शहरी क्षेत्रमा रहेका कतिपय संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकेर सहकारीप्रति अविश्वास बढिरहेका बेला काठमाडौंको एक सहकारी संस्था भने फरक देखिएको छ। काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगल, पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थालाई भने सदस्यहरुले बैंकलाई भन्दा बढी विश्वास गरेका छन् । सहकारीप्रति सदस्यको विश्वासमा कमी आयो भनिरहँदा पाँच तारा सहकारीमा आवद्ध सदस्यहरुको विश्वास भने टुटेको छैन ।
महाभूकम्प, कोभिड महामारी र वित्तीय मन्दीका बीचमा पनि आफ्ना सदस्यहरुलाई सहज रुपमा निरन्तर वित्तीय सेवा प्रदान गरेकाले सदस्यहरुको विश्वास जित्न सफल भएको हो ।
कोभिड महामारीको समयमा बैंक तथा वित्तीय संस्थाले कार्यालय बन्द गरेर बसेको समयमा पनि पाँच तारा सहकारीले दिनहुँजसो कार्यालय खोलेर सेवा प्रदान गरेकाले संस्थाप्रति सदस्यको आकर्षण बढेर गएको हो । अर्को तर्फ मुलुकमा आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थालाई समेत तरलता व्यवस्थापन गर्न सकस भएको समयमा समेत सहकारीले आफ्ना सदस्यले मागेको बेला जति पनि रकम फिर्ता दिएर सदस्यको मन जित्न सकेको हो ।
संस्था कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुरा पाँच तारा बाट सिक्न आवश्यक रहेको सदस्यहरुले बताए । २०७३ सालमा पाँच तारा सहकारीमा सदस्य बनेकी तिर्थमाया श्रेष्ठ त्यसयता संस्थामा निरन्तर कारोबार गर्दै आएको बताउँछिन् । संस्थाले सञ्चालन गरेको नारी बचत, साधारण बचत, मासिक बचत, चाडपर्व बचत र गृहणी बचत लगायतका बचत योजनामा नियमित रुपमा आफुले बचत गर्दै आएको उनले बताईन् ।

पाँच तारा सहकारीको सेवा राम्रो लागेको र भुकम्प, कोभिड र मन्दीका बीचमा पनि निरन्रत संस्थाले सेवा प्रदान गरेको उनले बताईन् । विपत्को बेलामा अरु संस्थाले कार्यालय बन्द गर्दा समेत पाँच ताराले कार्यालय खोलेर गरेर सदस्यलाई सेवा दिएको भन्दै उनले पाँच तारामा नै विश्वास गरेर सम्पूर्ण वित्तीय कारोवार गर्दै आएको सुनाईन् । पाँच तारा प्रति ढुक्क रहेको अरु सहकारीले जस्तो सदस्यको बचत दुरुपयोग नगर्ने उनको भनाई छ । पाँच तारा बाट नै ऋण लिएर घर जग्गा खरिद र व्ययापार व्यवसाय गरेको र संस्थाको सहयोगले आर्थिक उन्नति गरेको उनले सुनाइन् । संस्थाले प्रदान गरेको उद्यमशीलता सम्बन्धी तालिममा सहभागी भएर बेकरी तालिम लिएको भन्दै उनले त्यसकै प्रभावको कारण थप तालिम लिएर वेकरी पसल सुरु गर्न लागेको उनको भनाई छ । आफ्नो खर्च कटाएर ससानो रकम जम्मा गर्दै जादाँ भविष्यका लागि ठुलो रकम जम्मा हुने भएकाले आफुहरुको लागि सहकारी बरदान सावित भएको उनले बताइन् ।
बैंकमा भन्दा पनि सेवा लिन सहकारीमा सजिलो भएको उनको अनुभव छ । आफुसँग भएको पैसा राख्न र चाहिएको बेला सजिलै ऋण लिन पाइने हुँदा सहकारीले सदस्यको जीवनस्तर बदलेको उनको अनुभव छ । पाँच ताराले सदस्यलाई केन्द्रमा राखेर सेवा दिएको र संस्थाका सेवाबाट आफु खुशी र सन्तुष्ट रहेको उनले सुनाइन् । बजारमा रहेका अरु सहकारीले बचत फिर्ता नगरेको र संस्थाको सञ्चालक भागेको सुने पनि पाँच ताराप्रति आफु पूर्ण रुपमा ढुक्क रहेको उनले जनाइन् ।
