चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था मुलुककै एक उत्कृष्ट संस्थाको रुपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय सहकारीप्रति विश्वास घटिरहेका बेला उक्त संस्थाले भने सदस्यहरुको मन जित्न सफल देखिएको छ । सदस्य र समुदायको आवश्यकताका आधारमा कार्यक्रम तय गरी सोही अनुसार सञ्चालन गर्दै आएकाले संस्थाप्रति सदस्यको विश्वास बढेर गएको सिइओ झलेन्द्र दाहाल बताउँछन् । संस्थामा यस आर्थिक वर्षको ६ महिनाको अवधिमा १० करोड माथिको बचत वृद्धि र सदस्यता पनि झण्डै १८ प्रतिशतले वृद्धि गर्न सकेको उनले बताए । संस्थाले गरेको सर्वेक्षणको आधारमा कुल सदस्यमध्ये ८० प्रतिशत सदस्यले चण्डेश्वरीलाई नै रोजेको देखाएको छ । संस्थाले ऋण लगानी गर्नुपूर्व सदस्यको व्यवसाय र तिर्न सक्ने क्षमताको विश्लेषण गरेर मात्र लगानी गर्दै आएकाले असुलीमा खासै समस्या नभएको र भाखा नाघेको ऋण ४ प्रतिशतको हाराहारीमा रहेको उनले बताए । संस्थाले वित्तीय अनुशासनलाई पालना गर्दै सहकारी मुल्य मान्यता र सिद्धान्तमा रहेर अगाडि बढेकाले वित्तीय मन्दीका बीचमा पनि आफ्नो पहिचान बनाउन सफल भएको उनले बताए । सहकारीमा समस्या आउनुमा मुख्यत नेतृत्वकर्ता दोषी रहेको उनको बुझाई छ । राजनीतिक आडमा केहि सहकारीका सञ्चालकले सदस्यको बचतको दुरुपयोग गर्दा अहिले सिंगो सहकारी अभियानप्रतिनै नकारात्मक दृष्टिकोण बन्न पुगेको उनले बताए । चण्डेश्वरी बचत तथा ऋण सहकारीको समग्र अवस्था, सदस्यलाई दिने सेवासुविधा र समग्र अभियानका विषयमा केन्द्रित रहेर सीइओ दाहालसँग गरिएको कुराकानी
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो गतिविधिलाई कसरी अगाडि बढाइरहेको छ ?
सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार संस्थाको आर्थिक गतिविधिलाई अगाडि बढाउँदै आएका छौं । बचतऋण सहकारी संस्था भएकाले बचत तथा ऋण नै संस्थाको मुख्य कारोबार हो । त्यसका साथै संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानका लागि पनि काम गर्दै आएको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएर अगाडि बढाएको छ । सदस्यहरुले सहकारीप्रति कत्तिको अपनत्व महशुस गरेका छन्, त्यसैका आधारमा सदस्यहरुको विश्वास आर्जन हुने रहेछ । सदस्यहरुले संस्थाको अपनत्व लिएका छन् भने स्वाभाविक रुपमा संस्थाले सदस्यको मन जितेको मान्न सकिन्छ । सदस्यहरुलाई अपनत्व महशुस गराउने काम संस्थाले गर्नुपर्छ । सदस्यहरुलाई यो मेरो संस्था हो है भनेर कसरी अनुभूति दिलाउने भन्ने कुरा महत्वपूर्ण हुँदोरहेछ ।
