शनिबार, आश्विन १७ गते २०८३

सहकारी ठगी प्रकरणमा तानिए उच्चपदस्थ बैंकर, सिआइबीद्वारा पूर्व सीइओ न्यौपाने र गौतम पक्राउ

फाल्गुण १५, २०८० मंगलबार
सहकारी ठगी प्रकरणमा तानिए उच्चपदस्थ बैंकर, सिआइबीद्वारा पूर्व सीइओ न्यौपाने र गौतम पक्राउ

 

देउराली बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा उच्च पदस्थ बैंकर्स समेत गाँसिन पुगेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ तथा तत्कालिन सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने र सेञ्चुरीकै पूर्व सीईओ तुलसीराम गौतमसहित एक दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । 

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ न्यौपाने, त्यसअघिका सीइओ गौतम लगायतका व्यक्तिले कमिसन लिई कमसल धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्‍याएको आरोप उनीहरुमाथि लागेको छ । 

१३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकलाई आफूमा गाभेको थियो । मर्जरका बेला सीइओ न्यौपाने हाल प्रभु बैंकमा डेपुटी सीइआ रुपमा कार्यरत रहेका छन् । 

हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट मात्रै चौलागाईंले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएका छन् । यति ठूलो प्रवाह भएको ऋणमा आधा मूल्यको सम्पत्ति पनि धितो छैन ।

सहकारीमा बचतकर्ताको करिब ७ अर्ब बचत संकलन गरी दुरुपयोग गरेका देउराली सञ्चालक चौलागाईंले विभिन्न बैंकहरूमा कमसल धिताे राखेर करिब ४ अर्ब ऋण लिएकाले ती बैंककाे कर्जा जोखिममा परेकाे छ ।