२६ वर्षअघि वित्तीय संस्थाको रुपमा स्थापित प्रोग्रेसिभ फाइनान्सको अवस्था जोखिमपूर्ण देखिएको छ । यति लामो अवधिसम्म वित्तीय क्षेत्रमा क्रियाशील वित्तीय संस्था भएर पनि फाइनान्सले लाभांश वितरण गर्न सक्नेगरी नाफा आर्जन गर्न सकेको छैन । पछिल्लो २६ वर्षको इतिहासमा प्रोग्रेसिभ फाइनान्सले जम्मा १ पटक ६ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा त फाइनान्स ४५ करोड रुपैया घाटामा देखिएको छ भने निष्क्रिय कर्जा अनुपात ११.४५ प्रतिशत पुगेको छ ।
वित्तीय क्षेत्रको दोश्रो संस्थाको रुपमा २०५१ साल अशोज १४ गते साविक मर्चेण्ट फाइनान्सको नाममा संस्था रजिष्ट्रार कार्यालयमा दर्ता भई उक्त फाइनान्सले कारोबार शुरु गरेको थियो । शुरुका दिनमा न्यूरोड आसपासका व्यापारिक समुहद्वारा सञ्चालनमा आएको भएपनि पटकपटक सञ्चालक समुह परिवर्तन हुँदै आएको छ । पछिल्लो ६ वर्षदेखि भने फाइनान्समा ज्यापु समाज ललितपुरका व्यक्तिहरुको संलग्नता रहेको छ ।
शुरुका दिनमा ५० लाख रुपैयाँ भन्दा कम चुक्ता पुँजीमा स्थापना भएको फाइनान्सले यो अवधिमा पटकपटक हकप्रद शेयर जारी गरी हाल ८५करोड ६१ लाख चुक्तापुँजी पुर्याएको छ । जुन समयमा हालको सञ्चालक समुहले संस्था टेकओभर गर्यो, त्यतिबेला संस्थाको चुक्ता पुँजी २१ करोड नजिक मात्र रहेको थियो ।
हकप्रद शेयर थप गरी हालको पुँजी कायम गर्न सफल भएको प्रोग्रेसिभ फाइनान्सको कर्जा लगानी भने समस्यामा रहेको देखिन्छ । राष्ट्र बैंकको नीति, नियम र निर्देशन विपरीत केहि फर्म तथा व्यवसायलाई गरेको लगानी डुब्ने अवस्थामा पुगेको हो । विगतका दुई वर्षमा निक्षेप र कर्जामा बढोत्तरी गर्न सफल भएतापनि धितो मुल्यांकन र धितो रोक्का समेत नगरी कतिपय कर्जा लगानी गरिएको पाइएको छ ।
हालै नेपाल राष्ट्र बैंकबाट वार्षिक रुपमा हुने गरेको वित्तीय संस्थाहरुको विशेष निरिक्षणका क्रममा फाइनान्सबाट महर्जन बिजनेस एसोसिएट्स प्रा.लि. लाई गरिएको करिब २० करोड रुपैया कर्जा लगानी राष्ट्र बैंकको नियम विपरीत भएको औंल्याएको छ । राष्ट्र बैंकको मिति २०८० मंसीर १९ गतेको निर्णयले उक्त कर्जा नियम विपरीत भएको ठहर गरेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) को खण्ड क बमोजिम उपरोक्त कर्जा लगानी गर्न सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिँदै राष्ट्र बैंकले २०८० पौष १३ गते पत्र काटेको छ । लगानी गर्ने क्रममा पुर्याउनुपर्ने पूर्ण प्रक्रिया पालनका नगरेको भन्दै राष्ट्र बैंकले सम्बन्धितलाई सचेत गराएको हो । फाइनान्समा यस किसिमको घटना भएको पहिलो पटक भने होइन । यस अघि राष्ट्र बैंकद्वारा जारी नीति नियम र निर्देशनलाई लत्याउँदै प्रक्रिया नपुर्याई कर्जा लगानी हुने गरेको विशेष सुत्र जनाउँछ ।
फाइनान्सको चालु आर्थिक वर्ष २०८०।८१ को पौष मसान्तसम्मको वित्तीय विवरण अुनसार निक्षेप ३९९ करोड र कर्जा ३९२ करोड रहेको छ ।
नेपालपत्र संवाददाता