त्यसको मुख्य आधार भनेको सदस्यहरुसँगको कनेक्सन नै हो । हामीले पछिल्लो रणनीतिक योजना अन्तर्गत सदस्यहरुसँग सम्बन्ध विकास गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । त्यसका लागि वार्षिक कार्यक्रम बनाइएको छ र सोही अुनसारको बजेट समेत विनियोजन गरिएको छ । सहकारी शिक्षा र स्वास्थ्य शिविरमार्फत् सदस्य र समुदायसँग जोडिएका छौं भने सदस्यहरुमा सीप विकासको तालिममार्फत् उनीहरुमा उद्यमशीलताको विकास गर्दै आएका छौं । संस्थाले वार्षिक कार्यक्रम बनाउँदासमेत सदस्यबाट फिडब्याक लिएर उनीहरुको आवश्यकता र चाहनाका आधारमा मात्रै वार्षिक कार्यक्रम बनाउँछौं । जसले गर्दा संस्थाप्रति सदस्यहरुको अपनत्व बढेर गएको छ । संस्थाले हाम्रो विचारको पनि कदर गर्दोरहेछ भन्ने भावनाको विकास सदस्यमा भएको छ । यो संस्था हाम्रो हो र हामीले नै राम्रो बनाउनुपर्छ भन्ने वातावरण सदस्यमा बनाउनका लागि हामी प्रयासरत छौं । यसमा केहि हदसम्म हामी सफल भएका छौं । हामीले सदस्य शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं । सदस्यहरुको सुझाव र गुनासालाई ग्रहण गर्ने परिपाटीलाई पनि विकास गरेका छौं ।
संस्थाले समुदायसँग जोडिन कस्तो रणनीति लिएको छ ?
संस्थाको समग्र कारोबारमा वृद्धि हुँदै गएको छ । समग्रमा हामीले २ वटा पक्षलाई हेनुपर्छ । पहिलो भइरहेका सदस्यहरुलाई कसरी रिटेन गरिराख्ने र अर्को समुदायको विश्वास कसरी जित्ने भन्ने हो । सदस्यहरुलाई रिटेन गरिराख्न उनीहरुको सन्तुष्टिको लेभल र संस्थाप्रति अपनत्व कत्तिको छ भन्ने कुराले निर्धारण गर्छ । समुदायले संस्थालाई कत्तिको विश्वास गरेको छ त्यसैका आधारमा सदस्यता वृद्धि हुन्छ । हामीले समुदायले विश्वास गर्नेगरी काम गरिराखेका छौं । संस्थाको सामुदायिक कोष मार्फत् समुदायका मानिसलाई लाभ हुनेगरी सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम, स्वास्थ्य शिविर र बातावरणीय सफाईका कार्यक्रममार्फत् समुदायसँग जोडिइरहेका छौं । सदस्यकेन्द्रित भएर उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लाभ लिने कार्यक्रम सञ्चालन गरेर संस्थाप्रति उनीहरुको आकर्षण कायम गर्दै आएका छौं । त्यसैगरी दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरुमध्ये १२ वटा जति लक्ष्यमा योगदान गर्ने गरी काम गर्दै आएका छौं । जसले गर्दा समुदायसँगको सम्बन्धमा थप टेवा पुर्याएको छ र समुदायले पनि अपनत्व लिने बातावरण बन्दै गएको छ ।
संस्था सफल हुन सदस्य र समुदायकै महत्व रहेको हुन्छ । संस्थामा आवद्ध कति सदस्य संस्थाप्रति सन्तुष्ट छन् ?
