मुलुकमा कुल विदेशी विनिमय सञ्चिति करिब १७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २०८० कात्तिक मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्था विवरण अनुसार विदेशी विनिमय सञ्चिति रु.१६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो ।
२०८० असार मसान्तमा नेपाली मुद्रामा यस्तो सञ्चिति रु. १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो । सञ्चिति त्यस यता १०.२ प्रतिशले बढेको तथ्यांकले देखाउँछ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा रु.१३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ९० अर्ब ८३ करोड पुगेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थामा गत असार मसान्तमा रु. १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा कात्तिक मसान्तमा पुग्दा ६.४ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ ।
२०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमश: २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।
नेपालपत्र संवाददाता