राष्ट्रिय बाणिज्य बैंक नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित भएको छ । नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आइतबार सम्मानित गरेको हो । एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरे ।
२०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी विद्युतीय कारोबार गर्न सफल भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको उल्लेख गरे । बैंकले अन्तर्राष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयर भित्र्याउन उन आइटी इन्हान्स रोडम्याप अन्तर्गत कार्य समेत गरिरहेको उनले बताए ।
बैंकले ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर तथा विभिन्न विद्युतीय प्लाटफर्ममार्फत् बैंकिङ्ग सेवाहरु सञ्चालनमा रहेका छन् ।
नेपालपत्र संवाददाता