शनिबार, आश्विन १७ गते २०८३

विद्युत महशुल बक्यौता: ६१ उद्योगले २२ अर्ब २४ करोड ५७ लाख तिर्न बाँकी


पौष १२, २०८० बिहीबार
विद्युत महशुल बक्यौता: ६१ उद्योगले २२ अर्ब २४ करोड ५७ लाख तिर्न बाँकी

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन लिएका उद्योगले तिर्न बाँकी बक्यौता सार्वजनिक गरेको छ। प्राधिकरणले बिहिबार पत्रकार सम्मेलन गरी मंसीर मसान्तसम्म ६१ वटा उद्योगले २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार रुपैयाँ तिर्न बाँकी रहेको विवरण सार्वजनिक गरेको हो। 

प्राधिकरणले बक्यौताको हिसाब सार्वजनिक गर्ने क्रममा उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनबाट उपलब्ध गराएको विद्युतको क्षमता पनि उल्लेख गरेको छ। उसको विवरणमा जगदम्बा स्टिलले सबैभन्दा धेरै ४ अर्ब १४ करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ।

लोडसेडिङ अन्त्य भएपछि तीन वटा उद्योगलाई ट्रंक लाइनमा जोडिएको देखिएको छ। नारायणी स्पात मिल्स, जगदम्बा इन्टरप्राइजेज र श्री सिद्धिलक्ष्मी स्टिललाई ट्रंक लाइनबाट बिजुली दिएको र त्यसबापत १ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत अनुरोध गर्दा पनि अटेरी गरेपछि बाध्य भएर लाइन काट्न सुरु गरेको प्रष्टिकरण दिएका छन्।

कार्यकारी निर्देशक घिसिङले एक प्राधिकरणले महसुल बक्यौता रहेकामध्ये ९ उद्योगको लाइन काटिएको जानकारी गराए । ती ९ उद्योगको नाममा मात्र १२ अर्ब ५० करोड रुपैयाँ बक्यौता रहेकाे छ । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमशः काट्ने घिसिङले बताए। 

डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएका २३९ उद्योगमध्ये १७८ वटाले प्रिमियमसहितको विद्युत महसुल यसअघि नै भुक्तानी गरिसकेको उनले जनाएका छन्।