नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले बैंकहरुको खराब कर्जा बढेर ३.६ प्रतिशत पुगेको बताएका छन्। पछिल्लो समय आर्थिक क्रियाकलापमा आएको मन्दीका कारण बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा ऋणको साँवाब्याज चुक्ता नगर्दा खराब कर्जामा वृद्धि भएको हो।
इकाेनाेमिक मिडिया एसाेसिएसन नेपाल (इमान) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खराब कर्जा वृद्धि हुँदा बैकहरुको नाफा समेत घटेको बताए । गत आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरुले ३० अर्ब नाफा गरेको भए पनि यस अार्थिक बर्षको पुस मसान्तसम्म त्यस्त्तो नाफा २८ अर्ब मात्र रहेको केसीले जानकारी दिए ।
बैंकरुको नाफा घट्दा त्यसको प्रभाव राजश्वमा समेत परेको छ । यहि रेसियोमा खराब कर्जा बढ्दै जाने हो भने बैंकहरुमा अप्ठ्यारो स्थिति आउन सक्ने भन्दै उनले सरकार, राष्ट्र बैंक र बैंकहरु एकै ठाउँमा बसेर समस्याको समाधान खोज्नु पर्नेमा जोड दिए ।
पछिल्लो समयमा बैंकबाट लिएको ऋणको साँवा ब्याज तिनुपर्दैन भन्ने समुह पनि रहेको र यसलाई बेलैमा रोक्न सकिएन भने बैंकहरुलाई मात्रै होइन सिंगो अर्थतन्त्रलाई नै समस्या पार्न सक्ने उनले जनाए । खराब कर्जा व्यवस्थापनको लागि धितोमा रहेको जग्गा जमिनको विक्रि गर्न समस्या भई राखेकाले त्यसको लागि राज्यको सहयोगको अपेक्षा गरेको केसीको भनाई छ ।
त्यसैगरी बैंकहरुले १ लाख ५५ हजार जनालाइ दिएको सहुलियत ऋणको ब्याज नै १० अर्ब भन्दा बढी भएकाले त्यसले पनि बैंकहरूलाइ अप्ठ्यारो पारेको भन्दै उनले समय उक्त ब्याज भुक्तानी गरिदिन आग्रह गरे । हिउँदे अधिवेशनमा बैंकिङ कसुर तथा सजाय ऐन विधेयकमा छलफल भएरहेकाले धितो बिना ऋण दिन नपाइने कानुनी संरचना हटाउन पहल गर्न समेत उनको माग छ ।
नेपालपत्र संवाददाता