शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकले गर्‍यो विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशाेधन

मंसिर २५, २०८० सोमबार
राष्ट्र बैंकले गर्‍यो विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशाेधन

 

नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ दोस्रो पटक संशोधन गरेको छ । 

संशोधन पछि विदेशी विनिमयको कारोबार गर्न छुट्टाछुटै निकायबाट अनुमति लिनुपर्ने भएको छ । यसअघि विदेशी विनियम कारोबार गर्न विदेशी विनिमय कारोवार गर्ने फर्म, कम्पनी वा संस्थाले पाउँदै थिए । अब भने विदेशी विनिमय कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले विनियमावलीअनुसार इजाजतपत्र पाउनेछन् ।

मनिचेन्जर कारोबार गर्न भने नेपाल राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ बमोजिम र विप्रेषण कारोबार गर्न नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ बमोजिम छुट्टै इजाजतपत्र लिनुपर्नेछ ।

विदेशी विनिमयको कारोबार गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रका लागि विदेशी विनिमय कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टरको नाम, ठेगानासहित अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची १ (क) बमोजिमका कागजातसहित विदेशी विनियम विभागमा निवेदन दिनुपर्नेछ ।

विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको आवश्यक शुल्क लिई बैंक तथा वित्तीय संस्था एवं तिनका शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरहरूलाई विदेशी विनिमय खरिद(बिक्री कारोबार तथा तोकिएबमोजिमको विदेशी विनिमयसम्बन्धी अन्य कार्य गर्ने गरी इजाजतपत्र प्रदान गर्न सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखा तथा एक्सटेन्सन काउन्टरहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् । वित्तीय संस्थाले विदेशी विनिमयको कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टर तोकी त्यस्ता शाखा तथा एक्सटेन्सन काउन्टरबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् ।