शनिबार, आश्विन १७ गते २०८३

चैत महिनाका लागि १७ बैंकले घटाए ब्याजदर, एकले बढायो


फाल्गुण ३०, २०८० बुधबार
चैत महिनाका लागि १७ बैंकले घटाए ब्याजदर, एकले बढायो

 

चैत महिनाबाट लागु हुने गरी अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजको दर घटाएका छन्। २० वटा बाणिज्य बैंक मध्ये प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् भने एनआइसी एशियाले भने ब्याजदर बढाएको छ । 

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैत्र महिनामा   मुद्दती खातामा दिइने औसत ब्याजदर ७.२५ प्तिशत हुने देखिन्छ । फागुनमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेको थियो ।

बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

एनआईसी एसिया बैंकले फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको हो। मुद्दती खातामा दिने ब्याजदर सबैभन्दा बढी ८.५४८ प्रतिशत एनआइसी एशियाको रहेकाे छ । बैंकको बारेमा केहि विवाद भएपछि फागुन महिनामा एनआइसी एशियाबाट ग्राहकहरुले निक्षेप झिकेका थिए । थप निक्षेप आकर्षित गर्न सो बैंकले  ब्याजदर बढाएको देखिन्छ ।  

मुद्दती खातामा सबैभन्दा न्यून कृषि विकास बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ । त्यसपछि एभरेष्ट बैंकको ६.५ प्रतिशत रहेको छ । बाँकी बैंकहरुले ७ देखि ७.७५ प्रतिशतसम्म ब्याजदर कायम राखेका छन् ।