बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर र नीतिगत दर घटाएपछि बैंकहरुको बचत तथा कर्जाको ब्याजदर घट्ने संभावना बढेर गएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक पहिलो त्रैमासिक समीक्षामा बैंकदर ०.५ प्रतिशत विन्दु र नीतिगत दर १ प्रतिशत विन्दुले घटाएपछि ब्याजदर थप घट्ने भएको हो।
मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी दरहरु परिवर्तन गरिएको समीक्षामा जनाइएको छ ।
समीक्षामार्फत बैंक दर ७.५ प्रतिशतबाट घटाई ७, नीतिगत दर ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ ।
मौद्रिक नीतिमा गरिएको परिमार्जनले अर्थतन्त्र चलायमान हुने अपेक्षा बैंकर्सहरुको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् भएको व्यवस्थाले बैंकिङ्ग ब्याज घट्ने र अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने धारणा उनीहरुको राखेका हुन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अब ब्याजदर घट्न मद्दत पुग्ने बताएका छन् । व्यवसायीहरूले माग गर्दै आएको विषय बैंक दर राष्ट्र बैंकले घटाएपछि ब्याजदर थप घट्दै जाने अध्यक्ष केसीले बताए।
बाह्य तथा आन्तरिक कारणले अर्थतन्त्र चलायमान हनु नसकेपनि कर्जा पुनसरंचनालाई फराकिलो बनाउँदा व्यवसायीहरुलाई नै सजिलो हुने उनको भनाई छ।
ब्याजदर घटाउँदै बैंकहरु
कुमारी बैंकले यसअघि दोहोरो अंकमा रहेको ब्याजदर घटाएर एकल अंकमा झारेको हो । बैंकले विभिन्न खातामा मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
अब बैंकले साधारण बचत खातामा न्यूनतम ५.७१ प्रतिशतदेखि अधिकतम ६.७१ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । यसअघि अधिकतम ७.५१ प्रतिशतसम्म ब्याजदर रहेको थियो ।
मुद्दतीतर्फ संस्थागतमा न्यूनतम ७.६१ प्रतिशत र ब्यक्तिगतमा ९.६१ प्रतिशत बैंकले ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले संस्थागततर्फ ८.०१ प्रतिशत र ब्यक्तिगततर्फ १०.०१ प्रतिशत ब्याजदर कायम रहेको थियो ।
एनआईसी एशिया बैंकले पनि पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । यसअघि मंसिरमा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशतसम्म ब्याजदर रहेको थियो ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५।५० प्रतिशतदेखि ६।६७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८।६७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म मात्र प्रिमियम तोक्ने यस अघि नै जनाएको छ।
राष्ट्र बैंकले गरेको बैंकिङ औजारहरुमा गरेको नीतिगत परिमार्जन, बैंक तथा वित्तीय संस्थाले बचतमा दिने ब्याजदर घटाएसँगै कष्ट अफ फण्ड घट्न गइ र कर्जा प्रवाहमा लिने गरेको ब्याजदर समेत न्यून हुने अपेक्षा गरिएको छ । यसबाट औद्योगिक तथा व्यवसायिक विस्तारका लागि कर्जाको माग बढ्ने अपेक्षा बैंकिङ क्षेत्रको छ ।
नेपालपत्र संवाददाता