हामीले वार्षिक रुपमा सर्वेक्षण गरेर नै सदस्यको सन्तुष्टिको लेभल के छ भनेर मापन गर्ने गरेका छौं । बनेपा नगरपालिकामा मात्रै २२० वटा बचत तथा ऋण सहकारी दर्ता छन् । दोहोरो सदस्यताको समस्या पनि त्यत्तिकै विकराल छ । तर पनि हामीले सदस्यको मन जितेका छौं र संस्थाको वित्तीय काराबोरमा पनि वृद्धि भइराखेको छ । वित्तीय कारोबारका लागि चण्डेश्वरीलाई पहिलो रोजाइको संस्थाको रुपमा लिएको भन्ने सदस्यहरुको संख्या ८४ प्रतिशत रहेको गत वर्षको सर्वेक्षणले देखाएको छ । हामीले हरेक वर्ष सदस्य सर्वेक्षण गर्छौं । त्यसको सूचकको रुपमा हामीले सदस्यहरुको आर्थिक सहभागितालाई पनि लिने गरेका छौं । सदस्यहरुले भनेको कुरा कत्तिको वास्तविक छ त भनेर हामीले दोश्रो लेयरमा विश्लेषण गर्छौं । सदस्यहरुको आर्थिक सहभागिता कस्तो छ ? त्यसमा वृद्धि भएको छ कि छैन भनेर हेर्दा उनीहरुको आर्थिक सहभागितामा पनि वृद्धि भएको पाइयो । यस आर्थिक वर्षको ६ महिनाको तथ्यांकलाई हेर्दा पनि झण्डै १७ प्रतिशत आर्थिक सहभागितामा वृद्धि भएको छ ।
यसले सदस्यहरुले दिएको फिडब्याक ठिक छ भन्ने हामीले महशुस गरेका छौं । सदस्यले वास्तविक कुरा भनेका रहेछन् । उनीहरुले मनमा जे लाग्यो, त्यो कुरा भनेको भए आर्थिक सहभागितामा वृद्धि हुने थिएन । अर्कोतर्फ समुदायमा सर्वे गर्दा पनि त्यस्तै खालको फिडब्याक पाएका छौं । सदस्यले जे भने, त्यो वास्तविक हो कि होइन भनेर जाँच गरियो । वास्तविकता जाँच गर्दा सदस्य वृद्धिदरलाई पनि हामी हेर्छौं । सदस्य वृद्धिदर पनि १७–१८ प्रतिशत रहेको छ । सदस्य र समुदाय सबैबाट आएको नतिजा जे छ त्यसलाई फ्याक्ट चेक गर्दा रियालिटीमा पाएका छौं । त्यस अर्थमा पनि हामीले सदस्य र समुदायको मन जितेका छौं ।
संस्थाकाके ऋण असुली र समग्र वित्तीय अवस्था के छ ?
ऋण लगानी गर्न सजिलो छ तर उठाउन कठिन छ । ऋण दिनु भनेको उधारो व्यापार हो । संस्थाको कुल पुँजी १ अर्ब ४० करोडको छेउछाउमा रहेको छ । संस्थाको ११ करोड २५ लाख शेयरपुँजी, १३ करोड ३१ लाख जगेडा कोष, १ अर्ब ६ करोड बचत संकलन र १ अर्बको हाराहारीमा ऋण लगानी रहेको छ । यस आर्थिक वर्षमा ऋण लगानीलाई त्यति धेरै वृद्धि गर्न सकेका छैनौं । सदस्यलाई व्यवसायिक बनाउने र उनीहरुमा कसरी लगानीको बातावरण सृजना गर्ने भन्ने विषयमा हामीले होमवर्क गर्नुपर्ने छ ।
गत ६ महिनाको अवधिमा बचतमा १० करोडभन्दा माथि वृद्धि भएको छ । लगानीको वातावरण उपयुक्त नभएको कारण सदस्यहरुले ऋण लिएर व्यवसाय गर्न चाहिराखेका छैनन् । समग्र वित्तीय बजारमा नै यो समस्या देखिएको छ । ऋण लगानी बढाउन के गर्ने भन्ने विषयमा हामीले छलफल गरिराखेका छौं । सदस्यहरुलाई व्यवसायी बन्न अभिप्रेरित गर्ने र त्यसका लागि आवश्यक सीप र पुँजीको उपलब्धता गराउने कुरामा हामीले जोड दिएका छौं ।
ऋण प्रवाहका क्षेत्र कुन–कुन छन् ? ऋण लिएर व्यवसाय गरेका सदस्यहरुको आर्थिक अवस्था कस्तो पाउन सकिन्छ ?
