सहकारीप्रति सदस्यको विश्वास घट्दै गइरहेको बेलामा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाको अवस्था के छ ?
हामीले माँ बंगलामुखी उपभोकता सहकारीलाई सहकारी अनुसार नै सञ्चालन गरेका छौं । सहकारीलाई सहकारी अनुसार सञ्चालन गरेकाले हामीलाई बचत फिर्ता लगायत कुनै समस्या छैन । सहकारी सिद्धान्त विपरित संस्था सञ्चालन गर्दा समस्या आउने रहेछ । हामीले स्थापनाकालदेखि सहकारीको मर्म भन्दा बाहिर गएर संस्था सञ्चालन गरेका छैनौं । जसले गर्दा सदस्यले संस्थाप्रति निरन्तर विश्वास गरिराखेका छन् । हामीले दुई महिनाका लागि सदस्यता खुल्ला गरेका थियौं । मंसीर १५ देखि माघ १५ गतेसम्म सदस्यता खुल्ला गर्दा १५० जना सदस्य बन्न आए भने ५४ लाख भन्दा बढी शेयरपुँजी थपिएको छ । त्यसका साथै बचत १ करोडको हाराहारीमा बढेको छ ।
कतिपय सहकारीमा नयाँ बचत नआउँदा बचत फिर्तामा समस्या आयो भनिन्छ, खास समस्या के हो सहकारीको ?
सहकारी सहकारीको रुपमा नै सञ्चालन हुनुपर्छ । सहकारीले नियमित बचत संकलन गरे भने त्यो बचत फिर्ता जाँदैन । सदस्यमा नियमित बचत गर्ने बानी हामीले शुरुदेखि नै बसाल्नुपर्छ । र नियमित बचत लिन सक्नुपर्छ । नियमति बचत निश्चित समयसम्म जम्मा गर्नुपर्छ । र त्यस अगाडि झिक्न पाईंदैन । नियमित बचतलाई प्राथमिकता दिएपछि फिर्ता नै जाँदैन । सहकारीहरुले बैंक जस्तै ठूलो रकम बचत लिने र ठूलो ऋण दिन थालेपछि समस्या आएको हो । सहकारीको मर्म त्यो होइन, मर्ममा रहेर काम गर्नुपर्यो । अर्कोतर्फ संस्थामा जति तरलता राख्नुपथ्र्यो, त्यो राखेनन् । एक जना सदस्यबाट जति बचत लिनुपर्ने थियो त्यो भन्दा बढी लिए होलान् । अनुत्पादक क्षेत्रमा ऋण लगानी बढी भयो र सञ्चालक स्वयंले बचत अपचलन गरे । यसले गर्दा नै बचत फिर्तामा समस्या भएको हो ।
माँ बंगलामुखीले नियमित बचतका कस्ता कार्यक्रम सञ्चालनमा ल्याएको छ ?
यस संस्थामा आवद्ध प्रत्येक सदस्यले मासिक रुपमा २ सयदेखि १ हजार रुपैया हरेक महिनाको १ देखि ५ गतेसम्म नियमित बचत गरिसक्नुपर्छ । संस्थामा नियमित बचत ४० देखि ५० प्रतिशत पुगेको छ । संस्थाले आयोजना गर्ने सहकारी शिक्षा कार्यक्रममा सदस्य सहभागी हुन्छन् । हाम्रो संस्था सफल हुनुमा समुदायमा आधारित भएर काम गरेकाले नै हो । हामी समुदायभन्दा बाहिर गएका छैनौं । कम्तीमा ३ महिनामा एक पटक संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी दिन्छौं । वित्तीय पारदर्शिता कायम गर्न सके सहकारीमा समस्या नै आउँदैन ।
संस्थाको समग्र वित्तीय अवस्था के छ ?
