महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यमिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराज बहादुर सिंहको स्मृतिमा स्थापित जेहेन्दार छात्रवृत्ति बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले छात्रा हिरा कुमारी जोशीलाई हस्तान्तरण गरेका हुन् ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रु. पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए । विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने जनाए ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता