नेफ्स्कुनको आगामी पौष ७ र ८ गते हुन गइरहेको ३२औं वार्षिक साधारण सभामा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्नुभएको छ, खास कुरा के हो ?
म नेफ्स्कुनको बरिष्ठ उपाध्यक्ष हुँ र यो पद भनेको अध्यक्षको लागि तयारी गर्ने प्लाटफर्म हो भन्ने मेरो बुझाई छ । अन्य संघसंस्थामा पनि बरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष पदमा जाने अभ्यास देखिएका छन् । अर्कोतर्फ मैले नेफ्स्कुनको अध्यक्ष पदको लागि भन्दापनि मुलुकको साकोस अभियानको सशक्तिकरणका लागि उमेदवारी दिन लागेको हुँ । बचत ऋण अभियानमा मैले २४ वर्ष बिताएको छु । यस अवधिमा मैले देखेका, जानेका र राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको छु । त्यो अनुभवलाई साकोस अभियानको हितमा खर्चिन भने व्यक्तिगत रुपमा मलाई त्यति धेरै असर नपर्ला तर मेरो लागि साकोस अभियानले खर्चिएको २४ वर्षको अनुभव र ज्ञानलाई प्रयोग गरिन भने अभियानले मलाई धिक्कार्ने छ । नेतृत्वमा जाँदा एजेण्डा र सहकारीका मुद्दाहरुलाई केन्द्रमा राखेर जानुपर्छ भन्ने मेरो मान्यता हो । अब नेफ्स्कुनमा ४ वर्ष रहँदा बचत तथा ऋण सहकारी अभियानको एजेण्डालाई मात्र मुल मुद्दा बनाएर म काम गर्छु । ताकि यसले मात्र अभियान र म प्रति न्याय दिन्छ । मैले सँगालेको अनुभव, सीप र ज्ञानलाई साकोस अभियानको अपेक्षा पूरा गर्ने गरी लगाउने छु । मेरो उमेदवारी मेरो नभई, साकोस अभियानको अपेक्षा पूरा गर्नका लागि हो । मेरो उमेदवारी मेरो नभई साकोस अभियानकै एजेण्डा हुन् र ती एजेण्डामा काम गर्न म एउटा प्रतिनिधि पात्रको रुपमा अगाडि बढ्ने अठोट गरेको हुँ ।
पछिल्लो समय विभिन्न मिडियामार्फत मैले साकोस अभियानका बीचमा राखेका अभिव्यक्ति र छलफलका विषयहरु सम्प्रेषण गरेपछि शेयर गर्न र पढ्न नमिल्ने बनाइएको छ । यो म माथि गरिएको पूर्वाग्रह हो । यसले गर्दा पनि मलाई नेतृत्वमा जान थप उर्जा मिलेको छ । जुन एजेण्डाहरु आज मैले बाहिर ल्याएको छु, ती एजेण्डा कुनै न कुनै हिसाबले विवादित होलान् । विवादित एजेण्डा भएकाले अरुले गएर नेतृत्व गर्यो भने हामी पछि पर्छौ, हाम्रा कमीकमजोरी बाहिर निक्लन्छन्, त्यसकारण चन्द्र ढकाललाई रोक्नुपर्छ भनेर मेरा अभिव्यक्तिहरु नियन्त्रण वा निषेधमा राख्न खोजिएको छ । यसले गर्दा आफूलाई प्रतिनिधि पात्रको रुपमा उभ्याउँदै आफ्नो उमेदवारी दिनुपरेको हो ।
मुलुकको साकोस अभियानलाई सुदृढ गर्ने तपाईंको प्रतिवद्धता के छ ? नेपालको साकोस अभियानलाई बदल्नको निम्ति तपाईंको भूमिका कसरी अघि बढाउनुहुन्छ ?