यस भेगमा यातायात क्षेत्रमा बढी ऋण लगानी भएको छ । व्यवसायिक प्रयोजनका लागि ऋण लिएर ट्रान्सपोर्टेशन र पब्लिक भेइकलमा लगानी गर्ने सदस्य धेरै छन् । २ वर्ष अगाडिसम्म कुल ऋणको ४० प्रतिशत लगानी यस क्षेत्रमा थियो । अहिले अन्य क्षेत्रमा पनि लागनीलाई विविधिकरण गरेर ३० प्रतिशतको हाराहारीमा त्यस क्षेत्रमा लगानी रहेको छ । एउटा क्षेत्रमा धेरै लगानी गर्दा जोखिम हुने भएकाले लगानीलाई विविधिकरण गरेका छौं । अन्य व्यापारव्यवसायमा पनि संस्थाको लगानी छ । लगानी गर्नु ठूलो कुरा होइन, तरा ऋण लगानीपछि सदस्यको आर्थिक अवस्थामा सुधार आयो कि आएन, मुख्य कुरा त्यो हो । हामीले सदस्यमाथि व्यापार गर्ने होइन । सदस्यलाई सेवा दिने हो । सदस्यमाथि व्यापार गरेकाले अहिले कतिपय सहकारीमा समस्या आएको हो । सदस्यलाई ग्राहक बनाएर व्यापार नगरी उनीहरुको आर्थिक समृद्धिमा केन्द्रित भएर सहकारीले काम गर्नुपर्छ । आर्थिक रुपमा निक्कै अप्ठ्यारोमा रहेका सदस्यहरुले पनि संस्थामा जोडिएर वित्तीय कारोबार गर्न थालेपछि निक्कै सबल भएका उदाहरणहरु हामीसँग प्रशस्त छन् । अर्काको गाडीमा काम गर्ने सदस्य अहिले आफैं मालिक भएका छन् । अर्काको होटलमा काम गर्नेहरु अहिले आफैं साहु भएका छन् ।
ससानो व्यापार व्यवसाय गर्नेहरुले संस्थाको आर्थिक सहायतामा ठूलो व्यापार व्यवसाय गर्न सफल भएका छन् । सामान्य पशुपालन र कृषि पेशा गर्नेहरुले ठूलो मात्रामा कृषि पेशा गरिरहेका छन् । संस्थाबाट ऋण लिएका शत्प्रतिशत सदस्यले राम्रो गरेका छन् भन्न सकिँदैन । कतिपय सदस्यले ऋण लिएर सही परिचालन गर्न नसक्दा असफल भएका पनि छन् । तर अधिकांश सदस्यले संस्थाबाट लिएको ऋणले आर्थिक जीवनमा सुधार ल्याएको छ । संस्थाको ऋण असुली पनि राम्रो छ । खराब ऋण धेरै छैन । पुस मसान्तसम्म ४ प्रतिशत खराब ऋण रहेको छ । संस्थाले सदस्यमाथि व्यापार गर्ने र ऋणको बोझ बोकाइयो भने भाखा नाघेको ऋण बढ्छ । तर सदस्यले ऋण लगेपछि व्यवसायिक भएर उसले परिचालन गर्नसक्ने पुँजी, उसको सीप र व्यवसायको विश्लेषण गरेर लगानी गर्दा ऋण नउठ्ने जोखिम त्यति हुँदैन । सदस्यको समृद्धि नै हाम्रो पहिलो लक्ष्य हो । हामी सदस्यलाई सेवा दिन बसेका हौं । सदस्यहरुलाई दिएको सेवाबाट उनीहरुको आर्थिक जीवनमा सुधार हुनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ ।
सहकारीमा नियमित बचत मुख्य मेरुदण्ड रहेको भनिन्छ । चण्डेश्वरी साकोसमा कुल बचतमा मासिक बचतको हिस्सा कति छ ?
