मुलुकमा खुलेका सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवाज सर्वत्र उठेपनि सहकारी संस्थाहरुले त्यस क्षेत्रमा कति लगानी गरेका छन् भन्ने यकिन तथ्यांक छैन ।
मुलुकभर रहेका २९ हजारको हाराहारीमा रहेका सहकारी संस्थाहरुले ५ खर्ब ९४ अर्ब ऋण परिचालन गरेको भएतापनि उत्पादनमूलक एवं रोजगारी सिर्जना गर्ने क्षेत्रमा कति लगानी भएको छ भन्ने यकिन तथ्यांक पाईंदैन ।
सहकारी संस्थाहरुलाई उत्पादन र व्यवसायमा जोडी मुलुकको गरिबी घटाउने, रोजगारी बढाउने र उत्पादकत्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राज्यको छ । तर सहकारी संस्थाहरुको अधिकांश लगानी ट्रेडिङ र अनुत्पादक क्षेत्रमा नै गएको देखिन्छ ।
सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेल सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा कति लगानी गरेका छन् भनेर छुट्टै अध्ययन नभएको बताउँछन् । तर सहकारी टिक्ने हो भने उत्पादनमूलक क्षेत्रमा जानुको विकल्प नरहेको उनको भनाई छ । ‘अहिले बजारमा समस्याग्रस्त हुने सहकारीहरुमा घरजग्गा र अनुत्पादक क्षेत्रमा लगानी गर्ने संस्थाहरु नै पाइएको छ,’ उनले भने ‘कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्ने संस्था टाट पल्टिएको सुन्नमा आएको छैन ।’
बचतऋण बाहेक कृषि र बहुद्देश्यीय सहकारीले उत्पादनमूलक र रोजगारी सिर्जनाको क्षेत्रमा काम लगानी बढाएको देखिन्छ । बचतऋण सहकारीले पनि लगानी गर्दा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदा उचित हुन्छ । उनले भने ‘तर सहकारीहरुले त्यस क्षेत्रमा कति लगानी गरेका छन् भन्ने यकिन तथ्यांक छैन ।’
प्रदेश नं १ का सहकारी रजिष्ट्रार बलराम निरौला आफ्नो मातहत रहेका ठूलो कारोबार गर्ने सहकारीहरुको अनुगमन गर्दा ती संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा राम्रै लगानी गरेको बताउँछन् । संस्थाहरुले ऋण लगानीको ठूलो हिस्सा उत्पादन र खरिदविक्रीको व्यवसायमा लगानी गरेको उनले बताए । केहि सहकारीले घरजग्गा व्यवसायमा पनि ठूलो मात्रामा लगानी गरेको र रजिष्ट्रार कार्यालयले घरजग्गामा कुल लगानीको २५ प्रतिशतभन्दा माथि लगानी नगर्न सतर्क गराउँदै आएको उनले बताए ।
प्रदेश नं १ मातहतका सहकारीले कुल ७८ अर्ब बचत संकलन गरी ८७ अर्ब ऋण परिचालन गरेको तथ्यांक कार्यालयको छ । कार्यालयले ऋण लगानी गर्दा भरसक ७० प्रतिशत माथि आयमूलक र उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाएको छ । त्यसैगरी बचत तथा ऋण सहकारी संस्थाहरुलाई परियोजनामा लगानी गर्दा ८० प्रतिशत संस्थाले र २० प्रतिशत सदस्य स्वयंले लगानी गर्न सुझाव दिएको छ ।
बचत ऋण सहकारीले पनि सदस्यमार्फत उत्पादनमूलक क्षेत्रमा नै बढि लगानी गर्ने हो र बहुउद्देश्यीय र कृषि सहकारीलाई त कानुनले नै ७० प्रतिशत उद्देश्यमूलक क्षेत्रमा लगानी गर्न भनेकाले त्यसतर्फ नै लगानी वृद्धि गर्दै जानुपर्ने बेला आएको रजिष्ट्रार निरौला बताउँछन् ।
उत्पादनमूलक क्षेत्रमा ऋणकाे माग न्यून
यता सहकारीकर्मीहरु भने आफुहरुले उत्पादन र आयमूलक क्षेत्रमा लगानी गर्न चाहेको भएपनि सदस्यबाट ती क्षेत्रमा लगानीका लागि न्यून माग आउने गरेको बताउँछन् । ग्रामीण र शहरोन्मुख क्षेत्रमा कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकिने भएपनि शहरी क्षेत्रमा त्यो सम्भव नभएको बताउँछन् ।
