शनिबार, आश्विन १७ गते २०८३

‘बैंकहरूकाे आधार दर एकल अंकमा झर्यो, ब्याजदर अझै घट्छ’ : गभर्नर अधिकारी

मंसिर २०, २०८० बुधबार
‘बैंकहरूकाे आधार दर एकल अंकमा झर्यो, ब्याजदर अझै घट्छ’ : गभर्नर अधिकारी

 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर क्रमश: घट्दै जाने बताएका छन् । बुधबार अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले अहिले बैंकहरुको आधार दर एकल अंकमा झरेको र क्रमश: ब्याजदर घट्ने क्रममा रहेको जनाएका हुन् । 

अघिल्लो २०७९ को असोज महिनामा वाणिज्य बैंकहरुको औसत आधारदर १०.३४ प्रतिशत रहेकोमा २०८० असोजमा एक प्रतिशत घटेर ९.९४ प्रतिशत झरेको उनले जानकारी दिए । 

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा विवरण पेश गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर थप घटाउँदै लगेको हुँदा कर्जाको ब्याजदर पनि घट्न थालेको बताएका हुन् ।

२०७९ माघमा वाणिज्य बैंकहरुको भारित औसत कर्जाको ब्याजदर १३.०३ प्रतिशत पुगेकोमा २०८० असोजमा १२.१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । यसले गर्दा मौद्रिक विस्तार उच्चदरले बढेको देखिने राष्ट्र बैंकले जनाएको छ ।