नबिल बैंकले कियोस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत अब ग्राहक स्वयंले कियोस्कमार्फत चेक सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।
यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारेर कार्यालय समयबाहेक पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वस्फूर्त कारोबार हुने हुनाले यसबाट ग्राहकहरुले लाभ लिने विश्वास बैंकको छ ।
हाललाई नबिल बैंकले काठमाडौं उपत्यकाका ६ र उपत्यकाबाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट र उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।