शुक्रबार, कार्तिक ७ गते २०८३

आर्थिक मन्दीका कारण दुग्ध पदार्थ खपतमा कमी, किसानले पाएनन् समयमै भुक्तानी 


माघ १०, २०८० बुधबार
आर्थिक मन्दीका कारण दुग्ध पदार्थ खपतमा कमी, किसानले पाएनन् समयमै भुक्तानी 

मकवानपुर जिल्लामा दैनिक ५० हजार लिटर दुध उत्पादन हुने गरेको भएपनि आर्थिक मन्दीका कारण दुग्धजन्य पदार्थको खपतमा कमी आउँदा किसानले समयमा भुक्तानी पाउन सकेका छैनन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दैनिक ५० हजार लिटर दुध सहकारी संस्थामार्फत संकलन गरी बजारमा पठाएको भएपनि आर्थिक मन्दीका कारण विक्रीवितरण सुस्त हुँदा किसानले समयमा भुक्तानी नसकेका हुन् । संघका व्यवस्थापक कुमारमणी दहालले संघले ६२ वटा संस्थाबाट दैनिक ५० हजार लिटर दुध संकलन गरेर विक्री वितरण गर्दै आएको बताए । 

पछिल्लो समय उक्त मात्रामा दैनिकरुपमा दुध उत्पादन हुँदै आएको भए पनि मुलुकमा आएको आर्थिक मन्दीका कारण मकवानपुर जिल्लाले नै पहिलो पटक मिल्क होलिडेको सामान गर्नु परेको छ । अर्को तर्फ भारत लगायतका छिमेकी देशबाट अघोषित रुपमा दुधको आयात भएकाले किसानले थप मार भोग्नु परेको व्यवस्थापक दहाल बताउँछन् । विगत केही महिना दुध विक्री नहुँदा आफुहरु आर्थिक संकटमा रहेको र पछिल्लो समय निजी तथा सरकारी उद्योगहरुले दुध किने पनि समय भुक्तानी नपाएको उनले जनाए । हिजो गाईभैंसीमा लम्पी स्किन रोगका कारण दुध उत्पादन घटेको र अहिले प्रशस्त दुध उत्पादन भए पनि बजारबाट समयमा भुक्तानी पाउन नसकेको उनले गुनासो गरे । आर्थिक मन्दीका कारण बजारीकरण गर्न धेरै समस्या भएको र ४० करोड भन्दा माथी रकम संस्थाहरुलाई भुक्तानी दिनुपर्ने दायित्व रहेको उनले बताए । अर्कोतर्फ युवा पुस्ता विदेशिने, वृद्धवृद्धालाई दुग्ध पदार्थ नपच्ने र फुटपाथ व्यवसाय गर्न नपाउने जस्ता कारणले पनि दुग्धपदार्थको खपत घटेको उनको भनाई छ ।

त्यसैगरी संघले नीजि र सरकारी उद्योगबाट ४२ करोड रकम लिन बाँकी रहेको छ । सदस्य संस्थाबाट जतिमा किनेको हो तेतिनै मूल्यमा विक्री गर्दा पनि संघको बार्षिक कारोवार ठुलो हुने गरेको छ । संघमा आवद्ध ६२  संस्था मध्ये ५४ वटा संस्था नाफा नोक्सानमा सहभागी हुने शेयर सदस्यको रुपमा रहेका छन् । संघले बहुउद्देश्यीय, साना किसान र कृषि सहकारी संस्थालाई सदस्यता दिन नमिल्ने कानुनी प्रावधान रहेको छ । तर संघले ति संस्थाहरुले उत्पादन गरेको दुधको पनि बजारीकरणमा भने सहयोग पुर्याउदै आएको छ । ६२ संस्थाका १२ हजार सदस्य पशुपालन पेशामा आवद्ध रहेको संघको तथ्याङ्क छ । सुरुवाती चरणमा ८/१० हजार लिटर दुध उत्पादन हुने गरेकोमा अहिले पशुपालनमा आएको व्यवसायिकरणले हाल बार्षिक १ करोड ५० लाख लिटरको हारहारीमा दुध संकलन गररु विक्री हुने गरेको छ। 

सरकारले मकवानपुर गढी गाउँपालिकालाई दुधको पकेट क्षेत्रको रुपमा लिएको छ र उक्त गाउँपालिकमा मात्रै दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको छ । विगतमा दुध उत्पादक कृषकलाई सरकारले प्रतिलिटर दुधमा १/२ रुपैया अनुदान दिने गरेको भए पनि अहिले त्यस्तो अनुदान नभएको उनले सुनाए । राज्यले फ्याटको आधारमा न्युनतम समर्थन मूल्य ७.५० पैसा र ४.५० पैसाप्रति एसएनएफ तोकिदिएको छ । ४ प्रतिशत फ्याट र ८ प्रतिशत  एसएनएफ रहेको दुधको प्रतिलिटर ६५ रुपैयाँ पाउने उनले बताए । भैसीको दुधमा फ्याट बढी हुने भएकाले कृषकले ८५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् । गुणस्तरको आधारमा मूल्य निर्धारण हुने र सरदर लागत ७० रुपैया पर्ने गरेको छ । संस्थाहरुले प्रति के.जी ३.५० रुपैया संस्था व्यवस्थापन खर्च समेत पाउने गरेका छन् । राज्यले तोकेको भन्दा एक पैसा पनि तल किसानलाई मूल्य हुन नदिने र समर्थन मूल्य नदिने संस्थाहरुलाई संघले सहजीकरण समेत नगर्ने उनले बताए ।