त्यसैगरी पाँच तारा सहकारीका अर्का सदस्य टेकराज पन्त पनि सहकारीप्रति ढुक्क भएर कारोबार गर्दै आएका छन् । सन् २०१६ को जुनमा सदस्य बनेका पन्त संस्थाको सम्पूर्ण गतिविधि र अवस्था बुझेर मात्र सदस्य बनेको बताउँछन् । संस्थाका सञ्चालक र कर्मचारीको लगनशीलता र मेहनतका कारण सदस्यहरुलाई राम्रो प्रतिफल दिँदै आएको र बचतमा समयसापेक्ष ब्याज दिनुका साथै शेयरमा राम्रो लाभांश दिने गरेको उनले बताए । संस्थाले सञ्चालन गरेको मासिक, ज्येष्ठ, नियमित, उद्यमशील जस्ता सबै खातामा नियमित रुपमा बचत गर्दै आएको उनले जानकारी दिए । पाँच तारा सहकारी राम्रो र विश्वासयोग्य रहेको भन्दै उनले सहकारी के हो भन्ने कुरा यस संस्थाबाट सिक्न सकिने जनाए । कतिपय सहकारीले सदस्यको बचतलाई आफुखुसी घरजग्गा र व्यक्तिगत व्यवसायमा लगानी गर्दा समस्या आएको उनको बुझाई छ । सहकारीको पैसालाई सदस्यमाझ नै लगानी गरे समस्या नआउने उनले सुनाए । स्वार्थी सञ्चालक र आफनो फाईदाका लागि मात्र लगानी गर्दा धेरै सहकारीमा समस्या आयो, उनले भने,‘ बजारमा सहकारी डुबेको र भागेको हल्ला आएपछि पाँच तारामा भएको पैसा भिक्न गएँ । संस्थाकी व्यवस्थापकलाई भेटेर पैसा झिकेर लैजानु पर्यो भन्दा उहाँले कति पैसा चाहिन्छ लैजानुन्, पुग्दैन भने संस्थाबाट ऋण पनि लैजानु भनेपछि म झन् प्रभावित भएँ । अरु सहकारीले जस्तै किन लैजानुहुन्छ भन्लान् भन्ने सोचेको थिएँ’, उनले थपे ‘आवश्यक भए थपेर लैजानुस् भनेपछि संस्थाप्रति झन विश्वास बढेर गयो, पैसा भिक्न आएको मान्छे नझिकी फर्किएँ ।’
संस्था सदस्यसँग नजिक हुने, हरेक गतिविधिमा सदस्यलाई सूचना दिएर कार्यक्रममा बोलाउने, सदस्यसँग सम्बन्ध राख्ने तथा सदस्यसँग दु:खसुख बाँढ्ने कुरा संस्थाको राम्रो पक्ष भएको उनले बताए । संस्थाले लगानी गर्दा राम्रो धितो लिन र ठिक ठाउँमा लगानी गर्न उनको आग्रह छ । त्यसैगरी राष्ट्र बैंक र सहकारी विभागले जारी गर्ने निर्देशन तथा ऐन नियमको अक्षरस: पालना गर्न उनले सुझाए । सदस्यको आर्थिकस्तर विकास गर्न व्यापारव्यवसायका साथै उद्यमशीलताको क्षेत्रमा लगानी गरे ऋण असुलीमा समस्या नहुने उनको बुझाई छ । सदस्यको विश्वास जितेर नयाँनयाँ योजना ल्याउन सके सहकारी र सदस्य दुबैको उन्नति हुने उनको भनाई छ ।
संस्थाका अर्का सदस्य भोज बहादुर श्रेष्ठ कतिपय सहकारीप्रति पहिला देखिनै विश्वास नलागे पनि पाँच ताराको बारेमा बुझेर मात्र सदस्य बनेकाले पूर्ण विश्वस्त रहेको बताउँछन् । आफुले सूर्य किरण ड्राङभिङ सेन्टर सञ्चालन गर्दै आएको र व्यवसाय सञ्चालन गर्न पनि सहकारीबाट ऋण लिएको उनले सुनाए । ससाना व्यवसायीको लागि त सहकारीले ठुलो सहयोग गरेको भन्दै उनले आफुसँग भएको ससानो रकम जम्मा गर्न र आवश्यकता पर्दा ऋण सुविधा लिन झनै सजिलो हुने उल्लेख गरे । पाँच ताराका सञ्चालक र कर्मचारीको व्यवहार बुझेर अरु संस्थालाई छोडेर यसमा सदस्य बनेको श्रेष्ठले सुनाए । संस्थामा सदस्य बनेपछि बुबा आमाको बैंकमा राख्ने बुढ्यौली बापतको केही पैसा पनि पाँच तारामा नै ल्याएर राखेको उनले बताए । उनी मात्र होईनले उनले श्रीमति र बुबा आमालाई पनि संस्थाको