शनिबार, आश्विन १७ गते २०८३

वित्तीय क्षेत्रको संकट हटाउन बैङ्कको लगानी सही ठाउँमा हुनुपर्छ: अर्थमन्त्री

माघ ११, २०८० बिहीबार
वित्तीय क्षेत्रको संकट हटाउन बैङ्कको लगानी सही ठाउँमा हुनुपर्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् । 

राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भएको र त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् बताए । ब्याजदर बढे पनि प्रतिफल नआएको भन्दै अर्थमन्त्री डा. महतले भने, “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”

बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताए। पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनले बताए । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उनले बताए। सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको उनको भनाइ थियो । 

मन्त्री डा. महतले वाणिज्य बैंक नम्बर वान बैंक बन्न सक्ने तर त्यसका लागि व्यवस्थापन र कर्मचारी जागरुक हुनुपर्ने उल्लेख गरे । उनले भने , ‘त्यसका लागि निजी बैंकले जस्तै व्यवस्थापनले ९ बजेसम्म काम गर्नुपर्‍यो भन्यो भने पनि तयार हुनुपर्छ। त्यहाँ यति बेला भन्न पाइँदैन । आज जतिबेलासम्म लाग्छ, त्यत्तिबेलासम्म काम गर्नुपर्छ । बजे भन्ने हुँदैन, अचेल बजे भनेको रिर्फेन्स मात्र हो । ५ बजेसम्म अफिस भनेको त्यो रिर्फेन्स हो । जति समय लागोस् काम पूरा हुनैपर्छ । यो हिसाबले बैंक अगाडि बढ्यो भने ट्रेड युनियनको माग केही पनि होइन ।’

ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताए। गत आर्थिक वर्षमा बैङ्कको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गर्नुहुँदै उहाँले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित भएको उनले जनाए । पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको पनि मन्त्री महतले  बताए ।