राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘मेरो घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ ।
घर खरीद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैंया सम्म दिइने मेरो घर कर्जाको ब्याजदर ९.४५ प्रतिशत रहेको छ । बैंकले बेसरेटमा १.२० प्रतिशत प्रिमियम थपेर ब्याजदर तय गरेको छ । हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९।४५ प्रतिशत हुन आउँछ ।
कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने बैंकले जनाएको छ ।
वाणिज्य बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टरमार्फत् आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालपत्र संवाददाता