गत आर्थिक वर्षमा ३ करोड ५१ लाख शेयरपुँजी थियो भने यस आर्थिक वर्षको हालसम्म शेयरपुँजी ४ करोड माथि पुगेको छ । हामीकहाँ जहिलेसुकै सदस्य बन्न पाईंदैन । वर्षमा एकदुई पटक सदस्यता खुल्ला गर्छौंं । सदस्यबाट आवेदन लिन्छौं र आवेदन दिएकाहरुलाई सदस्य बनाउँछौं । सदस्य बन्नुपूर्व १ दिन सहकारी शिक्षा शिविरको आयोजना गर्छौं । संस्थामा बचत संकलन र ऋण लगानीको अवस्था राम्रो छ । संस्थाको पौष मसान्तसम्म २२ करोड ४९ लाख बचत संकलन गरेको छ भने २९ करोड २४ लाख ऋण लगानी भएको छ । संस्थाको शेयरपुँजी ४ करोड, जगेडा कोष १ करोड ३३ लाख, संस्थागत पुँजी १ करोड ४३ लाख र विभिन्न कोषहरुमा १ करोड ८८ लाख गरी कुल सम्पत्ति ३८ करोड ७४ लाख पुगेको छ । संस्थामा १४२५ जना सदस्य आवद्ध रहेका छन् । आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवाहरु प्रदान गर्दै आएका छौं ।
संस्थाको लगानीका क्षेत्रहरु कुनकुन छन् ? ऋण असुलीमा कतिको समस्या छ ?
हामीले ऋण दिँदा २ वटा क्राइटेरिया बनाएका छौं । पहिलो हामी बिनाधितो ऋण लगानी गर्दैनौं । सञ्चालक समिति वा सदस्यलाई धितो राखे मात्र ऋण दिन्छौं । सञ्चालक समिति स्वयं स्वनियमनमा बस्नुपर्छ भन्ने मेरो मान्यता हो । अध्यक्षले पनि बिनाधितो ऋण लिन पाईंदैन । धितोमा पनि भ्यालुएटरले भ्यालुएसन गरेको मापदण्डमा रहेर मात्र हामी ऋण दिन्छौं । सदस्यहरुलाई आपत नै परेको छ भने उनीहरुको आर्थिक हैसियत र सामाजिक गतिविधि हेरेर ससानो रकम सामुहिक जमानीमा लगानी गर्छौं । सामुहिक जमानीमा गरेको लगानी पनि समस्यामा पर्दैन । यसले गर्दा ऋण असुलीमा पनि कुनै समस्या छैन । पछिल्लो समय आएको अािर्थक मन्दीले केहि सदस्यको व्यापार व्यवसायमा कमी आउँदा ऋण असुलीमा सामान्य समस्या होला तर ठूलो समस्या पर्ने अवस्था छैन । हामीले सदस्यहरुमा गरेको ऋण असुली नभएर धितो लिलाम गर्नुपर्ने अवस्था आएको छैन । सदस्यहरुले नियमित रुपमा ऋणको साँवा ब्याज तिरिराखेका छन् । समस्या पर्ने कतिपय सदस्यहरुलाई ब्याजमा केहि छुट गरेका छौं । सदस्यको सम्पत्ति धितोमा राख्नु भनेको ऋणको सुरक्षाको लागि हो । सदस्यहरुले ऋणको सही सदुपयोग गरुन् भन्ने मात्र हो । संस्थाले ५ वर्ष अवधिको लागि ऋण लगानी गर्ने गरेको छ । मुख्यत: शैक्षिक ऋण नै बढी हुने गरेको छ । घर निर्माण, हस्तकला, व्यापार व्यवसायमा पनि ऋण लगानी हुँदै आएको छ । सबै जना विदेश जाने क्रम बढेकाले हामीकहाँ पनि सदस्यहरुले घरजग्गा धितो राखेर छोराछोरी विदेश पठाउन ऋण लिने क्रम निक्कै बढेको छ । संस्थाको कार्यक्षेत्र ललितपुर महानगरपालिकाको ५ वटा वडाबाट ९ वटा वडामा विस्तार भएको छ ।
सदस्यलाई सहकारी शिक्षा दिनु अति नै आवश्य छ भनिन्छ, माँ बंगलामुखीले सहकारी शिविर कत्तिको सञ्चालन गर्दै आएको छ ?
