आइतबार, आश्विन १८ गते २०८३

सहकारी डिजिटलाइजेशनमा जान अपरिहार्य भएपनि नीतिगत स्पष्टताको अभाव छ


चैत्र ६, २०८० मंगलबार
सहकारी डिजिटलाइजेशनमा जान अपरिहार्य भएपनि नीतिगत स्पष्टताको अभाव छ


राष्ट्रिय सहकारी महासंघको आयोजनामा हालै दुईदिने डिजिटल कन्क्लेभ सम्पन्न भएको छ । सहकारी क्षेत्र पनि प्रविधिमैत्री हुँदै जानुपर्छ र सन् २०३० सम्म सबै सहकारीले प्रविधिमा आधारित भएर सदस्यलाई सेवा दिनुपर्छ भन्ने उद्देश्यले महासंघले पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको हो । देशभरका २ सय सहकारीकर्मीको सहभागितामा भएको कन्क्लेभका केहि सहभागीहरुलाई हामीले कार्यक्रम कस्तो रह्यो र केकस्तो उपलब्धी भयो भनेर सोधेका थियौं । उहाँहरुसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

 

सन् २०३० सम्म सहकारीलाई पूर्णरुपमा डिजिटलाइज गरिसक्छौं 

जीवलाल तिवारी, प्रमुख कार्यकारी अधिकृत, किसान साकोस, गैंडाकोट

अहिलेको चुनौतिलाई समाधान गरेर अगाडि बढ्नका लागि डिजिटल कन्क्लेभ आयोजना गरिएको हो । जे जति विषयवस्तु कन्क्लेभमा उठान भएका छन्, ती विषयहरु हामीलाई फिल्डमा गएर काम गर्न सहयोग पुग्ने खालका छन् । वर्तमान समयका चुनौतिहरुलाई सामना गरेर कसरी अगाडि बढ्ने भन्ने रणनीति तयार गर्न उपयुक्त विषयवस्तु हामीले पाएका छौं । साइबर सुरक्षाको कुरा नयाँ जस्तै हो । ग्रामीण क्षेत्रमा यसलाई नयाँ नै मान्नुपर्छ । खोजेको कुरा शत्प्रतिशत् नभएपनि गन्तब्यउन्मुख कार्यक्रम भएको छ । सन् २०३० सम्म सहकारीलाई डिजिटलाइज गर्ने कुरा त्यति सहज छ्रैन । नीतिले सहकारीलाई प्रविधिमा जोड्न सकिराखेको छैन । नीतिगत स्पष्टता छैन । कुनै सहकारी प्रविधि प्रयोगमा निक्कै अगाडि पनि छन् । कन्क्लेभमा जेजति विषयवस्तु उठान भएका छन् ती मध्ये किसान साकोसले धेरै कुरामा काम गरिसकेको छ । डिजिटलाइजेशनको कुरा लामो समयदेखि गर्दै आएका छौ र सन् २०३० सम्ममा पूर्ण रुपमा सहकारीलई डिजिटलाइजेशनमा लगिसक्छौं । किसान साकोसले क्युआर, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ र एटिएम सेवा सञ्चालन गर्दै आएको छ । संस्थामा धेरैथरिका सदस्य छन् । कोही सदस्य अहिले पनि मोबाइल बैंकिङ सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । उनीहरुलाई लक्षित गरेर यो महिनामा मात्रै ३० वटा वित्तीय र प्रविधि साक्षरता सम्बन्धी कार्यक्रम गरेका छौं । अहिले हामीले सदस्यलाई प्रविधिमैत्री बनाउन सकेनौं भने सन् २०३० सम्म बाँच्न सक्दैनौं ।

