बुधबार, भाद्र ३ गते २०८३

सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानीको छैन तथ्यांक

भाद्र २८, २०७८ सोमबार
सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानीको छैन तथ्यांक

 

मुलुकमा खुलेका सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवाज सर्वत्र उठेपनि सहकारी संस्थाहरुले त्यस क्षेत्रमा कति लगानी गरेका छन् भन्ने यकिन तथ्यांक छैन ।

मुलुकभर रहेका २९ हजारको हाराहारीमा रहेका सहकारी संस्थाहरुले ५ खर्ब ९४ अर्ब ऋण परिचालन गरेको भएतापनि उत्पादनमूलक एवं रोजगारी सिर्जना गर्ने क्षेत्रमा कति लगानी भएको छ भन्ने यकिन तथ्यांक पाईंदैन ।

सहकारी संस्थाहरुलाई उत्पादन र व्यवसायमा जोडी मुलुकको गरिबी घटाउने, रोजगारी बढाउने र उत्पादकत्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य  राज्यको छ । तर सहकारी संस्थाहरुको अधिकांश लगानी ट्रेडिङ र अनुत्पादक क्षेत्रमा नै गएको देखिन्छ ।

सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेल सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा कति लगानी गरेका छन् भनेर छुट्टै अध्ययन नभएको बताउँछन् । तर  सहकारी टिक्ने हो भने उत्पादनमूलक क्षेत्रमा जानुको विकल्प नरहेको उनको भनाई छ । ‘अहिले बजारमा समस्याग्रस्त हुने सहकारीहरुमा घरजग्गा र अनुत्पादक क्षेत्रमा लगानी गर्ने संस्थाहरु नै पाइएको छ,’ उनले भने ‘कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्ने संस्था टाट पल्टिएको सुन्नमा आएको छैन ।’

बचतऋण बाहेक कृषि र बहुद्देश्यीय सहकारीले उत्पादनमूलक र रोजगारी सिर्जनाको क्षेत्रमा काम लगानी बढाएको देखिन्छ । बचतऋण सहकारीले पनि लगानी गर्दा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदा उचित हुन्छ । उनले भने ‘तर सहकारीहरुले त्यस क्षेत्रमा कति लगानी गरेका छन् भन्ने यकिन तथ्यांक छैन ।’

प्रदेश नं १ का सहकारी रजिष्ट्रार बलराम निरौला आफ्नो मातहत रहेका ठूलो कारोबार गर्ने सहकारीहरुको अनुगमन गर्दा ती संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा राम्रै लगानी गरेको बताउँछन् । संस्थाहरुले ऋण लगानीको ठूलो हिस्सा उत्पादन र खरिदविक्रीको व्यवसायमा लगानी गरेको उनले बताए । केहि सहकारीले घरजग्गा व्यवसायमा पनि ठूलो मात्रामा लगानी गरेको र रजिष्ट्रार कार्यालयले घरजग्गामा कुल लगानीको २५ प्रतिशतभन्दा माथि लगानी नगर्न सतर्क गराउँदै आएको उनले बताए । 
प्रदेश नं १ मातहतका सहकारीले कुल ७८ अर्ब बचत संकलन गरी ८७ अर्ब ऋण परिचालन गरेको तथ्यांक कार्यालयको छ । कार्यालयले ऋण लगानी गर्दा भरसक ७० प्रतिशत माथि आयमूलक र उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाएको छ । त्यसैगरी बचत तथा ऋण सहकारी संस्थाहरुलाई परियोजनामा लगानी गर्दा ८० प्रतिशत संस्थाले र २० प्रतिशत सदस्य स्वयंले लगानी गर्न सुझाव दिएको छ ।

बचत ऋण सहकारीले पनि सदस्यमार्फत उत्पादनमूलक क्षेत्रमा नै बढि लगानी गर्ने हो र बहुउद्देश्यीय र कृषि सहकारीलाई त कानुनले नै ७० प्रतिशत उद्देश्यमूलक क्षेत्रमा लगानी गर्न भनेकाले त्यसतर्फ नै लगानी वृद्धि गर्दै जानुपर्ने बेला आएको रजिष्ट्रार निरौला बताउँछन् ।

 

उत्पादनमूलक क्षेत्रमा ऋणकाे माग न्यून

यता सहकारीकर्मीहरु भने आफुहरुले उत्पादन र आयमूलक क्षेत्रमा लगानी गर्न चाहेको भएपनि सदस्यबाट ती क्षेत्रमा लगानीका लागि न्यून माग आउने गरेको बताउँछन् । ग्रामीण र शहरोन्मुख क्षेत्रमा कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकिने भएपनि शहरी क्षेत्रमा त्यो सम्भव नभएको बताउँछन् । 