हामीकहाँ कोही व्यक्ति नयाँ सदस्य बन्न आए भने, सदस्यता फारम लिन्छौं र तत्काल सदस्यता दिँँदैनौं । महिनाको अन्तिम शुक्रबार सहकारी शिक्षा कार्यक्रम राख्छौं । उक्त कार्यक्रममा उनीहरुलाई सहकारी र संस्थाको समग्र बारेमा जानकारी दिन्छौं र त्यसपछि मात्र सदस्यता वितरण गर्छौं । सदस्यहरुले आफु सदस्य बन्दै गरेको संस्था कस्तो छ भनेर बुझ्नै पर्छ । हामीले सहकारीको इतिहासदेखि लिएर संस्था कसरी सञ्चालन भइरहेको छ भन्ने सबै कुरा बुझाएर मात्र सदस्य बनाउँछौं । सहकारी शिक्षालाई अनिवार्य गरेका छौं ।
संस्थाले केकस्ता सामाजिक क्रियाकलाप गर्दै आएको छ ?
माँ बंगलामुखीलाई यस क्षेत्रको श्रवणकुमार भन्ने गरेको छु । अहिलेका छोराछोरी बाबुआमासँग घुम्न नजाने, नातिनातिनाहरु मोबाइल र ल्यापटपमा व्यस्त रहने । प्रौढहरु घर छाडेर कहीँ जान नपाउने अवस्था छ । यस्तो अवस्थामा हामीले नियमित रुपमा विभिन्न काकर्यक्रम गर्दै अएका छौं । ज्येष्ठ सदस्यहरुलाई धार्मिक भ्रमणमा लैजान्छौं । सबै सदस्यलाई कहिँ कतै लैजाने र मनोरञ्जन दिने थलो यो संस्था बनेको छ । युवा पुस्ता विदेश गएका छन । घरमा वृद्ध वा आमा मात्रै छन् । उनीहरुलाई तीर्थाटन, घुमफिर र मनोरञ्जन गराइदिने कोही छैन । संस्थाले प्रत्येक महिना केहि न केहि कार्यक्रम गर्छ र सबै सदस्यलाई खुसी र सन्तुष्ट बनाउँदै लगेको छ । महिला, बाल र ज्येष्ठ सदस्यलाई लक्षित गरेर कार्यक्रम गर्दै आएका छौं । यसले गर्दा संस्थाप्रति सदस्यको विश्वास बढ्दै गएको छ । सदस्यसँग नजिक भएर पारदर्शी हुन सकियो भने मात्र संस्थाको कारोबार वृद्धि हुँदै जान्छ । हामी निरन्तर सदस्यसँग कनेक्ट हुँदै आएका छौं ।
सहकारीमा खुल्ला सदस्य भनिन्छ, तपाईंहरुले भने समय छुट्याएर मात्र सदस्यता दिनुको कारण के हो ?
हामीले आफ्नो कार्यक्षेत्र भित्र बसोबार गर्ने सबैलाई सदस्यता दिन्छौं र सदस्यता नदिनको लागि रोक पनि लगाइएको होइन । एउटा क्राइटेरिया पुरा गर्न सकियो भने सदस्यलाई अनुशासनमा राख्न सकिन्छ भन्ने संस्थाको उद्देश्य हो । हामी २ महिना खोल्छौं र बन्द गर्छौं । सदस्यता वितरणलाई व्यवस्थित गर्न यस्तो गरेका हौं । नियमित रुपमा यसरी नै काम गर्ने गरेका छौं । तत्काल सदस्यता नदिएपनि हरेक व्यक्तिको आवेदन संकलन गरेर राख्छौ । सहकारीको नीति नियममा बस्न चाहने र शिक्षा दिएर मात्र सदस्यता दिने गरेका छौं ।
उपभोक्ता संस्था भएकाले उपभोक्ता सम्बन्धी पनि केहि काम गर्नुभएको छ ?
