बुधबार, भाद्र ३ गते २०८३

अनुभवलाई योगदानमा बदल्न र भिजनबाट एक्सनमा जान मेरो उम्मेदवारी हो

पौष ५, २०८० बिहीबार
अनुभवलाई योगदानमा बदल्न र भिजनबाट एक्सनमा जान मेरो उम्मेदवारी हो

 

तपाईंको ४ वर्षे कार्यकालमा नेफ्स्कुनमा के कस्ता उपलब्धी भए ? 

यसबीचमा चुनौति र अवसरलाई नयाँ स्वरुपमा ग्रहण गरियो । चुनौतिसँगै हामीसँग अवसर पनि आयो । कोभिड आयो र त्यसले हामीलाई चुनौति दियो । लयमा फर्कंदै गरेको अर्थ व्यवस्था प्रणालीमा चुनौति थपिदियो । विश्व मञ्चमा असमानता, द्वन्द आर्थिक मन्दी, मुल्यवृद्धिको स्थिति आयो । मुलुकभित्र पनि राष्ट्रिय आर्थिक वित्तीय अस्थिरताको हामीले सामना गर्नुपर्यो । हाम्रो अर्थव्यवस्थाको दिगोपनामा पनि समस्या देखापर्‍यो । यी सबै खालका कुराले हामी चुनौतिका बीचमा थियौं । राज्य पुन:संरचना पछि लयमा चलेको राजकिय प्रणाली, संघीय शासन प्रणाली, प्रादेशिक र पालिकाको शासन प्रणाली एकसुत्रमा बाँधिन सकेनन् । तिनीहरु एक आपसमा सहयोगी संघीयता भएनन् । त्यो बीचमा सहकारी नियामक निकाय पनि व्यवस्थित र नियमित नभएकाले अन्यौलको स्थिति रह्यो । 

यस्तो विषम परिस्थितिका बीचमा पनि हामीले थुप्रै काम गरेका छौं । हामीले मनोसामाजिक परामर्श र सहकारी–सहकारी बीचको प्रवद्र्धनको काम गर्‍यौं । कोभिडको समयमा ५ लाख मानिसलाई एउटै सुत्रमा बाँधेर नयाँ दृष्टि र दिशा दियौं । सरकारसँग साझेदारी गरेर पालिका तहमा आधारशिला कार्यक्रम लग्यौं । आधारशीलाको माध्यमबाट ५० वटा पालिकामा पूर्वाधार विकास गर्ने, जनशक्तिलाई एउटै सुत्रमा बाँध्ने र क्षमता वृद्धि गर्ने कुरामा भूमिका खेल्यौं । उद्यमशीलताको विकासमा जान २ सय जना प्रशिक्षक तयार गरी २ लाख भन्दा बढी मानिसका बीचमा हामी पुग्यौं । बचत तथा ऋण सहकारीबाट लिएको ऋणलाई उपयोगितामा लैजानुपर्छ र उनीहरुको जीवनस्तर बदल्न आय श्रृंखला वृद्धि गर्ने माध्यम बन्नुपर्छ भनेर यो काम शुरु गरेका हौं । २ सय जनालाई आइएलओको सहयोगमा स्टार्ट योर बिजनेस र इम्प्रुभ योर बिजनेस जस्ता तालिमहरु दियौं । त्यससँगै २ सय व्यक्तिलाई अन्तर्राष्ट्रिय तालिममा पठायौं । ३० हजारभन्दा बढीलाई क्षमता वृद्धिको तालिम दियौं । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै एशियाली ऋण महासंघको साधारणसभा नेपालमा गर्‍यौं । साकोस समिट, सिइओ वर्कसप, प्रदेश तहमा युवा तथा महिला गोष्ठी गर्‍यौं । जिल्ला र प्रदेशको अभियानलाई बलियो बनाउनका निम्ति जिल्ला संघ प्रदेश संघसँग साझेदारी कार्यक्रम शुरु गरेका छौं । सदस्यसँग नेफ्स्कुन कार्यक्रम अन्तर्गत सातै प्रदेशमा विस्तारित मञ्च, नीति र कार्यक्रममा जनसहभागिता जस्ता थुप्रै कार्यक्रमहरु सञ्चालन गर्‍यौं । नेतृत्व विकाससँगै नेतृत्व पुन:जागरण भनेर सातै प्रदेशमा गर्‍यौं । यसबीचमा हामीले स्तरिकरणमार्फत् सुशासन प्रवद्र्धन गर्न सरकारबाट स्तरिकरण कार्यक्रमलाई वैधानिकता दिलायौं । सरकारले प्रोवेशन कार्यक्रमलाई वैधानिकता दिएको छ ।

