शुक्रबार, कार्तिक ७ गते २०८३

प्रविधिको प्रयोगले संस्थागत लागत घट्न गई सदस्यलाई बढी सेवा दिने सकिन्छः सिइओ पौडेल

चैत्र १, २०८० बिहीबार
प्रविधिको प्रयोगले संस्थागत लागत घट्न गई सदस्यलाई बढी  सेवा दिने सकिन्छः सिइओ पौडेल

 विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ )माधव प्रसाद पौडेलले अहिले सहकारीमा प्रविधिको प्रयोग बढेर गएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा प्रविधि प्रयोगको अनुभव साट्दै उनले विकु साकोसले पहिलो पटक सहकारी क्षेत्रमा एटीएम सञ्चालनमा ल्याएको बताए ।

प्रविधिमा लगानी गर्न बढाउन सके लामो समयसम्म सेवा प्रदानमा विश्वसनीयता कायम गर्न सकिने उनले बताए । प्रविधिको प्रयोगले संस्थागत लागत घट्न गई सदस्यलाई बढी भन्दा बढी सेवा दिने सकिने उनको भनाई छ । उमेर, आयस्तर, भौगोलिक स्थान लगायतका कारण डिजिटल प्रविधिको पहुँचमा असमानता छन् । प्रविधिमा जाँदा लागत बढ्ने जस्ता समस्या हुने गरेको उनको भनाई छ । सहकारीमा प्रविधि प्रयोगका लागि कर्मचारी र सदस्यलाई तालिम, प्रशिक्षण आवश्यक हुने, नयाँ डिजिटल प्रविधिको पहुँच, अप्रयाप्त ईन्टरनेट सुविधा, ईन्टरनेट जडान र डिभाईसको सिमित पहुँच जस्ता चुनौती रहेको उनले सुनाए ।

प्रविधिको सुरु गर्दा सदस्यलाई बुझाउन समस्या भएको बताउँदै उनले एकीकृत सिस्टमको अभाव र सरोकारवाला निकायका कारण पनि डिजिटलमा जान सुरुमा समस्या हुने गरेको गुनासो गरे । प्रविधिमा जान डेडिकेटेड ईन्टरनेट चाहिने, लागत कम हुनुपर्ने, दक्ष जनशक्ति, भौतिक पुर्वाधार, प्रविधि साक्षरता जस्ता थुप्र कुराको आवश्यक भएको उनले औंल्याए । सबै सहकारीलाई डिजिटलमा लैजान सके नियमन सजिलो हुने तर, प्रविधिमा जाँदा साईबर सुरक्षामा ध्यान दिन भने आवश्यक छ ।

विकूले स्मार्ट बैकिङ चलाएको र त्यसमा फिचर थाप्दै गएको, मिसकल बैकिङको सेवा दिएको उनले जानकारी दिए । १ लाख ३० हजार सदस्य मध्ये १ लाख १० हजारको डकुमेन्ट डिजिटल गराउने क्रममा रहेको उनको भनाई छ । राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष मिनराज कंडेलले अब सहकारी डिजिटलमा जान आवश्यक रहेको बताए । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोगका बिषयमा बिकु सहकारीबाट धेरै सिक्न सकिने बताए । अब डिजिटलमा नजाने हो भने सहकारीको अस्तित्वमा प्रश्न उठ्ने उनको भनाई छ । २०३० मा सबै सदस्य प्रविधिमैत्री हुनेछन भन्ने लक्ष्य रहेको र सोेही अनुसार काम गर्न आवश्यक रहेको छ ।

अब २०३० सम्म प्रविधि मैत्री हुनै पर्ने भएका कारण यसको नेतृत्व महासंघले गर्ने कँडेलले बताए । यसका लागि कानुनी बाधा भए त्यो फुकाउनु पर्ने र निजी कम्पनीलाई पिएसओ र पिएसपि सेवा दिने सरकारले सहकारीलाई नदिएको उनको गुनासो छ । सबै सदस्यलाई प्रविधिमैत्री बनाउन राज्यको सहयोग अपरिहार्य रहेको उनको बुझाई छ । सोही कार्यक्रममा टिप्पणाी गर्दै महासंघका सन्चालक परितोष पौडेलले राज्यसँग  राष्ट्रिय भुक्तानी प्रणालीमा जोड्ने बिषयमा पटक पटक छलफल भएको र त्यसमा कानुन तथा मौद्रिक नीति बाधक भएको बताए ।

