शनिबार, कार्तिक ८ गते २०८३

पर्यटन ऐन संशोधन गर्न मन्त्रालयले प्रदेश सरकारबाट लियो सुझाव


पौष २६, २०८० बिहीबार
पर्यटन ऐन संशोधन गर्न मन्त्रालयले  प्रदेश सरकारबाट लियो सुझाव

पर्यटन ऐन २०३५ मा संशोधनका लागि काम गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश सरकारसँग राय लिएको छ । मन्त्रालयले ऐन संशोधनका लागि तयार पारेको मस्यौदामाथि बुधबार सातै प्रदेशका पर्यटन मन्त्री र सचिवहरुसँग छलफल गरेको हो ।

छलफलमा संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय मिलाउनेबारे छलफल भएको मन्त्रालयले जनाएको छ । ऐनमार्फत विश्व सम्पदा सूचीमा रहेका सम्पदाबाहेक सबै विकास कोष र समितिलाई प्रदेशमा पठाउनेबारे समेत छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले व्यवस्था परिवर्तन भएपनि ऐन र कानुन पुरानो भएका कारण अपेक्षित नतिजा निकाल्न असहज भएको बताए । 

मन्त्री किरातीले भने, ‘लोकतान्त्रिक संघिय गणतन्त्रलाई संस्थागत गर्न जरा भुइँ तहसम्म हाल्न अन्तर्राष्ट्रिय कुटनीतिक महत्व राख्ने बाहेकका अधिकांश अधिकार प्रदेशमा हस्तान्तरण गर्नुपर्छ ।’ ऐन संशोधनका लागि अब निजी क्षेत्र र सरोकारवालासँग छलफलको तयारी गरिएको छ । यसअघि खुल्ला रुपमा लिखित सुझाव समेत मागिएको थियो ।