हाम्रो संस्थामा मासिक नियमित बचत सदस्यहरुको लागि अनिवार्य छ । न्यूनतम २०० वा सो भन्दामाथि हजार रुपैयासम्म सदस्यहरुले मासिक बचत गर्न सक्छन् । कतिपय सदस्यलाई टाढाबाट महिनाको दुईसय बचत गर्न आउन समस्या हुने भएकाले यस वर्षको साधारणसभाबाट निर्णय गरी चालु खातामा भएको रकमलाई महिनामा २ सय स्वत: नियमित बचतमा लैजाने व्यवस्था गरिएको छ । पछिल्लो समय नियमित बचत बढ्दै गएको छ । नियमित बचत संस्था कि सदस्यको आवश्यकता भन्ने कुरा मुख्य रहन्छ । पुँजी परिचालन गर्न नियमित बचत संस्थाको लागि पनि आवश्यक हो र त्यो भन्दा बढी सदस्यको आवश्यकता हो । नियमित २ सय रुपैया मासिक रुपमा बचत गर्नु अति सानो रकम हो । दिनमा एक कप चियाको पैसा पनि होइन । सदस्यले उक्त रकम ५०औं वर्षसम्म बचत गर्दै जाँदा भविष्यका लागि ठूलो पुँजी निर्माण हुन्छ । नियमित बचतले फुर्माइस हुने खर्चलाई जोगाउँछ भन्ने सोच्नुपर्छ । आज मात्र होइन भोलि पनि हेर्नुपर्छ, मानिस जीवनभर सधैं सक्रिय हुन सक्दैन र रिटायर लाईफमा के गर्ने चिन्ता गर्नुभन्दा अहिले सक्रिय भएकै बेला केहि रकम बचत गर्दै जाँदा पछिको जीवन सुरक्षित हुन्छ भन्ने कुरा संस्थाले सदस्यहरुलाई बुझाउनुपर्छ । यस्तो बचत संस्थाको लागि भन्दा बढी सदस्यकै लागि हो । यो कुरालाई हामीले विशेष जोड दिएका छौं । हामीसँग १६/१७ प्रतिशतको हाराहारीमा नियमित बचत रहेको छ ।
संस्थाले सदस्य सुरक्षा कार्यक्रम पनि सञ्चालन गरेको छ ?
सदस्यहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २ वर्ष देखि सञ्चालनमा रहेको छ । सदस्यहरुले योगदान गर्नुहुन्छ र त्यसकै आधारमा सुविधा प्राप्त गर्नुहुन्छ । संस्थामा सदस्यको पैसा भएकोले केहि समस्या पर्दा सामाजिक उत्तरदायित्वको रुपमा भुक्तानी गर्न सकिँदैन । हामीले सदस्य सुरक्षा बचत खाता सञ्चालन गरेका छौं । सदस्यले एकपटक २, ३, ४ र ५ हजार रुपैया उक्त बचत खातामा योगदान गर्नुपर्छ । सोही अनुसार हामीले ८ वटा राहतको प्याकेज सञ्चालन गरेका छौं । आगलागी, चट्याङ, सवारी दुर्घटना, घातक रोग उपचार, महिलाको पाठेघरको उपचार, सुत्केरी पौष्टिक आहार, प्राकृतिक निधन, दुर्घटना निधन जस्ता शिर्षकमा राहत प्याकेज रहेका छन् । ६५ वर्ष उमेर पुग्नु अगावै उक्त कार्यक्रममा योगदान गरेका सदस्यहरुले मात्र उक्त सुविधा पाउँछन् । ६५ वर्ष पछाडि सदस्य बनेर उक्त कार्यक्रममा योगदान गर्न पाईंदैन ।
संस्थाले आर्थिक मन्दीका बीचमा एक्सेस ब्राण्ड अन्तर्गतको सिल्भर ब्राण्ड लिन सफल भयो, यस्तो अवस्थामा कसरी सफलता हात पार्न सक्नुभयो ?