भक्तपुरमा अवस्थित सामुहिक साकोसका व्यवस्थापक कविन्द्र धौबञ्जार सहकारी क्षेत्रले मात्रै चाहेर उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्ने बताउँछन् । ‘हामीले बजारमा हेर्यौं भने मेड इन नेपालका सामानहरु २० प्रतिशत पनि छैनन् । ८० प्रतिशत भन्दा बढि वस्तु हामी भारत, चीन र अन्य देशबाट आयात गरिरहेका छौं ।’ उनले भने ‘नेपालमा उत्पादन धेरै कम छ । उत्पादन कम हुँदा रोजगार कम हुन्छ । यसको प्रभाव अर्थतन्त्रमा पर्छ । उत्पादनमूलक क्षेत्रलाई बढावा दिने सरकारको नीति नै छैन ।’ उनले थपे, ‘कसैले जग्गा तथा घर किन्न र विदेश जान ऋण माग्यो भने खुसीसाथ दिन्छौं । तर कसैले व्यापार व्यवसाय गर्छु भनेर आए ऋण मागेमा भने तिर्ला कि नतिर्ला भनेर शंका गरेर बस्छौं ।’

यो आम जनमानसको समस्या भएको उनी बताउँछन् । ‘हामीले उत्पादनलाई बढावा दिन सकेनौं । घरजग्गा र देखावटी कुरालाई मात्र बढावा दिने काम ग¥यौं ।’ उनले भने ‘अर्कोतर्फ सहकारीमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भनेर ऋण माग्नै आउँदैनन् । हरेकको चाहना घरजग्गामा लगानी गर्ने नै रहेको छ । हामीले कुनै समय घरजग्गामा लगानी नगर्ने भनेर रोक्यौं । तर त्यसले गर्दा हाम्रो कारोबारमा वृद्धि भएन । अन्य छेउछाउका संस्थाको कारोबारमा भने वृद्धि हुँदै गएको देखियो । त्यसपछि पुनः हामीले घरजग्गा खरिदका लागि ऋण दिन थाल्यौं ।’

काठमाण्डौको पुरानो सिनामंगलमा रहेको पाँचतारा साकोसकी व्यवस्थापक राधा कडरिया संस्थाले उत्पादन र आयमूलक क्षेत्रमा लगानी बढाउन पहिले देखिनै प्रयास गरेको भएपनि त्यो सम्भव नभएको बताउँछिन् । संस्थाले महिला सदस्यहरुमा सीप विकास गरी व्यवसायमा लगाउन बेकरी, पिज्जा तथा अचार बनाउने तालिम दिएको र ३० जना सदस्यले तालिमपश्चात् काम थालेको भएपनि एकाध वर्षमा नै सबैले छाडेको उनले बताइन् । संस्थाले तालिममार्फत सीप विकास गरी सहुलियत दरमा ऋण प्रदान र बजारको समेत व्यवस्था गरिदिन्छौं भन्दा पनि सदस्यहरुले व्यवसायमा निरन्तरता नदिएको उनले बताइन् । ‘शुरुको एकदुई लट दिदीबहिनीहरुले बनाएको अचार बजारमा पठाउँदा ग्राहकहरुबाट राम्रै माग आएको भएता पनि शहरिया महिलाहरु शौखिन स्वभावका भएकाले होला व्यवसायलाई निरन्तरता दिन चाहेनन्’ उनले थपिन् ‘ संस्थाको कार्यक्षेत्र काठमाण्डौ महानगरपालिका र कागेश्वरी मनहरा नपाका केहि वडा रहेका छन् । महानगरपालिकामा जग्गाको मुल्य महँगो भएकाले सदस्यहरुले कृषि गर्न सम्भव छैन, सबैको चाहना घरजग्गा र व्यापारमा नै छ ।’