सदस्य बनाएर नियमित कारोबार गर्दै आएका छन् । बजारमा सहकारी भागेको समाचार आउन थालेपछि बुबा आमाले तेत्रो पैसा राखेको छ, संस्था भाग्ला भनेको भए पनि बा आमालाई ढुक्क हुन र पाँच तारा अरु जस्तो सहकारी नभएको भन्दै सम्झाएको उनले सुनाए । संस्थाको शेयर पुँजी, बचत संकलन, ऋण लगानी राम्रो रहेको र सञ्चालक तथा कर्मचारी पनि वित्तीय अनुशासनमा रहेर काम गर्ने भएकाले ढुक्क हुन भनेको उनले जनाए । ऋण लगानी गर्दा पनि प्रक्रिया पुर्याउने, सोर्सफोर्स र आफ्ना मान्छे भनेर ऋण लगानी नगर्ने भएकाले संस्था सुरक्षित रहेको भन्दै बुबा आमालाई समेत कन्भिन्स गरेको श्रेष्ठले उल्लेख गरे । बचतको आधारमा संस्थाले ऋण लगानी गर्ने गरेको भन्दै उनले अरु सहकारीमा खाता खोलेको भोलीपल्टै ऋण पाउने र ऋणको साँवाब्याज तिर्न सक्छ कि सक्दैन भन्ने विश्लेषण नै नगरी ऋण दिँदा पनि समस्यामा परेको उनको बुझाई छ । सदस्यले ऋण तिर्न सक्ने क्षमताको विश्लेषण गरेर मात्र ऋण दिनुपर्ने भन्दै उनले संस्थाबाट २ पटक ऋण लिएको र समयमा चुक्ता गरेको बताए । सदस्यले गरेको बचत सुरक्षित छ भन्नेमा आफु पूर्ण रुपमा विश्वस्त रहेको श्रेष्ठले बताए ।
संस्थाले नाफा कमाएर आफ्नै घरजग्गा जोडेको र सदस्यको बचत नडुुब्ने उनको भनाई छ । कतिपय सहकारीमा पटकपटक जाँदा पनि बचत फिर्ता नपाएको भए पनि पाँच तारामा भने आफ्नो खातामा भएको पैसा जतिखेर पनि झिक्न सकेको उनले सुनाए । संस्थाले एटिएम लगायत अन्य विद्युतिय भुक्तानी सेवा समेत सञ्चालन गरेको र संस्थाको सेवाबाट आफु सन्तुष्ट रहेको उनले जनाए । संस्थाले लगानी गर्दा ध्यान दिनुपर्ने र सदस्यको बचत कुन ठाउँमा लगानी गर्दा सजिलै असुली हुन्छ भन्ने कुराको ख्याल गर्न उनको आग्रह छ ।
त्यसैगरी पाँच तारा सहकारीमा २०६६ सालमा सदस्य बनेका हरिप्रसाद लम्साल त्यसयता संस्थामा लगातर कारोबार गर्दै आएका छन् । संस्थाको दैनिक, मासिक र ज्येष्ठ सदस्य खाता खोलेर बचत गर्दै आएको र संस्थाबाट ऋण लिएर प्रेस सम्बन्धी व्यवसाय गर्दै आएको उनले जानकारी दिए । संस्थाका सञ्चालक र कर्मचारीमा सहयोगी भावना पाएको र संस्था मूल्य , मान्यता र सिद्धान्तमा चलेको पाएकाले सबै जसो कारोबार यसै संस्थामा गर्दै आएको उनले जनाए । संस्थाबाट ऋण लिएको र समयमा नै किस्ता भुक्तानी गरेको उनले सुनाए । आफुलाई ऋण चाहिँदा संस्थालाई भन्ने गरेको र संस्थाबाट भनेको समयमा नै ऋण पाएको लम्सालको अनुभव छ । संस्थाबाट लिएको ऋणले आर्थिक उन्नतिमा समेत टेवा पुगेको उनले बताए । संस्थाबाट लिएको ऋणलाई सही सदुपयोग गरेको र व्यवसायबाट गरेको नाफा समेत पाँच तारामा नै जम्मा गर्ने गरेको उनको भनाई छ । सहकारीबाट लिएको ऋण सबैले तिनुपर्ने र सहकारीको बचत पनि राष्ट्रिय सम्पत्ति भएकाले कसैलाई नतिर्ने छुट नभएको उनको बुझाई छ । १५ बर्षदेखि सञ्चालक र कर्मचारीको सामिप्यतामा रहेर व्यवहार गरेको र उहाँहरुको व्यवहारप्रति पुरा विश्वास रहेको भन्दै त्यो विश्वास उहाँँहरुले कायम गर्नेमा उनी ढुक्क छन् । पाँच तारा बाहेक अन्य संस्थामा सदस्य नबनेका लम्साल संस्थाले सदस्यको बचतको सदैव सुरक्षा गर्नेमा विश्वस्त छन् ।
नेपालपत्र संवाददाता