नयाँ प्रविधिलाई आत्मसात गरेर गइयो भने संस्थाहरुलाई अगाडि बढाउन सक्छौं । यो कुरा हामीले बुझिसकेका छौं । त्यही हिसाबले काम गरिराखेका छौं । अहिले कन्क्लेभमा शुल्क तिर्न सक्ने संस्था मात्र आएका होलान् । ३२ हजार सहकारीलाई नै प्रविधिमा जोड्नुपर्ने छ । यस्तो कार्यक्रमलाई प्रदेशस्तरमा समेत आयोजना गरेर धेरैभन्दा धेरै संस्थालाई डिजिटलाइजेशनको आवश्यकताका बारेमा बुझाउनुपर्छ । किसान सहकारीमा ८४ हजार सदस्य छन् । २६ वटा सेवाकेन्द्रमार्फत् सदस्यलाई सेवा दिइराखेका छौं । कोभिड पछि हामी ‘ब्याक टु मेम्बर’ मा गएका छौं । सदस्यलाई संस्था आफ्नो हो भन्ने अनुभव दिलाउन हामी सफल भयौं । हामीसँग पर्याप्त तरलता छ । सदस्यले अहिले पनि बचत ल्याईराखेका छन् । अर्थतन्त्र नै चलायमान छैन । यसले गर्दा ऋण असुलीमा केहि समस्या छ । तर सुधारउन्मुख हुँदै गएको अवस्था भने छ । सदस्यलाई संस्था मेरो हो भन्ने बनाउन सकियो भने सहकारीमा समस्या आउँदैन । 

अघिल्लो महिनाको डाटा अनुसार करिब २५ हजार सदस्यले हाम्रो मोबाइल बैंकिङ प्रयोग गर्छन् । ३ हजार एटिएम कार्ड वितरण गरेका छौं विगतमा भुक्तानी पुर्जाबाट कारोबार हुन्थ्यो अहिले इ–बैंकिङबाट धेरै कारोबार हुन थालेको छ । हामीले सिबीएस र अन्य भेन्डरहरुसँग जोडिएर कारोबार गर्छौं । राष्ट्र बैंकले हामीलाई हेर्दैन । विभागले त्यहि खातापातामा नै बस भन्छ । विभागसँग बसेर कुरा गर्‍यो भने किन ठूलो हुनुपर्‍यो दुइचार हजार सदस्यको बीचमा कारोबार गर्नुस् भनेजस्तो जवाफ आउँछ । नियमनकारी निकायलाई नै हामीले सहकारी बुझाउन सकिराखेका छैनौं । पोलिसी बनाउने उहाँहरुले हो । कसरी सहकारीमैत्री बन्छ त ? एउटा समय थियो सहकारी पढाउने र बुझाउने । अब नीतिगत रुपमा बलियो हुने बेला आएको छ । राष्ट्र बैंकले प्रत्यक्ष निरीक्षण नगरेपनि यतातर्फ चासो देखाएको छ । सहकारीका लागि बलियो नीति बन्ने हाम्रो अपेक्षा छ । 

 

डिजिटल कन्क्लेभ प्रविधिका क्षेत्रमा भएका उपलबधी र आइडिया शेयर गर्ने प्लाटफर्म बन्यो

बीरेन्द्र कुमार बलामी, अध्यक्ष, गोपालेश्वर सामुदायिक साकोस, दक्षिणकाली

कतिपय संस्थाले डिजिटलाइजेशन अवलम्बन गरेकाले राम्रा भए भन्ने महासंघलाई लागेपछि सबै संस्थालाई डिजिटाइजेशन गरेर जानुपर्छ भनेर यो कार्यक्रम गरिएको हो । डिजिटल कन्क्लेभ प्रविधिका क्षेत्रमा भएका उपलब्धी र आइडियालाई शेयर गर्ने प्लाटफर्म भएको छ । जे जति विपयमा छलफल भयो त्यसबाट धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिल्यो । कार्यक्रमबाट उपलब्धी हासिल गर्न सक्ने मैले महशुस गरेको छु । पहिलो कन्क्लेभ भएकाले यो भन्दा बढी अपेक्षा गर्नुपनि भएन । यो भन्दा बढी कुरा दोश्रो, तेश्रो कन्क्लेभमा आउँछ नै होला । 

