बैशाख महिनाका लागि मुद्दतीको ब्याजदर ७.१ प्रतिशतमा आइपुगेको छ। अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका कारण मुद्दती बचतमा दिइने औसत ब्याजदर ७.१ प्रतिशतमा झरेको हो । चैत्र महिनामा यस्तो ब्याजदर ७.२५ प्रतिशत थियो ।
तरलता रकम बढ्दै गएसँगै केहि महिनायता बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै आएका छन् । बैंकिङ प्रणालीमा ५ खर्ब बढी लगानीयोग्य रकम रहेको तर कर्जाको उल्लेख्य माग नरहेकाले ब्याजदर घटाउनु परेको बैंकर्सहरूको भनाइ छ ।
मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर औसत ७.१ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ भने ०.१५ प्रतिशत घटेर ५.९ प्रतिशतमा झरेको छ । यसअघि चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ७.२५ प्रतिशत थियो भनेर संस्थागततर्फ ६.०५ प्रतिशत थियो ।
बैशाख महिनाका लागि एभरेष्ट बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका हुन् । एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
ब्यक्तिगततर्फ सबैभन्दा कम ब्याजदर राष्ट्रिय बाणिज्य बैंकको ६.५५ भने कृषि विकास बैंकको ६.६६६ प्रतिशत र नेपाल बैंकको ६.७५ रहेको छ । सबैभन्दा बढी एनएमबी बैंकको ब्याजदर ७.९७ प्रतिशत रहेको छ भने एनआइसी एशियाले ७.७५ प्रतिशत कायम गरेको छ । अन्य वाणिज्य बैंकले ७ देखि ७.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।