आइतबार, कार्तिक ९ गते २०८३

एकल अङ्कमा राष्ट्रिय वाणिज्य बैंकले घर कर्जा दिने, ब्याजदर ९.४५ प्रतिशत


माघ २६, २०८० शुक्रबार
एकल अङ्कमा राष्ट्रिय वाणिज्य बैंकले घर कर्जा दिने, ब्याजदर ९.४५ प्रतिशत
 
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘मेरो घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । 
 
घर खरीद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैंया सम्म दिइने मेरो घर कर्जाको ब्याजदर ९.४५ प्रतिशत रहेको छ । बैंकले बेसरेटमा १.२० प्रतिशत प्रिमियम थपेर ब्याजदर तय गरेको छ । हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९।४५ प्रतिशत हुन आउँछ । 
 
कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने बैंकले जनाएको छ ।
 
वाणिज्य बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टरमार्फत् आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।