स्तरिकरणमार्फत सुशासन स्थापना र स्थिरिकरण कोषमार्फत ११ लाख ५० हजार मानिसको सम्पूर्ण बचतको सुरक्षा गरेका छौं । यसलाई क्रमश: विस्तार गर्दै जान्छौं । प्रत्येक सदस्यको बचतको सुरक्षाको दायित्व हामी लिन्छौं । कामको शुरुवात भनेको यहि त हो । उच्चस्तरको प्रविधि मिरा इआरपीको विकास गरेका छौं । यसको ७० प्रतिशत काम सकिएको छ । सहकारी क्षेत्रमा अवाञ्छित ढंगले दोहन गर्ने प्रकृति चाहे सफ्टवेयर, वा आइटीको नाममा छ । अब नीजि क्षेत्रले सहकारी क्षेत्रमा दोहन गर्न पाउँदैन । उच्च प्रविधि नेफ्स्कुनले नै ल्याएको छ । नेफ्स्कुन सदस्य संस्थाको छाता संघ हो । सुलभ र प्रतिस्पर्धी दरमा सफ्टवेयर सदस्यहरुलाई उपलब्ध गराउँछौं । यो एकाउन्टिङ सफ्टवेयर मात्र नभई म्यानेजरी र रेगुलेटरी सफ्टवेयर पनि हो । यसभित्र टोटल फाइनान्सियल सोलुसन हुन्छ । मिरा आएपछि संस्थाहरुले अरु सफ्टवयर राख्नु पर्दैन । आइटीको सल्लाहकार नै नेफ्स्कुन हुनेगरी हामीले सफ्टवेयर विकास गरेका छौं । हामीले गरेका कार्यक्रमले पूर्वाधार विकास गर्ने र संस्थाहरुको सुदृढिकरण गर्न सहयोग पुग्छ । संस्थाहरुको क्षमता विकासका लागि हजारौं तालिम तथा गोष्ठी गरेका छौं । यस्ता कामको शुरुवात गरेर साकोस अभियानका लागि आधार तयार गर्दै आएका छौं । तर लयमा नफर्केको, बचतको सुरक्षा गर्न नसकेको, दुर्घटनामा परेको र राज्यको कानुनलाई कार्यान्वयन गर्न नसकेको अभियानलाई हामीले सामना गर्नुपरिरहेको छ । 

सहकारीलाई हामीले ३ तहमा बाँडेका छौं । समस्याग्रस्त सहकारी जसलाई राज्यतहबाट समाधान गर्नुपर्छ । दोश्रो, समस्याउन्मुख सहकारी संस्थाहरु जसको रक्षा , प्रवद्र्धन र विकास गर्न रणनीति बनाएर ती संस्थाको उत्थानको काममा हामी अघि बढेका छौं । ती संस्थाहरुलाई ढल्न नदिने अभिप्राय हो । तेश्रो, राम्रा संस्थाहरुको वृद्धि र विकासका लागि नेतृत्व तयार गर्ने गरी काम अघि बढाएका छौं । संस्थाहरुलाई त्यसरी वर्गीकरण गरी सुधारका लागि कुन टुल्स प्रयोग गर्नुपर्ने हो, त्यो टुल्स प्रयोग गर्दै आएका छौं । शिक्षा तालिमलाई सिटिइभिटीसँग सहकार्य गरेर क्रेडिट आवर बेसमा सुरुवात गर्‍यौं । म्यानेजर र ऋण अधिकृतको तालिम चलायौं । अर्कोतिर पोखरा युनिभर्सिटीसँग सहकार्यमा ब्याचलर र मास्टर्स लेभलमा करिकुलम विकास गर्ने तयारी गरेका छौं । हेर्दा सानो तर अभियानलाई एकतावद्ध गर्ने अनेक काम मेरो पालामा शुरु भएको छ । साकोस अभियानलाई हरेक वर्ष नयाँ कार्यक्रम दिन स्वनियमन मार्गदर्शन जारी गर्छौं । इन्नोभेसनका यति धेरै श्रृंखलामा हामीले काम गरेका छौं । यी काम गरिरहँदा अझै पूर्णता प्राप्त गर्न सकिराखिएको छैन । 

तपाईंले यति धेरै काम आफ्नो कार्यकालमा शुरु गरेको बताउनुभयो, अब के का लागि नेफ्स्कुनको अध्यक्षता दोहोर्‍याउन खोज्नु भयो ? 

