आइतबार, आश्विन १८ गते २०८३

‘चारजना कर्मचारीले ३२ सय सहकारी संस्थाको नियमन गर्न सकिँदैन’

मंसिर २९, २०८० शुक्रबार
‘चारजना कर्मचारीले ३२ सय सहकारी संस्थाको नियमन गर्न सकिँदैन’

बागमती प्रदेशका सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडाले चार जना कर्मचारीले ३२ सय सहकारी संस्थाको नियमन गर्न नसक्ने बताएका छन् । 

बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा काठमाण्डौमा भएको ‘सहकारी क्षेत्रमा वर्तमान समयमा देखिएका समस्या र निराकरण’ विषयक एक दिवसीय अन्तरकृया कार्यक्रम कार्यपत्र प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । 

बागमती प्रदेश मातहत ३२३८ संस्था रहेको र एक जना कर्मचारीले ८१० संस्थाको नियमन तथा अनुगमन गर्नुपर्ने अवस्था रहेको उनले जनाए । थोरै जनशक्तिले धेरै संस्थाको नियमन गर्नुपर्ने भएकाले प्रभावकारी नहुने उनले प्रष्ट पारे । रजिष्ट्रार कार्यालयले ३६ वटा संस्थालाई कारवाहीको लागि सिफारिस गरेको उनले बताए । 

सहकारी संस्थाहरुलाई बचत फिर्ताका लागि कार्ययोजना पेश गर्न सुझाएको र समयसीमाभित्र बचत फिर्ता गर्न आलटाल गरे कारवाहीका लागि पठाइने उनले बताए । 

बागमती प्रदेश सहकारी विकास वोर्डको आयोजना, बागमती प्रदेश सहकारी संघ एवम्  बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रदेश सरकार, प्रदेशस्तरीय सहकारी संघहरु, उपत्यका जिल्लाका सहकारी संघहरु र विषयगत सहकारी संघहरु, बचत तथा ऋण कारोवार गर्ने सक्रिय सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी एवम् व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा प्रदेश सहकारी वोर्डका उपाध्यक्ष श्री नारायण देवकोटाको अध्यक्षता रहेको थियो भने संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री माननीय पुकार महर्जनको प्रमुख आतिथ्यता थियो । त्यसैगरी संघीय सहकारी विभागका रजिष्टार पिताम्वर घिमिरे, राष्टिय सहकारी महासंघका अध्यक्ष  मिनराज कँडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष उद्धव सापकोटा, राष्ट्रिय  सहकारी बैकका संचालक रामहरी बजगाई, प्रदेश सचिव गोविन्द प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसएसपी भूपेन्द्र बहादर खत्री, जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी सिद्धिविक्रम शाह लगायतको उपस्थिती रहेको थियो । 

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले  संचालक गरेको कार्यक्रममा प्रदेश सहकारी रजिष्टार खतिवडा, ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष बजगाईं तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष लाखाजूले सहकारी क्षेत्रमा देखा परेका समस्या र निराकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।