कमसल धितोमा अधिक कर्जा प्रवाह गरेको कसुरमा उच्च पदस्थ बैंकर्सहरुनै समातिन थालेपछि बैंकिङ क्षेत्र तरंगित भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग(सिआइबी)ले मंगलबार तत्कालित सेञ्चुरी बैंकका दुईजना पूर्व सिइओ लगायत १० जना कर्मचारीलाई उक्त आरोपमा पक्राउ गरेपछि बैंकिङ जगत् त्रसित हुन पुगेको बैंकर्सले जनाएका छन् ।
सिआइबीले अचानक यस्तो कदम चालेपछि नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको छ । संघको पूर्ण बैठकले धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको ठहर गर्दै सो विषयमा नेपाल राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने भएको छ । बैंकिङ कर्जा र धितो सम्बन्धी व्यवस्थाका बारेमा गृह मन्त्रालय र प्रहरीलाई ब्रिफिङ गराउने भएको छ। बैंकिङमा हाल घरजग्गालाई मात्रै धितो मान्ने गलत बुझाइले बैंकिङ क्षेत्र नै समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने संघले जनाएको छ ।
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले व्यवसायमा भएको स्टक गोदाममा भएको माल सामानलाई नै मुख्य धितो मान्छ, घरजग्गा वा अन्य स्थिर सम्पत्तिलाई मात्रै धितोको रुपमा बुझ्नाले समस्या भएको जनाइएको छ । राष्ट्र बैंकलाई जानकारी गराएपछि र प्रहरी र गृहमन्त्रालयलाई धितोका बारेमा ब्रिफिङ गरे पुन: बैठक बसेर कानुन संशोधनका लागि सुझाव दिने बैठकको निष्कर्ष रहेको छ ।
सीआईबीले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंसँग सम्बन्धित विभिन्न कम्पनीमा कमसल धितोमा २ अर्ब भन्दा बढी ऋण दिएको पाइएपछि पक्राउ गरिएको जनाएको छ ।
तत्कालिन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित बैंकका अर्का पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका मनोज न्यौपानेसहित १० जना बैंक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपालपत्र संवाददाता