भक्तपुरमा अवस्थित सामुहिक साकोसका व्यवस्थापक कविन्द्र धौबञ्जार सहकारी क्षेत्रले मात्रै चाहेर उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्ने बताउँछन् । ‘हामीले बजारमा हेर्यौं भने मेड इन नेपालका सामानहरु २० प्रतिशत पनि छैनन् । ८० प्रतिशत भन्दा बढि वस्तु हामी भारत, चीन र अन्य देशबाट आयात गरिरहेका छौं ।’ उनले भने ‘नेपालमा उत्पादन धेरै कम छ । उत्पादन कम हुँदा रोजगार कम हुन्छ । यसको प्रभाव अर्थतन्त्रमा पर्छ । उत्पादनमूलक क्षेत्रलाई बढावा दिने सरकारको नीति नै छैन ।’ उनले थपे, ‘कसैले जग्गा तथा घर किन्न र विदेश जान ऋण माग्यो भने खुसीसाथ दिन्छौं । तर कसैले व्यापार व्यवसाय गर्छु भनेर आए ऋण मागेमा भने तिर्ला कि नतिर्ला भनेर शंका गरेर बस्छौं ।’
यो आम जनमानसको समस्या भएको उनी बताउँछन् । ‘हामीले उत्पादनलाई बढावा दिन सकेनौं । घरजग्गा र देखावटी कुरालाई मात्र बढावा दिने काम ग¥यौं ।’ उनले भने ‘अर्कोतर्फ सहकारीमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भनेर ऋण माग्नै आउँदैनन् । हरेकको चाहना घरजग्गामा लगानी गर्ने नै रहेको छ । हामीले कुनै समय घरजग्गामा लगानी नगर्ने भनेर रोक्यौं । तर त्यसले गर्दा हाम्रो कारोबारमा वृद्धि भएन । अन्य छेउछाउका संस्थाको कारोबारमा भने वृद्धि हुँदै गएको देखियो । त्यसपछि पुनः हामीले घरजग्गा खरिदका लागि ऋण दिन थाल्यौं ।’
काठमाण्डौको पुरानो सिनामंगलमा रहेको पाँचतारा साकोसकी व्यवस्थापक राधा कडरिया संस्थाले उत्पादन र आयमूलक क्षेत्रमा लगानी बढाउन पहिले देखिनै प्रयास गरेको भएपनि त्यो सम्भव नभएको बताउँछिन् । संस्थाले महिला सदस्यहरुमा सीप विकास गरी व्यवसायमा लगाउन बेकरी, पिज्जा तथा अचार बनाउने तालिम दिएको र ३० जना सदस्यले तालिमपश्चात् काम थालेको भएपनि एकाध वर्षमा नै सबैले छाडेको उनले बताइन् । संस्थाले तालिममार्फत सीप विकास गरी सहुलियत दरमा ऋण प्रदान र बजारको समेत व्यवस्था गरिदिन्छौं भन्दा पनि सदस्यहरुले व्यवसायमा निरन्तरता नदिएको उनले बताइन् । ‘शुरुको एकदुई लट दिदीबहिनीहरुले बनाएको अचार बजारमा पठाउँदा ग्राहकहरुबाट राम्रै माग आएको भएता पनि शहरिया महिलाहरु शौखिन स्वभावका भएकाले होला व्यवसायलाई निरन्तरता दिन चाहेनन्’ उनले थपिन् ‘ संस्थाको कार्यक्षेत्र काठमाण्डौ महानगरपालिका र कागेश्वरी मनहरा नपाका केहि वडा रहेका छन् । महानगरपालिकामा जग्गाको मुल्य महँगो भएकाले सदस्यहरुले कृषि गर्न सम्भव छैन, सबैको चाहना घरजग्गा र व्यापारमा नै छ ।’
संस्थाले केहि वर्ष अगाडि गाई र कुखुरापालनमा लगानी गरेतापनि सदस्हरुले त्यस पेशाबाट राम्रो प्रतिफल लिन नसक्दा ऋण उठाउन नै हम्मे परेको उनले सुनाइन् । संस्थाले सदस्यहरुलाई उत्पादन र रोजगारीमा जोड्न नयाँनयाँ स्किम ल्याउँदा पनि उनीहरुले त्यसतर्फ चासो नदेखाएको र कृषिमा त १० प्रतिशत ब्याजदरमा नै ऋण दिने नीति लिएको उनले सुनाइन् । उत्पादन र व्यवसाय सञ्चालनका लागि ऋण माग्न आउने सदस्यको संख्या न्यून छ । मुख्यतः ती क्षेत्रमा काम गर्नेमा मानिसको खाँचो छ भने राज्यको नीति नियम र मापदण्ड पनि उत्पादनमुखी छैन । सहकारीलाई सीमित घेराबन्दीमा राखिएको छ । शहरी इलाकाका सीमित