वित्तीय सूचकांकभित्र वित्तीय अनुशासन पनि पर्छ । ऋण व्यवस्थापन गर्न नसक्नु र भाखा नाघेको ऋण बढ्नुले अरु संस्थाहरुले एक्सेस ब्राण्ड अडिट गर्न नसकेका हुन् । ऋण लगानी भइसकेपछि असुली गर्छु भनेर लागियो भने असुलीमा समस्या हुने हो । लगानी गर्नुपूर्वको प्रक्रियालाई हामीले विशेष ध्यान पुर्याएका छौं । ऋण लगानी गर्नैपर्छ भन्दापनि सदस्यलाई दिएको ऋण बोझ हुन्छ कि सम्पत्ति जोड्नलाई हुन्छ भन्ने कुराको विश्लेषण पहिला गर्छौं । संस्थामा पैसा छ व्यापार गर्ने हो भन्ने तरिकाले ऋण लगानी गरियो भने उठाउन सकिँदैन । सदस्यले लिएको ऋण तिर्न सक्छ भन्ने विश्लेषण गरेर मात्रै लगानी गर्ने भएको हुनाले भाखा नाघेको ऋण व्यवस्थापन गर्न धेरै समस्या छैन । एकपटक एक्सेस ब्राण्ड पाइसकेका संस्थाहरुको सबै इण्डिकेटर ठिकै हुन्छ । बिग्रेको इण्डिकेटर भनेकै भाखा नाघेको ऋण हो । लगानीपूर्वको विश्लेषण हाम्रो बलियो पक्ष रहेको छ । संस्थागत पुँजी हामीसँग १० प्रतिशतभन्दा माथि छ । यो आर्थिक वर्षको अन्त्यसम्म ११ प्रतिशतमाथि संस्थागत पुँजी पुर्याउने लक्ष्य रहेको छ ।
सहकारीले दिने सेवामा पनि बैंक तथा फाइनान्सले दिने जस्तै प्रविधिको कुरा पनि जोडिन थाले, चण्डेश्वरीले प्रविधिको प्रयोगलाई कसरी अगाडि बढाएको छ ?
बैंकिङ प्रणालीमा प्रयोग भएका टेक्नोलोजीमध्ये हामीसँग नभएको चेक क्लियरिङ मात्र हो । हाम्रो संस्थाको चेक अर्को संस्थामा क्लियरिङ हुँदैन । त्यसबाहेक मोबाइल बैंकिङ, एटिएम, कनेक्ट आइपीएस, क्यूआर कोड, फोन पे, बैंक ट्रान्सफर जस्ता सबै सेवा सुविधा हामीले सञ्चालनमा ल्याएका छौं । कानुनको अभावले गर्दा चेक क्लियरिङको भने सुविधा दिन सकिएको छैन । सदस्यहरु टेक्नोलोजीप्रति कति साक्षर छन् त्यहि कुराले प्रविधिको प्रयोगलाई बढाउँछ । हामी त्यति धेरै असफल छैनौं । कुनै समय एटिएमको जमाना थियो । अहिले त्यो फेजआउट हुने अवस्थामा पुगिसक्यो । मान्छेले फिजिकल क्यास बोक्न छोडिसके । पैसा नबोकेपनि मेची महाकाली घुम्न सक्ने अवस्था भइसक्यो । डिजिटल वालेटले सहज बनाएको छ । हामीसँग भएका सदस्यमध्ये ३० प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गर्छन् ।
संस्थाको ध्येय के छ ?
प्रविधिमैत्री सेवामार्फत् सदस्यहरुको वित्तीय आवश्यकता पूर्ण रुपमा पुरा गरी दिगो सहकारी बनाउने लक्ष्यका साथ अगाडि बढेका छौं ।
बितेका २ वर्षयता नेपालको सहकारी अभियान संकटबाट गुज्रिरहेको छ । सहकारीमा वित्तीय संकट आउनुको कारण तपाईंलाई के लाग्छ ?
