शनिबार, आश्विन १७ गते २०८३

बाईसौं स्थापना दिवसमा बालकुमारी साकोसले गर्‍यो रक्तदान कार्यक्रम 

आश्विन ३, २०७८ आइतबार
बाईसौं स्थापना दिवसमा बालकुमारी साकोसले गर्‍यो रक्तदान कार्यक्रम 

मध्यपुर थिमीस्थित शंखधर चोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।  संस्थाको २२औं स्थापना दिवसको अवसरमा शंखधर चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

संस्थाले आयोजना गरेको सो कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारी एवं सदस्यहरु उपस्थित रहेका थिए ।

भक्तपुर रेडक्रसको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र र टिसर्ट प्रदान गरिएको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । रक्तदान जीवनदान भन्ने नाराका साथ रक्तदान गरिएको र संस्था स्थापना दिवसका अवसरमा हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

विभिन्न प्रकारका शल्यक्रिया, दुर्घटना, सुत्केरी लगायतका अन्य विमारीका लागि आवश्यक पर्ने रगतको अभाव पर्ने गरेको छ । पछिल्लो समय कोभिड १९ का कारण संघसंस्थाहरुले खुल्ला रुपमा रक्तदान कार्यक्रम गर्न नसक्दा झनै रगतको अभाव भइरहको छ । यस्तो अवस्थामा केहि मात्रमा भएपनि रगतको अभावलाई न्यूनिकरण गर्न पनि संस्थाले रक्तदान गरेको उनले जनाए । 

२२औं स्थापना दिवससम्म आइपुग्दा संस्थामा ५१०० सदस्य आवद्ध भइसकेका छन् भने १ अर्ब ७० करोडको कुल वासलात बनाउन संस्था सफल भएको छ । सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयनमा संस्थाले उल्लेख्य भूमिका खेलेको छ । सदाझैं सदस्य र समुदायको उन्नतिको लागि संस्थाले निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै जाने प्रतिवद्धता समेत जाहेर गरेको छ ।