कार्यक्षेत्र भएका संस्थालाइ कृषि र उत्पादनमूलक क्षेत्र ऋण लगानी गर्नुस् भन्दा व्यवहारिक नहुने तर्क उनको छ । संस्थाले पुँजी निर्माणका लागि उद्यम बचत खाता सञ्चालनमा ल्याएको र त्यसमा सदस्यहरुले दैनिक २०, ३० र ५० रुपैया बचत गर्न शुरु गरेको उनले जनाइन् । दैनिक रुपमा सो रकम बचत गर्नेको सदस्यको संख्या १५०० पु¥याउने र उनीहरुबाट जम्मा भएको बचत र संस्थागत पुँजी गरी ५ वर्षमा २३ करोड पुग्ने र त्यसलाई उत्पादनसँग जोड्ने संस्थाको योजना रहेको व्यवस्थापक कडरियाले बताइन् ।
उत्तरबाहिनी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक बसन्त श्रेष्ठ कृषि र उत्पादनमूलक क्षेत्रमा गरेको लगानी उठाउन गाह्रो भएको बताउँछन् । ती क्षेत्रमा ऋण लिएका कतिपय सदस्यहरु त व्यवसाय डुबाएर भागेको उनको अनुभव छ । कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रबाट राम्रो आम्दानी गर्न नभएकाले नै सदस्यहरु व्यवसायबाट पलायन भएको उनको भनाई छ । संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गरेको ३५ लाख रकम अझै उठाउन सकेको छैन । ‘यस्तो अवस्थामा कसरी थप लगानी गर्नु ?’ उनले भने, ‘सदस्यहरुले व्यवसाय गर्न भनेर ऋण लिन्छन् तर घरजग्गामा नै लगानी गर्छन् ।’ अधिकांश सहकारीको लगानी खुद्रा पसल, फेन्सी, व्यापार र घरघडेरीमा नै रहेको उनको बुझाई छ ।
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहजिकरण
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल लगानीको २५ प्रतिशत कृषि, जलविद्युत र सेवामूलक क्षेत्रमा गर्न बाध्यकारी व्यवस्था गरेको छ । तर सहकारीको नियामक निकाय सहकारी विभागले उत्पादन, रोजगारीमूलक र कृषि क्षेत्रमा लगानी गर्न भने पनि कुल लगानीको यति प्रतिशत ती क्षेत्रमा लगानी गर्नै पर्ने भनेको छैन ।
विशेषतः सहकारीहरुले कृषि, पर्यटन, रोजगारी सिर्जना र स्थानीयस्तरमा उत्पादन वृद्धि गर्न लगानी बढाउनुपर्ने भएपनि ती क्षेत्रमा सहकरीहरुको लगानी न्यून रहेको पाइन्छ । नगण्य संख्याका केहि सहकारीहरुले उत्पादन र आयमूलक क्षेत्रमा संस्था स्वयं र सदस्यहरुमार्फत लगानी परिचालन गरेको पाइन्छ ।
मुलुकमा जुन उद्देश्यले खुलेका सहकारी संस्था भएपनि प्रायजसो संस्थाले मूलतः बचतऋणको नै कारोबार गर्ने गरेका छन् । सहकारीहरुले सदस्यहरुमार्फत् उत्पादन वृद्धि गरीे आयात प्रतिष्थापनमा टेवा पु¥याउने अपेक्षा गरिएको भएतापनि सो अनुसारको काम हुन सकेको देखिँदैन ।
स्थानीय कच्चा पदार्थ, सीप र श्रोतको अधिकतम परिचालन गरी संस्थामा आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरण गर्नु सहकारीको दायित्व भएपनि अधिकांश संस्थाहरु सहकारी मुल्यमान्यता र सिद्धान्तअनुरुप नचल्दा सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण हुन सकेको छैन । सहकारीहरु नाफामा मात्रै केन्द्रित हुँदा नयाँ खाले साहुको रुपमा परिणत भइरहेको आभाष मिल्छ । सहकारीलाई उत्पादनमुलक क्षेत्रमा जोड्न राज्यका सबै निकायहरुले आव्हान गरे पनि कानुनी जटिलता र प्रतिफल नभएको भन्दै त्यस क्षेत्रमा लगानी गर्न सहकारीहरु चाहँदैनन् । नीतिगत र कानुनी जटिलताको अन्त्य गरी सहकारीलाई उत्पादनमा जोड्न बाध्यकारी व्यवस्था नगरेसम्म संस्थाहरुले स्वतःस्फूर्त ती क्षेत्रमा लगानी गर्ने देखिँदैन ।