शुरुमा हामीले उपभोक्ताको काम गर्यौं । सहकारी उपभोक्ता पसल सञ्चालन गर्दा हामीलाई भ्याटको समस्या हुने रहेछ । भ्याट तिर्नुपर्दा हरेक सामान महँगो पर्न जाने रहेछ । यसले गर्दा सदस्यलाई जुन सुविधा दिन्छौं भनेका थियौं, त्यो दिन नसकिने भएपछि हामीले त्यसलाई रोक्यौं । अब संस्थाको आफ्नै भवनमा उपभोक्ता पसल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रिय उपभोक्ता सहकारी संघसँग छलफल भएको छ । केहि दिनभित्र खाद्यान्न पसलबाट उक्त कामलाई अगाडि बढाउँछौं । उपभोक्ता सहकारीले देशभरबाट सामान ल्याएर बेच्न पाउनुपर्ने हो । त्यो व्यवस्था सहकारी ऐनमा छैन । यसले समस्या देखियो । विषयगत रुपमा संस्था दर्ता गरिसकेपछि सोही अनुसार सञ्चालन गर्न गृहकार्य गर्नुपर्छ । उद्देश्य अनुसार सञ्चालनमा हामीले प्रयास गर्नुपर्छ र सोही अनुसार तयारी गर्दै आएका छौं । सहकारी भनेकै उपभोक्ता हो । विदेशमा कृषि र उपभोक्ता सहकारीमात्रै छन् । नेपालमा मात्रै बचत ऋण सहकारी बढी छन् । राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न उपभोक्ता र कृषि सहकारीले काम गर्नुपर्ने हुन्छ । यसले सहकारी अभियानलाई नै माथि उठाउन सघाउँछ ।
ललितपुर महानगरको नियमन क्षेत्रभित्र भएकाले महानगरले सहकारीलाई व्यवस्थित गर्न कस्तो भूमिका खेल्दै आएको छ ?
महानगरपालिकाले नियमित रुपमा तालिमहरु सञ्चालन गर्दै आएको छ । तर सहकारीलाई महानगरभित्रको एउटा सानो शाखाको रुपमा राखिएको छ । सहकारी हेर्ने जनशक्ति अभाव छ । सबै सहकारीको नियमन अनुगमन गर्न सकिराखेको छैन ।
मुलुकमा सहकारीको आवश्यकता कत्तिको छ ? सहकारीमार्फत् समाज बदल्न सम्भव छ ?
देश विकासको प्रमुख आधार नै सहकारी हो । जापानको धेरै जनसंख्या सहकारीमा आवद्ध भएका छन् । र सहकारीमार्फत् ठूलाठूला उद्योग सञ्चालन हुँदै आएका छन् । नेपालमा पनि त्यो सम्भावना छ । सहकारीले ससानो पुँजीलाई एकिकृत गरी उत्पादन तथा आयमूलक क्षेत्रमा लगानी गर्न सक्छ । अर्कोतर्फ नहुने मानिसलाई सहयोग गर्ने संस्था नै सहकारी हो । सम्भावना हुँदाहुँदै पनि अहिले अवस्था राम्रो देखिएको छैन । संविधानले ३ खम्बे अर्थनीतिभित्र सहकारीलाई राखिदियो । तर कार्यान्वयन तहमा हुनेहरुले सहकारीलाई राम्रोसँग बुझ्नै सकेनन् । अर्कोतर्फ सहकारीमा समस्या आउनुमा सञ्चालक समितिको स्वेच्छाचारिता नै हो । त्यसैगरी सहकारी सञ्चालन विधिमा पनि परिमार्जन आवश्यक छ । शहरमा खुलेका कतिपय सहकारी बैंक जस्तै बने । यसले समस्या देखियो । बैंक जस्तो हुने होइन, हामी सहकारी जस्तै हुने हो । काम गर्ने कुरामा भने बैंक जस्तै हुनुपर्छ । सोचविचारमा भने सहकारीबाट बाहिर जानुहुँदैन । योजना पनि सहकारी मोडलमा नै बनाउनुपर्छ । पर्फमेन्समा बैंकभन्दा माथि हुनुपर्छ । तर त्यो हुन सकिराखेको छैन ।
सहकारीमा नियमन अनुगमन फितलो हुँदा, यो समस्या आयो भनिन्छ नि?
