माघ महिनाका लागि बैंकहरुले घटाए ब्याजदर, मुद्दतीमा अधिकतम ८ प्रतिशत ब्याज
माघ महिनादेखि लागु हुने गरी अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। १५ वाणिज्य बैंकले ब्याजदरसम्बन्धी सूचना प्रकाशित गरेकाेमा १४ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
एनआईसी एसिया बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएर माघ महिनादेखि ८.०६५ प्रतिशत तय गरेको छ।
कुमारी बैंकले माघ महिनामा मुद्दती निक्षेपमा न्युनतम ६.५० प्रतिशतदेखि अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। पुस महिनामा यस बैंकले व्यक्तिगत मुद्दतीतर्फ ९.३१ प्रतिशत ब्याजदर थियो ।
प्रभु बैंकले पनि माघका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले व्यक्तिगत मुद्दतीतर्फ न्युनतम ६.५६५ प्रतिशतदेखि अधिकतम ८.०६५ प्रतिशत ब्याजदर कायम गरेको छ।
लक्ष्मी सनराइज बैंकले पनि माघका लागि मुद्दती निक्षेपको ब्याजदर न्युनतम ७.५० प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म दिने भएको छ। पुस महिनामा यस बैंकको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको थियो।
नेपाल बैंक लिमिटेडले पनि मुद्दती निक्षेपको ब्याज घटाएको छ। पुसमा ८.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर दिएकोमा माघमा ८ प्रतिशत दिने भएको छ।
राष्ट्रिय वाणिज्य बैंकले पनि यस महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ महिनादेखि ५ वर्षको अवधिको मुद्दती निक्षेपमा ८.०७ प्रतिशत ब्याज दिने भएको छ।
नबिल बैंकले मुद्दती निक्षेपको ब्याजदर ८.६ प्रतिशतबाट घटाएर ८.१ प्रतिशत कायम गरेको छ। यस्तै यस बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दतीको ब्याजदर ६.६० प्रतिशत र १ वर्ष अवधिभन्दा बढीको ब्याजदर ७.६ प्रतिशत कायम गरेको छ।
प्राइम कर्सियल बैंकले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ८.१० प्रतिशत तोकेको छ। यस बैंकले ३ महिना अवधिको मुद्दतीको ब्याजदर ६.५० प्रतिशत र ६ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ७ प्रतिशत कायम गरेको छ।
ग्लोबल आइएमई बैंकले माघका लागि निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले पुसमा साधारण मुद्दतीको ब्याजदर अधिकतम ८.० प्रतिशत निर्धारण गरेकोमा माघमा ८.१० प्रतिशतमा झारेको छ। यस्तै ३ महिनादेखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दतीको ब्याजदर ७ प्रतिशत कायम गरेको छ।
यस्तै हिमालयन बैंकले पनि साधारण मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। पुसमा ८.६० प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको यस बैंकले माघका लागि ८.१५ प्रतिशत कायम गरेको छ।