हिजोआज सहकारीलाई हेर्ने र ब्याख्या गर्ने दृष्टिकोणमा फरक आइरहँदा सहकारी क्षेत्रपनि परिवर्तित भएर डिजिटलाइज हुन सक्ने रहेछन् भन्ने सन्देश दिएको छ । दुई सय भन्दा बढी संस्थाका प्रतिनिधि सहभागि भएकाले सिकेको कुरालाई बिर्सने होइन संस्थाका कार्यान्वायन गरेर जानुपर्छ । यसले संस्थामा राम्रो प्रभाव पार्छ भन्ने लाग्छ । तर डिजिटलाइजेशनमा नजाँदैमा सहकारी नै सकिन्छ भन्ने मलाई लाग्दैन । सहकारीको जन्म कहाँ भयो र सहकारी कसका लागि हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । पहिला जस्तो थियो, त्यही अवस्थामा रहन सक्छ । प्रतिस्पर्धाका हिसाबले जाँदा धेरै सदस्यलाई समेट्न नसकिएला, धेरै ठाउँमा फैलिन नसकिएला र तर कुनै एउटा निश्चित सिमान्तिकृत क्षेत्र सहकारी रहन्छ । प्रविधि प्रयोग नगरेका कारण सहकारी नै सकिने भन्ने कुरा ठिक होइन । 

अहिलेको अवस्थामा यस्ता कार्यक्रम आवश्यक छ । सेलाएर बसेको महासंघ र जिल्ला संघहरु छन् । संस्थाहरु प्रविधिमैत्री हुन सकिराखेका छैनन् । यस्ताखाले कार्यक्रमहरु भइरह्यो भने यसले सहकारी जगतमा नयाँ आयाम थप्छ । अन्तर्राष्ट्रिय स्तरका सहकारीको जुन स्ट्याण्डर्ड छ, त्यो स्टाण्डर्ड मेन्टेन गर्नका लागि नेपालको सहकारी संस्थाहरुमा पनि सक्षमता बढाउँछ । यस्ता कार्यक्रम अत्यावश्यक छ र हुनुपर्छ । सहकारीकर्मीले नै सफ्टवेयर र डिजिटलाइजेशनको उत्पादन गर्नुपर्ने हो । आइटी विज्ञहरु सहकारी क्षेत्रमा प्रवेश गरेर त्यसको उत्पादन गरी यो क्षेत्रमा लगाउन सके राम्रो हुन्छ । सहकारीमा डिजिटल प्रविधिको प्रयोग गर्ने हो भने लागत कम हुनुपर्छ । सहज, सरल र सुलभ तरिकाबाट आउनुपर्छ र त्यसका लागि राज्यले पनि नीतिमा लेखिदिनुपर्छ । नीतिगत रुपमा सबैको पहुँच पुग्न सक्ने गरी सुलभ मुल्यमा गुणस्तरीय प्रविधि लैजानुपर्छ भन्ने व्यवस्था हुन सके सहकारीहरुले सजहज रुपमा प्राप्त गर्न सक्छन् । यसलाई बिजनेश मात्र बनाउने र राज्यले नहेर्ने तथा जतिसक्दो महँगोमा बेच्ने काम मात्र भयो भने कार्यान्वयमा गाह्राे हुन्छ। सबैको लागि सहज नहुन पनि सक्छ।

हाम्रो सहकारी संस्थाले तल्लो तहसम्म सदस्यलाई आवद्ध गराएर कारोबार गर्दै आएको छ । संस्थाले १५–२० करोडको कारोबार गर्छ । २५ सयको हाराहारीमा सदस्य छन् । अक्स्पान सफ्टवेयरको प्रयोग गरिरहेका छौं । उक्त सफ्टवेयरले सदस्यहरुलाई चित्तबुझ्दो हरहिसाब देखाएको छ । सदस्यहरु सन्तुष्ट छन् । सदस्यहरुले नयाँ कुरा चाहने हुँदा कुन–कुन सेवा डिजिटलाइजेशन गर्न सकिन्छ भनेर सिक्न कन्क्लेभमा आएको हुँ । 

 