अहिले साकोस अभियानभित्र २ वटा विषयको खाँचो मैले देखेको छु । एउटा, नेतृत्वमा बसेको नेतृत्वकर्तामा न्यूट्रालिटीको भूमिका आवश्यक हुन्छ । नेतृत्वमा रहनेले कुनैपनि किसिमले आफु वा आफ्नो परिवार र इन्ट्रेस्ट बाझिने गरी काम गर्नु भएन । जुन उद्देश्यका लागि पदमा बसेको हो, त्यसलाई न्याय हुने गरी न्यूट्रल हुनैपर्छ । दोश्रो, संस्थाको लागि पर्याप्त समय दिनुपर्छ । म केन्द्रिय संघको देशभरिको साकोस अभियानको अध्यक्ष हुँ भनेर काम गर्नुपर्यो । तर त्यो अहिलेको नेतृत्वमा पाइएन, डिबि बस्नेत नेफ्स्कुनको अध्यक्ष हुँदा म महासचिव थिए । उहाँले आफ्नो प्रतिवद्धता अनुसार जसरी संघलाई समय दिनु भएको थियो, उहाँले दिएका एजेण्डा कार्यान्वयन गर्न हामी प्रतिवद्ध भएर लागेका थियौं । त्यसले साकोस अभियानमा परिणाम ल्याएको थियो । त्यसैगरी कैलाशभक्त प्रधानाङ्ग ऋषिराज घिमिरे, मिनराज कँडेल लगायतको नेतृत्व नेफस्कूनमा हुँदा साकोस अभियानलाई माथी उठाउन महत्वपूर्ण भूमिका निर्वाह गनुभएको थियो ।
तर आजका अध्यक्षज्यूले अध्यक्ष बनेको दिन देखि नै पार्टीको मान्छे भएको र मलाई पार्टीले पठाएको भन्दै पार्टीको काम गर्नुपर्छ भनेर कुर्सी र मञ्चमा बसेर सार्वजनिक अभिव्यक्ति पटकपटक दिनुभएको छ । अर्कोतर्फ उहाँले कहिल्यै संघलाई स्थिर भएर समय दिनुभएन । अध्यक्षले संघका लागि पर्याप्त समय दिनुभएन बरु संघलाई कुनैपनि तरिकाले म्यानुपुलेट गर्नुभयो । संघलाई नै दाउमा राखेर उहाँले अन्य खालका फाइदा लिन लाग्नुभयो । संघको कुनै पनि एजेण्डा लिएर उहाँ लाग्नुभएन । तपाईंको ४ वर्षे कार्यकालमा गरेको कुन निर्णयले साकोस अभियानलाई न्याय दियो भनेर सोध्नुहोला ?
उहाँ न्युट्रालिटी र समय दिने दुवै कुरामा चुक्नुभयो । तर म यी दुवै कुराको लागि तयार भएर नेतृत्वको लागि उभ्भिएको छु । सहकारी ऐन र नियमावलीमा भएका तर कार्यान्वयन हुन नसकेका कतिपय विषयको कार्यान्वयन, वित्तीय सहकारी ऐन जारी गर्न आफुले गर्नुपर्ने गृहकार्य गर्नेछु । स्थानीय प्रदेश र संघीय सरकारसँग बहसपैरवी गर्दै प्रारम्भिक संस्था र संघबीच हार्दिकताका साथ सहकार्यमा लिएर जान दिशानिर्देश गर्नेछु । त्यसका साथै प्रारम्भिक संस्थाहरुमा अहिले भइराखेका समस्याहरुको व्यवस्थापन, साकोसहरुलाई नेटवर्किङ गरेर नेफ्स्कुनसँगै छौं भन्ने अनुभूति दिलाउने तथा जिल्ला संघ र प्रदेश संघ एउटै हो भनेर सुनिश्चित गराउने कुरा नै मेरो मुख्य एजेण्डा हुन् ।
बितेको ४ वर्ष नेतृत्व अभियानप्रति उत्तरदायी नभएको र अभियानको लागि खर्चनु पर्ने श्रोत साधन र समय अन्यत्र खर्चेको कुरा उठान गर्नुभएको छ, तपाईंले यी कुरा भनिरहँदा नेतृत्वलाई बदल्न नसक्दासम्म नेपालको साकोस अभियानको अस्तित्व नै नरहने देखियो नि ?
