शनिबार, आश्विन १७ गते २०८३

बैंकिङ्ग क्षेत्रमा गरिएको धरपकडले नकारात्मक असर पर्ने चेतावनी

फाल्गुण २०, २०८० आइतबार
बैंकिङ्ग क्षेत्रमा गरिएको धरपकडले नकारात्मक असर पर्ने चेतावनी

 

निजी क्षेत्रका छाता संगठनहरूले बैंकिङ क्षेत्रमाथि भएको धरपकडप्रति आपत्ति प्रकट गरेका छन् । बैंकिङ कर्जा प्रवाह गर्दा लिइने धितो मूल्याङ्कनलाई आधार बनाई बैंकका कर्मचारीहरूलाई अनुसन्धानका नाममा प्रहरीले पक्राउ गरिनु दुख दिने मनासय रहेको उनीहरुले जनाएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै पहिले थुन्ने अनि सुन्ने मनसायले बैंकका कर्मचारीलाई दु:ख दिएको बताएका हुन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त रूपमा भने, ‘नीति तथा निर्देशनमा रही काम गर्दै आएका बैंकका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दु:ख दिन खोजिएको हो की भन्ने देखिएको छ, यस्ता कार्यले बैंकरहरूको कार्य दक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने र त्यसको असर समग्र अर्थतन्त्रको वृद्धि विकास असर गर्न सक्छ ।’

कारोबारको प्रकृति अनुसार विभिन्न प्रकारका कर्जा प्रवाहित हुंदै आएका छन् । स्थिर पुँजी कर्जातर्फ जग्गा, भवन, मेशिनरी आदिको सोही सम्पति धितो राखी कर्जा उपलब्ध हुने र चालु पुँजीतर्फ व्यवसायले उत्पादन, कारोबारको सामानको स्टक, बिक्रीवापत उठाउन बाँकी सम्पतिलाई आधारमानि कर्जा उपलब्ध हुँदै आएको छ । बैंक वित्तीय संस्थाहरूले लगानीको निर्णय गर्दा जोखिम व्यवस्थापनको अध्ययन गरी कर्जा प्रवाह गर्ने गरेका ती संगठनको दाबी छ।

विज्ञप्तिमा भनिएको छ ‘मानवीय त्रुटी वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीहरुलाई प्रचलित कानून बमोजिम कारवाई हुनु पर्छ भन्नेमा हामी स्पष्ट छौं । अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्छ तर बैंकिङ्ग क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भईरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्न सक्ने तर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं ।’