त्यो हुन नसकेकै हो । नियमन अनुगमन प्रभावकारी भएकाे भए सहकारी संस्थाहरूमा याे स्तरकाे समस्या देखिने थिएन। नियमित अनुगमन हुन सकेको भए सहकारीमा समस्या आउने कुरा रोकिन्थ्यो होला । सहकारीका सञ्चालकले गर्ने बदमासी रोकिन्थ्यो । नियमन अनुगमनमा कमी भएको देखिन्छ ।
सहकारीमा समस्या आइसक्यो अब समस्या समाधानको उपाय के हुनसक्छ ?
सहकारीमा अहिले देखिएको समस्या तत्कालै त समाधान हुने देखिँदैन । राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ । सञ्चारजगतले पनि सहकारी क्षेत्रले गरेका असल अभ्यास र सदस्यलाई पुर्याएको सेवासुविधा बाहिर ल्याउनुपर्छ । यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्छ। सञ्चालक समिति स्वेच्छाचारी हुनुभएन । ऐननियममा बस्नुपर्यो । मुल्य, मान्यता र सिद्धान्त बाहिर गएर संस्था सञ्चालन गर्नुभएन । सदस्यहरुले पनि नियमित बचत गरिदिनुपर्यो । ऋणीले पनि ऋणको साँवाब्याज नियमित रुपमा तिरिदिने हो भनेन सहकारीमा समस्या नै आउँदैन । सबैले आ–आफ्नो कर्तव्य पालना गर्नुपर्यो । यो भयो भने सहकारी क्षेत्रमा सुधार आउने सम्भावना रहन्छ ।
सहकारीप्रति समाजमा अविश्वास फैलिएको छ । यसलाई कसरी चिर्न सकिएला ?
सबै संस्थाले सिद्धान्त अनुसार काम गर्ने हो भने जनताको आकर्षण सहकारीप्रति पुनः बढ्दै जान्छ । सहकारीको सिद्धान्तबाहिर गएर काम गरेपछि संस्थामा समस्या भएको हो । समस्या आएपछि नकारात्मक प्रचार भइहाल्छ नि । माँ बंगलामुखीको बारेमा कसैले पनि नराम्रो भन्दैनन् । यहाँका धेरै सदस्यकाे आर्थिक स्तर यो संस्थाकै कारण उठेको छ । ससानो पुँजीको अभावले व्यवसाय गर्न नसकेकाहरुले अहिले संस्थाकै कारण ठूलो व्यवसाय गर्न सक्ने भएका छन् । सहकारीले सदस्यको जीवनमा परिवर्तन ल्याउने काम गनुपर्छ । सञ्चालकको मात्र जीवन परिवर्तन गर्न थालेपछि संस्था बिग्रिन्छ नै । यहाँ त सहकारीको पैसाले कतिपय सञ्चालकको मात्र जीवन बदलियो । सदस्यको आर्थिक सामाजिक रुपान्तरण भएपछि सबैले विश्वास गरिहाल्छन् नि । अभियानलाई बचाउन सहकारीकर्मीहरु एकजुट हुनपर्छ र सकारात्मक सन्देश दिनेगरी पारदर्शी ढंगले संस्था चलाउनुपर्छ । यसले नै अभियान राम्रो बनाउँछ ।