बदल्न नसक्नु दुर्भाग्य हो । अहिले नेतृत्वलाई बदल्न सक्नुभएन भने ६ महिनापछि सहकारी अभियानभित्र कुनै पनि एजेण्डा बाँकी हुँदैनन् । तपाईंहामीमा पनि यसरी छलफल गर्नुपर्ने आवश्यकता रहँदैन । साकोसका साथीहरुले बचत फिर्ता पाउने, ऋण असुली गर्ने तथा राज्यसँग अहिले भइराखेको ग्यापलाई पूरा गर्ने जस्ता विषय बाँकी रहँदैन । हामीले पछिल्लो ४ वर्ष देख्यौं । आज कुनै यस्तो ठाउँ छैन, जहाँ वर्तमान नेतृत्वले यो काम ठिक गर्यो भन्न सकियोस् । म पनि त्यहि समितिको बरिष्ठ उपाध्यक्ष हुँ । मैले आफुले लिएका कतिपय जिम्मेवारी पूरा गरेँ भने कतिपय अध्यक्षका कारणले पूरा गर्न सकिन ।
हामीले नेफ्स्कुन र बैंक बीच राम्रो सम्बन्ध बनाउनुपर्छ भनेर कार्यदल बनायौं । ३ वटा मिटिङ बस्दासम्म हामी ठिक थियौं । सबै विषयवस्तु लिपिवद्ध गर्र्यौैं । कार्यान्वयनमा जानुपर्छ भन्दा अध्यक्षले पूर्णरुपमा असहयोग गर्नुभयो । आज बैंक र नेफ्स्कुनको सम्बन्धका बारेमा अरुले प्रश्न उठाइराखेका छन् । एकअर्को इन्स्टिच्यूसनका कर्मचारीहरु क्रस गरेर जाँदा समयसीमा तोक्नुपर्छ । एउटा संस्थाले अर्को संस्थामा अस्वाभाविक ढंगले तानातान गरेर जानु हुँदैन । वित्तीय कारोबार गर्ने पहिलो निकाय बैंक हो । नेफ्स्कुनले वित्तीय कारोबारलाई प्राथमिकताको विषय बनाउनु हुँदैन । अरु तालिम, शिक्षा र प्रोफेसनल काम बैंकको नभई नेफ्स्कुनको प्राथमिकतामा पर्नुपर्छ । नेतृत्वहरु सबै सहकारीको भएको हुनाले सहकारीमैत्री हुनुपर्छ । सहकारीका सदस्यले हामीलाई हेर्दा उस्तै देख्नुपर्छ । बैंक, नेफ्स्कुन र अरु संघ संस्था हाम्रा लागि बनेका संरचना हुन् । जो जहाँ भएपनि ती संघसंस्थाले हाम्रो लागि काम गरेका छन् भनेर ढुक्क हुने परिस्थिति बनाउनु नै हो । तर ती मध्ये एउटै कुरा पनि कार्यान्वयन गर्न सकिएन ।
तपाईंको विचारमा साकोस अभियानका मुख्य एजेण्डा नेतृत्व बदल्नु र गुमेको साख स्थापित गर्नु नै हो ?
यति गर्न सकियो भने साकोस अभियान मात्र होइन सिंगो सहकारी अभियान भित्र अब केही हुन्छ भन्ने सम्भावना देखिन्छ । अब हामी पुरानै लयमा काम गर्न सबैले मेहनत गरौं । सबैले आफ्नो कामलाई छाडेर सहकारी अभियानलाई व्यवस्थित गर्ने कुरामा जुटौं भन्ने खालको उत्साह देखाउने बातावरण सृजना गर्न हुन्छ ।
नेफस्कुन मुलुकभरका बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय संघ हो । अध्यक्ष पदमा तपाईको उमेदवारी दिने भनिरहँदा आफ्नो गतिविधिलाई देशव्यापी बनाउनु पर्ला नि ?