दुधको मुख्य बजार काठमाडौं उपत्यका र पोखरा रहेको छ । १० हजार लिटर हेटौंडा दुग्ध विरतण आयोजनाले, १० हजार लिटर दुग्ध विकास संस्थानले, ५ हजार लिटर संघले र बाँकी ५० देखि ६० प्रतिशत दुध काठमाडौं र पोखरामा विक्रीका लागि पठाइने गरेको छ । संघले दुग्ध जन्य वस्तु उत्पादनको लागि उद्योगको सुरुवात गरेको भए पनि बजारको भने समस्या रहेको उनले सुनाए । संघले दही, घ्यु, पनिर र खुल्ला मख्खन उत्पादन गर्दै आएको छ । निकट भविष्यमा आइसक्रिम, मसालेदार मोही उत्पादन गर्ने योजना बनाएको भए पनि बजारको भने समस्या रहेको उनको बुझाई छ ।

सरकारले दुग्धजन्य उत्पादन पनिर, घ्यू, आइसक्रिम लगायतमा भ्याट लगाएको भएपनि विदेशबाट आयात हुने डेरी ह्वाइटमा भ्याट नलाग्नु दु:खद भएको उनको भनाई छ । सरकारले लागत घटाएर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिनुपर्नेमा उनको जोड छ । त्यसैगरी उत्पादन लागत घटाउन बहुवर्षीय र पोषिला घाँस लगाउन र आयातित दानापराल घटाउन सके लागत घट्ने उनको सुझाव छ । आयातित दानापरालमा निर्भर होउञ्जेल उत्पादन लागत बढ्ने हुँदा किसानले लाभ नसक्ने भन्दै घाँसमा आधारित पशुपालन गर्नुपर्नेमा जोड दिए । 

यसरी सुरु भएको थियो दुग्ध संघ

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ २०४७ साल भाद्र २५ गते जिल्ला स्तरको पहिलो भेलाबाट स्थापना भएको हो । यस अघि पनि दुग्ध विकास संस्थान र दुग्ध वितरण आयोजना हेटौंडाका विभिन्न स्थानहरुमा दुग्ध संकलन केन्द्रहरु थिए । तिनै केन्द्रहरुलाई पछि दुग्ध उत्पादक संस्थामा परिवर्तन गर्दै जाँदा सहकारी संस्था गठन भएपछि संघको आवश्यकता महसुस गरेर २०४७ सालमा तदर्थ समिति र गठन गरी २०४९ साल चैत्र २२ गते विधिवत रुपमा यो संघ गठन भएको हो ।

संघ स्थापना भएको ३० बर्ष पुगेको छ र यस संघमा जिल्लामा रहेका ६३ वटा संस्था आवद्ध रहेका छन् । संघले ६२ वटा प्रारम्भिक सहकारी संस्थाले उत्पादन गरेको दुध एउटै छानामुनिबाट विक्री वितरण गर्दै आएको संघका व्यवस्थापक दहालले बताए । संघले सदस्य संस्थाहरुले उत्पादन गरेको दुध विक्री वितरणमा सहजीकरण गर्दै आएको र त्यस बापत संघले एक रुपैया पनि नलिने उनको भनाई छ । नीजि क्षेत्रबाट सञ्चालित दुध उद्योग र दुग्ध विकास संस्थानलाई संघले आलोपालोमा दुध विक्री गर्ने गरेको छ । संघको ४२ ठाउँमा दुग्ध चिस्यान केन्द्र रहेको र ७० हजार लिटर दुध भण्डारण गर्न सक्ने क्षमता रहेको दहालले जानकारी दिए । तिनै चिस्यानकेन्द्रमा नै गएर डेरी उद्योगका ट्याङ्करले दुध संकलन गर्ने गरेका छन् । नीजि क्षेत्रलाई एउटै छानामुनीबाट दुध उपलब्ध गराए वापत उनीहरुबाट भने केही  सेवा सुविधा लिने गरेको उनले बताए ।

स्थानीय तह र प्रदेश सरकारले दुग्धजन्य उद्योग स्थापनाका लागि समेत सहयोग गरेका छन् । संघको ५ करोडको हाराहारी सम्पत्ति रहेको छ । उद्योगालाई पूर्णता दिन थप एक करोड लाग्ने अनुमान संघको छ । उद्योग स्थापनाका लागि शुरुमा प्लान इन्टरनेशनलले ५० प्रतिशत लागत अनुदान दिएको थियो । संघले २०५९ सालमा पहिलो चिस्यान केन्द्रको रुपमा सामरीमा स्थापना गरेको थियो । २०६३ पछि संघले आफ्नै घरजग्गा जोडेर काम गर्दै आएको छ । संघमा आवद्ध संस्थाका सदस्यमध्ये २०० भन्दा बढी किसानलाई संघले बिग फार्मरका रुपमा पहिचान गरेको छ । उनीहरु न्यूनतम १० देखि ५०, ६० वटासम्म गाईभैंसी पालन गर्दै आएको दहालले जानकारी दिए ।