स्तरिकरण कार्यक्रममा ९ सय संस्था जोडिएका छन् । यसलाई विस्तार गरी सबै संस्थालाइ स्तरिकरण कार्यक्रममा जोड्न जरुरी छ । यसको निम्ति उनीहरुलाई उत्प्रेरणा आवश्यक छ । स्तरीकरणमार्फत हामीले सुशासनको कुरा गरेका छौं । अर्कोतर्फ स्थिरिकरण कोषमा ११ लाख ५० हजार सदस्य जोडिएका छन् । यसलाई बढाएर ३५ लाख सदस्यमा पुर्‍याउनु छ । अर्को नेटवर्क म्यानेजमेन्टको कुरा हामीले अगाडि सारेका छौं । विश्व ऋण परिषदले सन् २०२५ लाई चुनौतिको वर्ष भनेको छ । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा पनि मनाईंदै छ । अन्तर्राष्ट्रिय सहकारी वर्षसम्म पुग्दा नेपालको प्रविधिलाई उच्चस्तरमा पुर्‍याउने गरी रणनीति तयार गरिराखेका छौं । त्यसको निम्ति जसले भिजन बनायो एक्सनमा पनि त्यसैले लैजानुपर्छ भनेर नै मैले पुन: उमेदवारी दिएको हुँ । भिजनु टु एक्सनको लागि मेरो लिडरसीप हो । भिजन अनुसार काम शुरु गर्‍यौं । एक्सनमा रुपान्तरण गर्न भने कोभिड १९, आर्थिक मन्दी र आन्तरिक व्यवस्थापन प्रणाली सुदृढ नहुँदा सोचजति काम गर्न सकिएन । त्यसैले भिजन टु एक्सन, अनुभव र योगदान नै मेरो लिडरसिप हो । मैले ४ वर्षमा एउटा अनुभव हासिल गरेँ र अर्को ४ वर्ष योगदानको वर्ष हुनेछ, सहकारी अभियानमा शुद्धिकरण र सुदृढिकरणको वर्ष हुनेछ । 

अबको ४ वर्षमा साकोस अभियानलाई कुन रुपमा देख्न र अनुभव गर्न पाइएला ? 

शुद्धिकरण र सुदृढिकरण सहितको साकोस अभियान स्थापित हुन्छ । त्यतिबेला उच्च प्रविधि सञ्चालन गरिसकेका सहकारी संस्थाहरु स्थापित हुनेछन् । मैले पहिलेदेखि नै क्यासलेस र चेकलेस ट्रान्ज्याक्सनको कुरा गर्दै आएको छु । अब वायरलेस म्यानेजमेन्ट सिस्टमको विकास गर्छौं । प्रविधिमा आधारित भरपर्दो र सुरक्षित संस्था निर्माण गरी सम्पूर्ण वित्तीय समाधान सहितको संस्था स्थापित गर्ने हो । त्यसका लागि साकोस अभियानले गुणस्तरका सबै मापनहरु पूरा गर्नेछ । वित्तीय सुशासन कायम गरेको, प्रतिस्पर्धात्मक स्थान ओगट्न सक्ने वित्तीय क्षमतासहितको संस्था निर्माण हाम्रो लक्ष्य हो । त्यसैका लागि अन्तरसम्बन्धित र अन्तरनिर्भर सहकारी अभियान निर्माण गर्ने हो । त्यो भनेको सञ्जालिकृत साकोस अभियान हो । त्यसका लागि विषयगत रुपमा बचतऋण सहकारीको छुट्टै ऐन ल्याउने र त्यसमार्फत संस्थाहरुलाई एकआपसमा अन्तरसम्बन्धित बनाएर उनीहरुलाई राष्ट्र निर्माण, समृद्धि र परिवर्तनको आधार बनाउने हो । संस्था एवं सदस्यबीचको आधार प्रगाढ बनाई समाजको विकासलाई दिगो बनाउने अभियानको लक्ष्य हो । 

वर्तमान समयमा सहकारी अभियानको छवि गिरेको छ, सहकारीलाई समाज रुपान्तरणको माध्यम बनाउनुपूर्व गुमेको साखलाई पहिले पुन:स्थापित गर्नुपर्ला नि ? 

एकैदिनमा छडी घुमाएको ढंगले त्यो काम हुँदैन । लामो समयदेखि राज्यको अकर्मन्यता, असहयोग, अभियानको गैरजिममेवारी लगायतका अनेकौं कारणले यो समस्या सिर्जना भएको हो । अभियानभित्रका कमीकमजोरीलाई हामीले स्वीकार गर्नुपर्छ । केहि सहकारी संस्थाको उद्दण्डताले यो समस्या सृजना भएको हो । आम सहकारीले त्यसको आरोप अहिले खेप्नुपरेको छ । सहकारी अभियानको छविलाई उच्च बनाइ, गुणस्तरीय जीवनयापनमा अगाडि बढाउने विषयमा हाम्रो प्रतिवद्धता छ । हामी वर्तमान बदल्छौं र सुन्दर सहकारी अभियानको निर्माण गर्छौं ।

सहकारी तल्लो तहका मानिसको आर्थिक, सामाजिक स्तर उकास्नका लागि भनिएतापनि, व्यवहारत: यो देख्न र अनुभव गर्न पाईंदैन नि ? 