संस्थाले केहि वर्ष अगाडि गाई र कुखुरापालनमा लगानी गरेतापनि सदस्हरुले त्यस पेशाबाट राम्रो प्रतिफल लिन नसक्दा ऋण उठाउन नै हम्मे परेको उनले सुनाइन् । संस्थाले सदस्यहरुलाई उत्पादन र रोजगारीमा जोड्न नयाँनयाँ स्किम ल्याउँदा पनि उनीहरुले त्यसतर्फ चासो नदेखाएको र कृषिमा त १० प्रतिशत ब्याजदरमा नै ऋण दिने नीति लिएको उनले सुनाइन् । उत्पादन र व्यवसाय सञ्चालनका लागि ऋण माग्न आउने सदस्यको संख्या न्यून छ । मुख्यतः ती क्षेत्रमा काम गर्नेमा मानिसको खाँचो छ भने राज्यको नीति नियम र मापदण्ड पनि उत्पादनमुखी छैन । सहकारीलाई सीमित घेराबन्दीमा राखिएको छ । शहरी इलाकाका सीमित कार्यक्षेत्र भएका संस्थालाइ कृषि र उत्पादनमूलक क्षेत्र ऋण लगानी गर्नुस् भन्दा व्यवहारिक नहुने तर्क उनको छ । संस्थाले पुँजी निर्माणका लागि उद्यम बचत खाता सञ्चालनमा ल्याएको र त्यसमा सदस्यहरुले दैनिक २०, ३० र ५० रुपैया बचत गर्न शुरु गरेको उनले जनाइन् । दैनिक रुपमा सो रकम बचत गर्नेको सदस्यको संख्या १५०० पु¥याउने र उनीहरुबाट जम्मा भएको बचत र संस्थागत पुँजी गरी ५ वर्षमा २३ करोड पुग्ने र त्यसलाई उत्पादनसँग जोड्ने संस्थाको योजना रहेको व्यवस्थापक कडरियाले बताइन् ।

उत्तरबाहिनी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक बसन्त श्रेष्ठ कृषि र उत्पादनमूलक क्षेत्रमा गरेको लगानी उठाउन गाह्रो भएको बताउँछन् । ती क्षेत्रमा ऋण लिएका कतिपय सदस्यहरु त व्यवसाय डुबाएर भागेको उनको अनुभव छ । कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रबाट राम्रो आम्दानी गर्न नभएकाले नै सदस्यहरु व्यवसायबाट पलायन भएको उनको भनाई छ । संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गरेको ३५ लाख रकम अझै उठाउन सकेको छैन । ‘यस्तो अवस्थामा कसरी थप लगानी गर्नु ?’ उनले भने, ‘सदस्यहरुले व्यवसाय गर्न भनेर ऋण लिन्छन् तर घरजग्गामा नै लगानी गर्छन् ।’ अधिकांश सहकारीको लगानी खुद्रा पसल, फेन्सी, व्यापार र घरघडेरीमा नै रहेको उनको बुझाई छ । 

 

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहजिकरण

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल लगानीको २५ प्रतिशत कृषि, जलविद्युत र सेवामूलक क्षेत्रमा गर्न बाध्यकारी व्यवस्था गरेको छ । तर सहकारीको नियामक निकाय सहकारी विभागले उत्पादन, रोजगारीमूलक र कृषि क्षेत्रमा लगानी गर्न भने पनि कुल लगानीको यति प्रतिशत ती क्षेत्रमा लगानी गर्नै पर्ने भनेको छैन ।

विशेषतः सहकारीहरुले कृषि, पर्यटन, रोजगारी सिर्जना र स्थानीयस्तरमा उत्पादन वृद्धि गर्न लगानी बढाउनुपर्ने भएपनि ती क्षेत्रमा सहकरीहरुको लगानी न्यून रहेको पाइन्छ । नगण्य संख्याका केहि सहकारीहरुले उत्पादन र आयमूलक क्षेत्रमा संस्था स्वयं र सदस्यहरुमार्फत लगानी परिचालन गरेको पाइन्छ ।

मुलुकमा जुन उद्देश्यले खुलेका सहकारी संस्था भएपनि प्रायजसो संस्थाले मूलतः बचतऋणको नै कारोबार गर्ने गरेका छन् । सहकारीहरुले सदस्यहरुमार्फत् उत्पादन वृद्धि गरीे आयात प्रतिष्थापनमा टेवा पु¥याउने अपेक्षा गरिएको भएतापनि सो अनुसारको काम हुन सकेको देखिँदैन ।

स्थानीय कच्चा पदार्थ, सीप र श्रोतको अधिकतम परिचालन गरी संस्थामा आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरण गर्नु सहकारीको दायित्व भएपनि अधिकांश संस्थाहरु सहकारी मुल्यमान्यता र सिद्धान्तअनुरुप नचल्दा सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण हुन सकेको छैन । सहकारीहरु नाफामा मात्रै केन्द्रित हुँदा नयाँ खाले साहुको रुपमा परिणत भइरहेको आभाष मिल्छ । सहकारीलाई उत्पादनमुलक क्षेत्रमा जोड्न राज्यका सबै निकायहरुले आव्हान गरे पनि कानुनी जटिलता र प्रतिफल नभएको भन्दै त्यस क्षेत्रमा लगानी गर्न सहकारीहरु चाहँदैनन् । नीतिगत र कानुनी जटिलताको अन्त्य गरी सहकारीलाई उत्पादनमा जोड्न बाध्यकारी व्यवस्था नगरेसम्म संस्थाहरुले स्वतःस्फूर्त ती क्षेत्रमा लगानी गर्ने देखिँदैन ।