दूध बिक्रीको करिब ६ अर्ब रुपैयाँको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै शुरु गरेको सो आन्दोलनमा नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले ऐक्यवद्धता जाहेर गरेको छ । छ महिनादेखि दूध बिक्रीको भुक्तानी नहुदा किसानले ठूलो क्षति व्यहोर्नुपरेको महासंघले जनाएको छ । यस्तो अवस्थामा किसानको गुनासो तत्काल सम्बोधन गर्न सरकारसँग महासंघ जोडदार माग गरेको छ ।
गत मंसिरमा सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रीले नै गरेको सहजीकरणमा पुससम्मको बक्यौता तिर्ने र त्यसपछि नियमित रकम निकासा गर्ने आश्वासन लगायतका विगतमा भएका सम्झौताका बाबजुद पनि बक्यौता वितरण हुन नसकेकोमा महासंघ खेद प्रकट गरेको छ । सम्झौता कार्यान्वयन नगर्नाले दुग्ध किसानहरूलाई आर्थिक तनाव मात्र बढाएको छैन, संस्थागत संयन्त्रहरूमा समेत विश्वास गुम्दै गएको अवस्था छ । दुग्ध कृषकका गुनासो सम्बोधन गर्न र सहकारी प्रणालीमा विश्वास पुर्नस्थापित गर्न द्रुत र निर्णायक कदम चाल्न हामी सरकारसंग जोडदार माग गर्दछौ ’ महासंघले विज्ञप्तिमा भनेको छ ।
यसर्थ, ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको दुग्ध किसानको समस्या समाधानलाई प्राथमिकता दिन सरकारी निकाय र उद्योग प्रतिनिधि लगायत सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ । दुग्ध कृषकहरूसँग गरेका प्रतिबद्धताहरू पूरा गर्न र कृषकहरूको आर्थिक समृद्धि सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारसँग महासंघले माग गरेको छ । देशैभरका दुग्ध कृषकहरूले भोग्दै आएको बढ्दो संकटलाई मध्यनजर गर्दै केन्द्रीय दुग्ध सहकारी संघले विभिन्न क्षेत्रका कृषकसँग मिलेर सोमबारदेखि विरोध अभियान थालेको छ ।