वित्तीय समावेशीकरण नै अहिलेको आयाम हो । वित्तीय समावेशी भनेको अवसरको सृजना र पहुँच निर्धारण गरिदिने हो । अवसरको लागि हामीले उद्यमशीलताको विकासको काम शुरु गरेका छौं । प्रडक्ट डिजाइन गर्दा टारगेट बेस र टारगेट इण्डष्ट्रिजको कुरा गरेका छौं । हामीले कृषि, पर्यटन, साँस्कृतिक र सम्पदासँग जोडिएका क्षेत्रलाई टारगेट बनाएर ती क्षेत्रमा लगानी केन्द्रित गर्ने योजना बनाएका छौं । त्यो लगानीको माध्यमबाट व्यवसाय प्रवद्र्धन गरी उत्पादकत्व विकास गर्ने र उत्पादकत्वको माध्यमबाट ग्रस उत्पादनमा जोड्न सकियो भने मुलुकले काँचुली फेर्छ । हामीसँग पैसा, सामथ्र्य, सीप र जनशक्ति छ । बैंकिङ क्षेत्रको ७० प्रतिशत लगानी निश्चित घरानामा छ । बाँकी १८–२० प्रतिशत सहकारी कै पैसा हो । त्यहि पैसा मध्यम व्यक्तिको हातमा पुगेको हो । जनअर्थतन्त्र र निम्न आय भएकाहरुको औपचारिक अर्थतन्त्रको विकास नै हाम्रो प्राथमिकता हो । यो क्षेत्रमा काम गर्न हामीसँग निर्दिष्ट भिजन र एक्सनप्लान हुनु जरुरी छ । आउने कार्यकाल भिजनबाट एक्सनमा जानका लागि हो । यसका लागि पूर्वाधारको विकास भइसकेको छ । त्यसैलाई टेकेर उपलब्धी हासिल गर्नका लागि अर्र्को कार्यकाल हो । आगामी कार्यकाल अनुभवलाई योगदानमा बदल्ने कार्यकाल हो । 

बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले साकोेस अभियानमा मैले २४ वर्ष बिताएको छु र बरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुनुपर्छ भन्ने कुरा गर्दै आउनुभएको छ, तपाईं भने पुन: अध्यक्ष दोहोर्‍याउने भन्दै हुनुहुन्छ ? किन ?  

सहकारी अभियानका मूर्धन्य व्यक्तित्वहरु राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, पूर्व अध्यक्ष, सहकारी बैंकका वर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु सहित केन्द्रिय पदाधिकारीहरुले मलाई जिम्मेवारी सुम्पनु भएको छ । त्यो भनेको नेफ्स्कुनको आगामी नेतृत्वको जिम्मेवारी हो । उहाँहरुकै मार्गदर्शन, शक्ति र प्रेरणाका कारण आगामी नेतृत्वको लागि म अगाडि सरेको हुँ । नेफ्स्कुन नेतृत्व भाषा, धर्म, राजनीति सबैको आधारमा समावेशी बनाउनुपर्छ । सबै पक्षलाई नेतृत्वमा समावेश गरेर जानुपर्छ भनेर अध्यक्षको मात्र उमेदवारी घोषणा गरेका छौं । बाँकी २१ जना सहमति, संवाद र सहकार्यबाट चयन गर्ने हाम्रो उद्देश्य हो । हामी एक्लै जाँदैनौं । दल–दलका बीचमा पनि कुराकानी भइ नै राखेको छ । नेपाली काँग्रेस, माओवादी, एमाले र समाजवादी पार्टीका बीचमा वार्ता भएका छन् । अभियानका अग्रजहरुको बीचमा पनि वार्ता र संवाद जारी छ । नेतृत्वको विषयलाई पनि हामीले खुल्ला राखेका छौं । अध्यक्ष बाहेकका पदमा हामी मिलेर जाने हो । सहअस्तित्व, साझेदारी र सहयात्राका लागि बाटो खुल्ला गरेका छौं । त्यो हुन सकेन भने अभियानको मत अनुसार अगाडि बढ्छौं । सहमति, सहकार्य र सहअस्तित्वमाम हामी विश्वास गर्छौं । अथवा प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्छौं ।