प्रविधिमा अपडेट हुनका लागि यस्ता कार्यक्रम भइरहनुपर्छ 

जयनाथ मण्डल, सीइओ, वैष्णवी बचत तथा ऋण सहकारी संस्था, जनकपुर

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने डिजिटल कन्क्लेभमा धेरै कुरा सिक्न र बुझ्न पाइयो । सबै क्षेत्रमा अहिले डिजिटलाइज्ड हुँदै गएको छ । हरेक क्षेत्रमा क्यासलेसको कुरा आइरहेको छ । कन्क्लेभमा मोबाइल बैंकिङ, फण्ड ट्रान्सफर तथा प्रविधिको प्रयोगको फाइदाका विषयमा सिकेर सदस्यलाई कसरी सेवा दिन सकिन्छ भन्ने कुराको ज्ञान हासिल हुनसक्यो । कन्क्लेभ उपलब्धीमूलक रह्यो । के कस्ता प्रविधिको प्रयोग गर्ने भन्ने कुराको जानकारी भयो । सबै कुरा एकै पटकमा बुझ्न र सिक्न सम्भव नभएकाले अर्कोपटक पनि यस्तो कार्यक्रम आयोजना गर्नुपर्ने हुन्छ । 

हामीले इन्फिनिटी सफ्टवेयर प्रयोग गरेका छौं भने मोबाइल बैंकिङ सेवा पनि शुरु गरिसकेका छौं । क्रमश: अन्य प्रविधिमा पनि जोडिँदै जाने संस्थाको रणनीति छ । यस्ता कार्यक्रम गर्न आवश्यक छ । वर्षको एकदुई वटा यस्ता कार्यक्रम हुनुपर्छ भन्ने लाग्छ । सबै संस्थाहरुलाई डिजिटलाइजेशनको महत्वको बारेमा बुझाउन आवश्यक छ । सबै सहकारीमा एकरुपता कायम गर्ने कुरा उठिराखेको छ । कतिपय ठाउँमा इन्टरनेट पुगेको छैन । विद्युतको समस्या छ । तराईमा कम्प्युटर अपरेटर र आइटीमा काम गर्ने मान्छे पाइँदैन । तर समयको माग नै प्रविधि भएकाले सहकारीहरु त्यसतर्फ अगाडि बढ्नुपर्छ । हाम्रो संस्थामा ६ हजार सदस्य छन् । हामी प्रविधिको प्रयोगको शुरुवातमा नै छौं । चारपाँच सयले मोबाइल बैंकिङ प्रयोग गर्छन् । वित्तीय साक्षरतामार्फत् प्रविधिको प्रयोग बढाउँदै लान्छौं । कन्क्लेभमा सिकेका कुरा सदस्यलाई सिकाउनको लागि उपलब्धीमूलक बनेको छ । समुह बनाएर प्रविधि प्रयोगको बारेमा साक्षरता दिन्छौं । अब टेक्नोलोजीको समय आएको र पहिलाको जस्तो मालपोतमा ढड्डा पल्टाएर सेवा लिनदिन सम्भव छैन । सानो संस्थाले प्रविधिमा लागनी गर्न नसक्लात् तर १० करोड माथि कारोबार गरिरहेका संस्थालाई प्रविधिमा जोडिनु राम्रो हुन्छ। 

हाम्रो संस्थाको ८० करोड कुल सम्पति पुगेको छ । ६ करोड शेयर पुँजी छ । संस्थाले आफ्नै भवन बनाएर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । दुर्गा प्रसाईको आन्दोलनका कारण कतिपय सदस्यले सहकारीको ऋण मिनाहा हुन्छ भन्दै तिर्न मानिरहेका थिएनन् । फेसबुकको जमान रहेकाले ससानो कुरा सदस्यले छिट्टै थाहा पाउँछन् । कतिपयले ऋण माफ हुन्छ भनेर किस्ता बुझाउन ढिलाई गरिरहेका छन् । हामीले घरदैलोमा गएर वास्तविक कुरा बुझाएर ऋण उठाउँदै आएका छौं । संस्थामा भाका नाघेको ऋण कम छ । संस्थामा बचत आइराखेको छ  र अविश्वासको कुनै बातावरण बनेको छैन । समुदायको संस्था भएकाले पनि कारोबार गर्न सजिलो भएको छ ।