शनिबार, आश्विन १७ गते २०८३

बैंकहरुले ६० अर्ब रकम राष्ट्र बैंकमा गरे डिपोजिट, स्थायी निक्षेप सुविधाको प्रयोग बढ्यो


फाल्गुण ७, २०८० सोमबार
बैंकहरुले ६० अर्ब रकम राष्ट्र बैंकमा गरे डिपोजिट, स्थायी निक्षेप सुविधाको प्रयोग बढ्यो

नेपाल राष्ट्र बैंकले दिएको स्थायी निक्षेप सुविधाको प्रयोग बढेको छ । केन्द्रीय बैंकले फागुन १ गतेदेखि व्याजदरलाइ स्थिर राख्ने तथा तरलता व्यवस्थापन गर्ने नयाँ उपकरणको रुपमा ‘स्थायी निक्षेप सुविधा’ सुरु गरेको हो ।

उक्त सुविधा प्रयोग गरी बैंक तथा वित्तीय संस्थाले फागुन ६ गते आइतबार मात्रै ६० अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि ६० अर्ब रुपैयाँ ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा सिधै निक्षेप राखेका हुन् ।

वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेका हुन्।आइतबार बैंक वित्तीय संस्थाले दोस्रो पटक स्थायी निक्षेप सुविधा प्रयोग गरेका हुन । यसभन्दा अघि फागुन २ गते बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा अन्तर्गत केन्द्रीय बैंकमा निक्षेप राखेका थिए ।

केन्द्रीय बैंकले अधिक तरलताका कारण अन्तर बैंकदरमा अस्वभाविक उतारचढाव नआओस भनेर स्थायी निक्षेप सुविधाको सुरुवात गरेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई स्थिायित्व दिनका लगि ब्याजदर करिडोरको कार्यान्वयन गर्दै आएको छ । 

स्थायी निक्षेप सुविधा लिन चाहने योग्य काउण्टरपार्टीले तोकिएको बैंकिङ्ग कारोबार समय भित्र निवेदन र कारोबार विवरण राष्ट्र बैंक समक्ष पेश गर्नुपर्नेहुन्छ । अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंक तथा वित्तीय संस्थाले यो सुविधा पाउने  छन्।

स्थायी निक्षेप सुविधाको न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा नि:शेष रहने अंक हुनुपर्ने व्यवस्था छ ।