नेपाल राष्ट्र बैंकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७९/८० ले मधेश प्रदेशमा पूर्वाधार तथा रोजगारीका क्षेत्रमा विभिन्न सम्भावनाका साथसाथै चुनौति रहेकाे औंल्याएको छ ।
मधेश प्रदेशको भौगोलिक धरातल उपयुक्त रहेकाले ठूला उद्योगहरू स्थापना गरी सोबाट आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी श्रृजना हुने अवसर देखिन्छ । यसका साथै पुर्व पश्चिम राजमार्ग विस्तार तथा काठमाडौलाई तराईसँग जोड्ने फाष्ट ट्रयाक निर्माणको चरणमा रहेकोले यसबाट समेत रोजगारीका अवसर श्रृजना गर्न केही टेवा पुग्ने देखिन्छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला पूर्वाधारहरू तयार हुने नीतिगत निर्णय भईसकेको भए पनि काम अघि बढ्न सकेको छैन । सुनकोशी मरिन डाईभर्शनलाई सर्लाही जिल्लाको बागमती सिँचाई आयोजनामा जोड्ने जस्ता ठूला पूर्वाधार आयोजनाहरू अघि बढिरहेका छन् भने हुलाकी राजमार्ग पनि निर्माणको चरणमा रहेको छ ।
राष्ट्र बैंककाे अध्ययन अनुसार मधेश प्रदेशमा पूर्वाधार र रोजगारी क्षेत्रमा निम्नानुसार चुनौती तथा सम्भावनाहरू रहेका छन्।
सम्भावना
- मधेश प्रदेश भौगोलिक दृष्टिकोणले समतल भू–भागमा रहेकोले पूर्वाधार निर्माणको लागि तुलनात्मक हिसाबले कम लागतमा अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला पूर्वाधारहरूको विकास तथा निर्माण हुन सक्ने सम्भावना रहेको देखिन्छ ।
- कृषिजन्य उद्योगसँग सम्बन्धित पूर्वाधारको विकास तथा सेवाको विस्तार गरी कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने सम्भावना रहेको छ ।
- मधेश प्रदेशको भौगोलिक सुगमता तथा यहाँको आर्थिक रुपले सक्रिय जनशक्तिको लाभ लिँदै कृषि र उद्योगको विकासमार्फत् पर्याप्त आन्तरिक रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको देखिन्छ ।
- पर्यटन विकासका लागि अन्य भौतिक पूर्वाधारहरूको विकास गरी पर्यटन क्षेत्रको प्रवद्र्धन मार्फत प्रादेशिक आय र रोजगारी बढाउन सकिने सम्भावना रहेको छ ।
- उपयुक्त धरातलीय स्वरुप र भौगोलिक सुगमताको उपयोग गरी यहाँ ठूला विश्वविद्यालय तथा अस्पतालहरू स्थापना गरी रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको छ ।
- सूचना प्रविधि क्षेत्रमा भएको तीव्र विकासलाई प्रयोग गरी यहाँको जनशक्ति तथा भौगोलिक सुगमताको उच्चतम प्रयोग गरी औद्योगिक क्रियाकलापमार्फत्लाभ लिन सकिने सम्भावना रहेको देखिन्छ ।
- मुलुककै सबैभन्दा ठूलो सप्तकोशी नदी मधेश प्रदेशको सीमा हुँदै बग्ने भएकोले सो नदीको उपयुक्त स्थानमा बाँध बाँधी नहर निर्माण गर्न सके प्रदेशको कृषि योग्य भूमिमा सिँचाई सुविधा पुग्न सक्ने सम्भावना रहेको देखिन्छ ।
- मधेश प्रदेशमा सरकारी, गुठी र निजी स्वामित्वका समतल १२ विघा जस्ता धेरै खुल्ला जग्गा तथा मैदानहरू रहेकोमा हालसम्म यस्ता जमिनको सदुपयोग हुन नसकिरहेकोले त्यस्ता खुल्ला स्थानहरूको पहिचान गरी फुटबल तथा क्रिकेट मैदान जस्ता संरचनाहरू तयार गरी उपयोग गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।
चुनौती
- मधेश प्रदेशमा शुरु भएका हुलाकी राजमार्ग, काठमाडौ—निजगढ द्रुतमार्ग, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू निर्धारित लागत र समय तालिकामा सम्पन्न गर्नु ।
- पूर्वाधार क्षेत्रको विकासमा निजी र वैदेशिक लगानी आकर्षित गरी मधेश प्रदेशलाई लगानीयोग्य क्षेत्रको रुपमा विकास गर्नु ।
- सार्वजनिक–निजी–साझेदारी कार्यक्रममार्फत् ठूला पूर्वाधार कार्यक्रम तथा औद्योगिक क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै रोजगारी श्रृजना गर्नु।
- पूर्वाधार क्षेत्रको विकासमा आउने समस्याहरू समाधान गर्न अन्तर–निकाय समन्वय कायम गर्ने र निर्माण शुरु भएका आयोजनाहरूको काम समयमै सम्पन्न गर्न निर्माण व्यावसायी र ठेकेदारको क्षमता अभिवृद्धि गर्नु।
- राष्ट्रिय गौरव लगायत ठूला पूर्वाधार क्षेत्रको निर्माणको लागि विभिन्न सरोकारवाला निकाय तथा क्षेत्रहरूबीच समन्वय कायम गर्नु ।
- सप्तरी जिल्लामा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा डेरी र केही खाद्य उद्योगहरू बाहेक अन्य ठुला उद्योगहरू सञ्चालनमा नरहेको सन्दर्भमा उक्त औद्योगिक क्षेत्रको व्यवस्थापनमा सुधार ल्याई थप उद्योगहरू सञ्चालन हुने वातावरण तयार पार्नु ।
- अव्यवस्थित रुपमा बढ्ने शहरीकरणले औद्योगिक क्षेत्रको लागि चाहिने जग्गा उपलब्ध हुन सक्ने वातावरण नरहेकोले शहरीकरणलाई व्यवस्थित बनाउनु।
- मधेश प्रदेशमा मात्र रहेको रेलवे सेवाको प्रभावकारी सञ्चालनको लागि दक्ष जनशक्तिको व्यवस्थापन गरी दिगो र भरपर्दो रुपमा सञ्चालन गर्नु ।
- पुर्व पश्चिम राजमार्गको चौडाई विस्तार गर्ने काम शुरु भएकोमा सो काम समयमै काम सम्पन्न गर्नु ।
- निर्माण सम्पन्न भएका कमला बाँध, ढल्केबर जनकपुर सडक जस्ता पूर्वाधार आयोजनाहरूको समय समयमा मर्मत संभार गरी यसको दिगोपना कायम गर्नु ।
- प्रदेश र स्थानीय तहमा बनेका भौतिक पूर्वाधारहरूको गुणस्तर कायम गरी दिगो रुपमा सञ्चालन गर्नु ।
- मधेश प्रदेशमा अनुकुल रहेका भौगोलिक स्वरुपको उपयोग गर्दै उत्पादनमूलक उद्योगहरूमा लगानी अभिवृद्धि गरी रोजगारी सृजना गर्नु ।
नेपालपत्र संवाददाता