शनिबार, आश्विन १७ गते २०८३

वित्तीय ठगी हुनसक्ने भन्दै व्यक्तिगत विवरण तथा कागजात सुरक्षित राख्न राष्ट्र बैंकको अपील

चैत्र १३, २०८० मंगलबार
वित्तीय ठगी हुनसक्ने भन्दै व्यक्तिगत विवरण तथा कागजात सुरक्षित राख्न राष्ट्र बैंकको अपील

नेपाल राष्ट्र बैंकले वित्तीय ठगीको जोखिम हुने भन्दै आफ्ना महत्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात सुरक्षित र गोप्य राख्न सजग गराएको छ । 

अरू कसैको नागरिकता, फोटो, टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरूपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने, बेटिङसम्बन्धी कारोबार गर्ने, यस्ता गैरकानुनी कारोबारमा समस्या भए मद्दत गर्छु भनी ठगी गर्ने, डर त्रास देखाई रकम असुली गर्ने, विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको पाइएको भन्दै महत्वपूर्ण जानकारी गोप्य राख्न भनेको हो । 

छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बर, क्यूआर, ओ टी पी, पिन कोड, पासवर्ड जस्ता आफ्ना गोप्य विवरण अरु कसैलाई नदिन समेत सूचनामा सचेत गराइएको छ । 

बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाको गुनासो सुन्ने अधिकारीसँग सम्पर्क गरी गुनासो दर्ता गराउन राष्ट्र बैंकको सुझाव रहेको छ ।