यसमा साईबर सुरक्षा पनि जोडिने भन्दै उनले सहकारीलाई पिएसपी र पिएसओ चलाउन नदिएको उल्लेख गरे । महासंघले पिएसओ र पिएसपी सहकारीले चलाउन सक्नेगरी लबिङ गरिरहेको उनले सुनाए । अहिले बजारमा ३५० सफ्ट्वेयर प्रयोगमा रहेको र निश्चित मापदण्ड पूरा गरेका कम्पनीसँग महासंघ जोडिएर जाने उनले बताए ।मकवानपुर बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले सफ्टवेयरमा जाँदा सुरुमा निकै चुनौतीपुर्ण रहेको बताईन् । कर्मचारीले काम सिक्न थालेपछि उनीहरुलाई कार्यालयमा निरन्तरता दिन समस्या रहेको र अन्य संस्थामा सुविधा पाएर जाने गरेको बताइन् । कतिपय संस्थाले मापदण्ड पुरा नगरेका प्रविधिको प्रयोगले आफन्तले लिएको ऋणको ब्याज कम देखाउने जस्ता समस्या रहेको स्मरण गरिन् । एउटै युजर धेरैले प्रयोग गर्दा केही समस्या आएको र एकले अर्कोलाई आरोप प्रत्यारोप गरेरस समस्याबाट पन्छिने गरेको उनले उल्लेख गरिन् । प्रविधिको प्रयोग गर्दा पनि सय बित्दै जाँदा सिस्टम ढिलो चल्ने जस्ता समस्या आउने गरेको उनको गुनासो छ । एम बैंकका सिईओ सञ्जय महासेठले धेरै सहकारी क्लाउड बेसमा रहेको बताए । सहकारीमा डिजिटल पढाइ, अभ्यासको कमि रहेको र यसका लागि नितिगत सुरक्षाका साथै अपडेटेड सिस्टम प्रयोग गर्नुपर्ने तथा सिस्टम अडिट, ह्याकरको समस्याका बारेमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

जनकल्याण बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णकान्त मिश्रले अब सहकारी मेनुअलबाट सिस्टममा जानू पर्ने बताए । यसका नीतिगत चुनौती रहेको र डिजिटलमा जाँदा भोग्नुपर्ने चुनौतीका लागि आवश्यक नीति निर्माणमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिए ।बजारमा रहेका सफ्टवेयरमध्ये कुन प्रयोग गर्ने भनेर लिस्टेड गर्न महासंघलाई उनले आग्रह गरे । सहकारीले आफ्नोे डाटा आफ्नै सर्भरमा राख्न उनले सुझाव दिए । सिनर्जी टेक्नोलोजीका सिईओ देवेन्द्र खड्काले प्रविधिमा जाँदा थर्ड पार्टीबाट सिस्टम अडिट गर्ने, अपडेटेड सिस्टम राख्ने लगायतका कुरामा ध्यान दिनुपर्ने बताए । विश्व एआईमा जान थालेको भन्दै अब प्रविधिमा जान ढिला भइसकेको उनको भनाई छ । सफ्टवेयर भित्र बसेर काम गर्दा पारदर्शी हुने, सबै सिस्टम सुध्रिने हुँदा त्यसका लागि आवश्यक नितिगत व्यवस्था गर्न आवश्यक रहेको उनको धारणा छ ।

प्रविधिमा प्रयोग गर्ने संस्थाको ग्रोथ भएको उनको अनुभव छ । नेपालको सहकारी अभियानमा डिजिटल सहकारीको सुरुवात नवलपरासी जिल्लामा रहेको विकु बचत तथा ऋण सहकारी सस्थाले गरेको हो ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता