नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले केहि बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्यले आतंकित हुनु नपर्ने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको जनाए ।
केन्द्रिय अनुसन्धान ब्युरोसँग जानकारी लिँदा एक सहकारी प्रकरणको अनुसन्धानको क्रममा बैंकर्सहरुको समेत संलग्नता देखिएकोले पक्राउ गरिएको बताएको गभर्नर अधिकारीले बताए । दोषी ठहर नभए उनीहरू बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको अधिकारीले उल्लेख गरे ।
गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी समेत गरे । उनले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए ।
गभर्नर अधिकारीले बचतकर्ताहरुले बचत गरेको निक्षेपभन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पत्ति रहेकाले डराउनु पर्ने अवस्था नभएको बताए । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताउँदै उनले बैंकहरुको आन्तरिक परिस्थितिले कहीँकतै समस्या देखापरे पनि समाधान हुने अवस्था रहेको जनाए ।
उनले बैंक वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधि भने तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए । बैंक वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे ।
नेपालपत्र संवाददाता