सहकारीको नेतृत्व नै यसमा मुख्य दोषी छ । आर्थिक मन्दी, वित्तीय संकट र विभिन्न कुरालाई दोष लगाइन्छ । तर मुख्य दोषी नेतृत्वकर्ता नै हुन् । आर्थिक चक्रमा तलमाथि भइराख्छ, यो स्वाभाविक प्रक्रिया हो । हरेक ८/१० वर्षमा आर्थिक चक्रमा तलमाथि हुन्छ नै । तर त्यसको पूर्वानुमान र तयारी गर्न नसक्नु अभियानको कमजोरी हो । अहिले पनि समुदायमा आधारित धेरै संस्था राम्रोसँग सञ्चालन भइराखेका छन् । कस्ता संस्थामा समस्या आएको छ, त्यो हामीले हेर्नुपर्छ । समस्या आएको सहकारी संस्थामा सुशासनको अवस्था कस्तो थियो ? लगानी कसरी र कहाँ गरेका थिए ? ती सबै कुराको विश्लेषण गरेपछि मात्रै समस्या कसरी आयो भनेर वास्तविकतामा पुग्न सकिन्छ । मुख्य समस्या भनेको सदस्यहहरुको बचतलाई सही तरिकाले परिचालन गर्न नसक्नु हो । जथाभावी लगानी र सीमित व्यक्तिले मात्र लाभ लिँदा सहकारीमा समस्या भएको हो । सामुहिक रुपमा संकलन गरेको बचत सामुहिक रुपमा नै लगानी गर्नुपर्नेमा त्यसो हुन नसक्दा केहि सहकारीमा समस्या आएको देखिन्छ । अर्थतन्त्रमा आएको मन्दीले संस्थाको वित्तीय कारोबारमा असर पार्छ तर अस्तित्व नै संकटमा जाने अवस्था आउनुमा बजारको मात्र नभई सहकारीभित्रको सुशासन र सञ्चालकहरुको कार्यप्रणाली नै जिम्मेवार देखिन्छ ।
सहकारी भनेको ठगी गर्ने संस्था हो र यसमा बचत गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव परेको छ ? यसबाट समाजलाई कसरी मुक्त गर्ने ?
संस्थागत रुपमा संस्थाले सदस्य र समुदायसँग जोडिएर काम गर्नुपर्छ । यसले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गर्छ । चण्डेश्वरीले आफ्ना सदस्य र समुदायसँग जोडिएर दिएको सेवाले स्थानीयस्तरमा मात्र सकारात्मक प्रभाव पार्ने भयो । राष्ट्रिय स्तरमा सकारात्मक सन्देश पुर्याउन राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक, नेफ्स्कुन, जिल्लागत र विषयगत संघहरुले भूमिका खेल्नुपर्छ । सबै संस्था समस्यामा छैनन् । केहि संस्थाका सञ्चालकले बदमासी गरे भन्दैमा सबै संस्थाका सञ्चालकले फटाइँ गर्दैनन् भन्ने सन्देश दिनुपर्यो । कुनै पनि जात र थर फटाहाँ हुँदैनन् व्यक्ति विशेष मात्र फटाहा हुन्छ भनेजस्तै फलानो नामको सहकारीका सञ्चालक मात्र फटाहा हुन् भन्ने कुरा आम समुदायलाई बुझाउनुुपर्छ । हामीसँग यति प्रतिशत तरलता छ, जगेडा तथा अन्य कोष छ, शेयरपुँजी छ भन्ने होइन । सबै सदस्यले ती कुरा टेक्निकल रुपमा विश्लेषण गर्न सक्दैनन् । कुनै संस्थामा सदस्य बन्नुपूर्व त्यो संस्थाले नियमति रुपमा साधारणसभा गरेको छ कि