउमा नै संस्था भएकाले सेवा लिन सजिलो भएको उनले बताए । संस्थाले हरेक उमेर समुहका सदस्यहरुलाई समेटेर विभिन्न कार्यक्रम गर्दै आएको र जेष्ठ सदस्यहरुलाई सम्झेर सम्मान गरेकोमा उनले खुशी प्रकट गरे । 

संस्थाका सञ्चालक समिति र ऋण उप समितिले पारदर्शिता कायम गर्दै संस्था सञ्चालन गर्दा समस्या नआउने उनको भनाई छ । कतिपय संस्थाहरुले जथाभावी ऋण लगानी गरेकाले असुलीमा गर्न नसक्दा पनि समस्या आएको भन्दै उनले गलत ठाउँमा ऋण लगानी नगर्न आग्रह गरे । मुलुकका लागी सहकारी आवश्यक रहेको भन्दै उनले अर्थतन्त्रलाई माथि उठाउने खम्बा नै सहकारी भएको जिकिर गरे । सहकारीमार्फत् तराईको जमिनलाई एकीकृत गरी आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्न सके कृषिमा मुलुक आत्मनिर्भर हुन सक्ने उनको भनाई छ । 

five star news 30 (2).JPG

सदस्यहरुले इमानदारीपूर्वक कारोबार गरे सहकारीमा समस्या नै नआउने उनको बुझाई छ । संस्थाकी सदस्य उर्मिला घिमिरेले सदस्यहरुको सामुहिक प्रयासबाट मात्रै संस्थालाई माथि लैजान सकिने बताईन् । संस्थालाई अगाडि बढाउन सदस्यहरु नै सक्रिय हुनुपर्ने र संस्थाका हरेक गतिविधिमा सहभागिता जनाउनु पर्ने उनको धारणा छ । संस्थाले जेष्ठ सदस्यलाई गरेको सम्मानले आफु खुशी भएको भन्दै उनले यस्ता सम्मानले संस्थाप्रति सदस्यको अपनत्व बढेर जाने बताइन् । 

संस्थाका अध्यक्ष भोला नाथ पाठकले ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने नाराका साथ २०७२ सालदेखि संस्थाले जेष्ठ सदस्यलाई सम्मान गर्दै आएको बताए । अरुहरुलाई देखाउन भन्दा पनि सदस्यहरुको सम्मानका लागि अन्तरआत्मादेखि नै संस्थाले सम्मान गर्ने गरेको उनको भनाई छ । यसका साथै संस्थाले सहकारी अभियानका अग्रजहरुलाई पनि सम्मानको थालनी पाँच ताराले नै सुरु गरेको उनले बताए । संस्थाले गर्दै आएको सहकारी अभियन्ता सम्मानलाई यस बर्षको लागि मात्र स्थगित गरेको र आगामी बर्षदेखि यसलाई फरक ढंगले अगाडि बढाउने पाठकको भनाइ छ । अभियन्ता सम्मानलाई अगाडि बढाउन पहिलो पाँच तारा व्यक्तित्वबाट सम्मानित भएका राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको र समितिले सिफारिस गरेको व्यक्तिलाई सम्मान गर्दै जाने उनले जानकारी दिए । सदस्यहरुलाई जागरुक गराउन संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको उनले जनाए । 

सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न संस्थाले मोबाईल बैकिङ्ग, एटीएम सेवा र फन्ड ट्रान्सफर लगायतका थुप्रै सुविधा सञ्चालनमा ल्याएको उनले बताए । संस्थाले विभिन्न समिति तथा उप समिति बनाएर अगाडि बढेको र  क्रमशः नेतृत्व हस्तान्तरण गर्दै जाने पाठकले जनाए ।  संस्थालाई आजको दिनसम्म राम्रो बनाउन लागिपरेको र भोलिका लागि योजना बनाएर अगाडी बढ्ने उनले उल्लेख गरे । संस्थाको समग्र कारोबारलाई बढोत्तरी गर्न सदस्यहरुको साथ र सहयोग आवश्यक पर्ने भन्दै उनले सबैलाई क्रियाशील हुन आग्रह गरे । २०६४ सालमा यस भेगमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नभएको र वित्तीय कारोबार गर्न कोटेश्वर नै जानुपर्ने अवस्था रहेकाले त्यसको अन्त्य गर्न सहकारी सुरु गरेको उनले जनाए । 

संस्थाका सञ्चालक सुशील प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष विजय मल्लले स्वागत मन्तब्य र सचिव लोचनहरि प्रसाईंले धन्यवाद ज्ञापन गरेका थिए । संस्थाले सो अवसरमा १० पटक सम्म रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई विशेष सम्मान र ५ पटक सम्म रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का प्रदान गरेको थियो । संस्थाले हरेक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो र स्मारिकाको समेत सोही अवसरमा लोकार्पण गरेको छ । संस्थाले स्थापना दिवसका अवसर पारेर चैत्र २० गतेदेखि साताव्यापी रुपमा रक्तदान, वृद्धवृद्धालाई भोजनदान, फुटसल प्रतियोगिता, सहकारी अन्तरक्रिया, कविता गोष्ठी जस्ता रचनात्मक कार्यक्रम गरेको छ । 

five star news 30 (1).JPG