छैन, सदस्यलाई साधारण सभामा बोलाएको छ कि छैन, साधारणसभामा के कस्ता विषयमा छलफल हुन्छन् ? त्यसलाई हेर्नुपर्छ । अर्कोतर्फ संस्थाले वार्षिक प्रतिवेदनहरु प्रकाशित गरेर सदस्यहरुमाझ वितरण गर्ने गरेको छ कि छैन, ब्याजदर चलनचल्ती भन्दा अस्वाभाविक दिएको छ कि छैन ? त्यसमा समेत बिचार गर्नुपर्छ । सन्दर्भ ब्याजदर १६ प्रतिशत छ तर कतिपय सहकारीले १७ प्रतिशत ब्याजदरमा बचत उठाइरहेका छन् भने त्यस्ता संस्थामा बचत गर्दा सतर्क हुनुपर्छ । समुदायमा आधारित भएको छ कि छैन ? सञ्चालहरुले कसरी काम गरिराखेका छन् ? सञ्चालक सामाजिक वा व्यवसायिक कुन पृष्ठभूमिका छन् भनेर ख्याल गर्नुपर्छ । संस्थाले सदस्यसँग कत्तिको सम्पर्क राखेको छ ? त्यसमा पनि ध्यान दिनुपर्छ । यी कुरालाई हेरेर मात्र सहकारी छनौट गर्नुपर्छ ।
सहकारी ऐनमा धेरै कुराको व्यवस्था गरिएपनि कार्यान्वयनमा लैजान सकिएको छैन । संविधानले परिकल्पना गरेको कुरा सहकारीले पूरा गर्न सक्लान् ?
नेपालमा सहकारीमाथि धेरै राजनीति भयो । बचतऋण सहकारी माथि राजनीति हुनु भनेको जनताको पैसामा राजनीति गर्नु हो । जति समस्या आएका सहकारीका सञ्चालकहरु छन् राजनीतिक लिंकमा बसेर पार्टी र सरकारलाई प्रभावमा पारेको देखिन्छ । त्यसले गर्दा ऐन कार्यान्वयनमा पनि सरकार उदासिन जस्तो देखियो । अब बचतऋणको कारोबार गर्ने सहकारीका लागि छुट्टै ऐनको आवश्यकता छ । यी संस्थाको नियमन गर्न दोश्रो तहको नियामकिय निकाय बन्नुपर्छ । सहकारी विभागसँग बचत तथा ऋण सहकारीको अनुगमन गर्नसक्ने दक्ष जनशक्ति नहुन सक्छ । ठूला सहकारी संस्थालाई राष्ट्र बैंकको अर्को युनिट गठन गरेर अनुगमन गर्नुपर्ने देखिन्छ । स्वतन्त्र संरचनामा कर्मचारी भर्नादेखि अरु कामहरु गर्न छुट्टै कानुनको व्यवस्था हुन्छ । त्यसबाट दक्ष जनशक्तिले संस्थाहरुको अनुगमन गर्न सक्ने बातावरण बन्छ र सहकारीमा रहेको बेथिति पनि हट्छ । यो भयो भने सहकारी समाजवादमा पुग्ने माध्यमको रुपमा रहन्छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रका लागि सहकारी झनै आवश्यक छ । वित्तीय सेवाबाट धेरै टाढा रहेका मानिसलाई सेवा दिने सहकारी नै हो । त्यस्ता समुदायका मानिसबाट एकदुई सय रुपैया बचत लिएर उनीहरुको भविष्य निर्माण गर्न सहकारी नै उपयुक्त माध्यम हुन्छ । सानो सानो पुँजीलाई राष्ट्र निर्माणमा कसरी लगानी गर्न सकिन्छ, उत्पादकत्व कसरी बढाउन सकिन्छ ? जनतालाई स्वरोजगार बनाउन कसरी काम गर्न सकिन्छ । यस भित्र सुशासनलाई कसरी कायम गर्न सकिन्छ भन्ने कुरामा राज्यले पनि सोच्नुपर्ने देखिन्छ ।
माधव कुमार खड्का