मसँग सोसियल मिडिया भन्दा बाहेक केहि छैन । त्यसमा समेत कसैको आँखा लागिसक्यो । मलाई अहिले बन्द कोठामा बसेको अनुभूति भएको छ । मेरा विचारहरु साकोस अभियानमा पुर्याउन सकेको छैन । मैले यहि अभियानमा २४ वर्ष बिताएको छु । साकोस अभियान, प्रारम्भिक संस्था र संघलाई नै योगदान गरेको छु । त्यो देखेका साथीहरुले मात्रै चन्द्र ढकालको साकोस अभियानप्रतिको लगाव बुझेका छन् । उहाँ यो अभियानमा प्रतिवद्ध हुनुहुन्छ र एकपटक नेतृत्व गर्ने मौका दिनुपर्छ भनेर एउटा साथीले अर्को साथीलाई भनिदिनु भयो भने त्यो संख्याले मलाई नेतृत्व गर्न बातावरण दिन्छ । म चुनावलाई भन्दा बढी साथीहरुको शुभेच्छालाई विश्वास गर्छु । आगामी ७ र ८ गते साधारण सभामा भाग लिने साकोस अभियानका प्रतिनिधिहरुले मलाई नेतृत्वमा पुग्न छनौट गर्नुहुनेछ । यसमा मलाई कुनै द्विविधा छैन । मैले केहि प्रतिवद्धताहरु सबै संघसंस्थाका प्रतिनिधिमाझ पुर्याउन खोजिराखेको छु । म नेफ्स्कुनको श्रोतसाधनबाट टाढा छु । एक्लो बृहस्पति जस्तै भएर काम गरिरहेको छु । अहिले सबै कुरामा मलाई घेराबन्दी गरेर राखिएको छ । त्यो घेरालाई तोड्नलाई साकोस अभियानका साथीहरुले एकपटक होस्टेमा हैंसे गर्नुहुन्छ भन्नेमा मेरो पूर्ण विश्वास छ । भोलिको ४ वर्षको मार्गचित्रलाई सफल बनाउने मुख्य आधार नै मेरो शुभेच्छुक र साकोस अभियानका साथीहरु हुनुहुन्छ ।
नेपालको बचतऋण अभियान हामी सबैको साझा एजेण्डा हो, तर यो एजेण्डालाई पनि सीमित व्यक्तिले सिण्डिकेट बनाएको जस्तो देखिन्छ नि ? जहाँसम्म श्रोतसाधन र सेवाको उपलब्धता पुग्नुपर्ने हो, त्यहाँसम्म पुग्न नसकेको हो ?
मैले सिण्डिकेट भन्दा केहि साथीहरुलाई चित्त दुख्ला तर सहकारीलाई सहकारीकै प्रवाहमा बग्न दिएको भए मुलुकको आर्थिक, सामाजिक रुपान्तरण भइसक्थ्यो । जसरी विभिन्न मुलुकहरुले सहकारीमार्फत् आर्थिक सामाजिक रुपान्तरण गरेका छन् र ती देश सफलतामा पुगेका छन् । तिनै देशका उदाहरण दिएर हामी बोलिराखेका छौं । त्यस अनुसार गरेको भए हाम्रो देशको अवस्था पनि तिनै देशको जस्तो हुन्थ्यो होला । तर अहिलेको सबैभन्दा दुखको विषय भनेकै सहकारीको विशाल कार्यक्षेत्रलाई संकीर्ण बनाइयो । सहकारीलाई आफुमात्र सम्पन्न हुने र प्रवद्र्धन गर्ने माध्यमको रुपमामा विकास गरियो । नेतृत्वमा पुगेको जोकोहीलाई हेर्नुस्, जसले सहकारीलाई कुनै न कुनै तरिकाले आधार बनाएर त्यो पुँजीलाई आफ्नो व्यक्तिगत लाभमा प्रयोग गरी सम्पन्नतामा पुगेका छन् । नेपालमा सहकारीको विषय अग्रजहरुले उठान गरिदिनुभयो, त्यो नगरिदिएको भए कतिपयको चुल्होचौको कसरी चल्थ्यो होला ? विगतमा जति गल्ती गरेपनि सहकारीप्रति न्युट्रालिटी देखाएर आफुलाई सहकारीमय तुल्याउनुको विकल्प छैन । नेतृत्वमा पुगेका सबैमा सकारात्मक दृष्टिकोण आओस् भन्ने मेरो कामना छ ।
सहकारीमा एउटै व्यक्ति पटकपटक नेतृत्वमा पुग्ने र आफु र आफ्नालाई मात्र समृद्ध बनाउने प्रवृत्ति रहिरहे कसरी सदस्यको उन्नति होला ?
कुनै न कुनै हिसाबले संघ/संस्थाको नेतृत्वमा बस्ने र त्यहाँ भित्रका सबै सेवासुविधाका साथै श्रोतसाधन आफ्नो लाभको लागि केन्द्रिकृत गर्ने परिपाटी छ । आफु पानी माथिको ओभानो बनेर बाहिर भने आदर्शको कुरा गरेको धेरै देखियो । यस्तो प्रवृत्तिलाई आगामी साधारणसभामा आउन प्रतिनिधिहरुले चिर्नु भएन भने फेरि पनि हामीले दु:ख पाउनुको विकल्प छैन ।
सहकारीमार्फत आम सदस्यको आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणको कुरा गरिन्छ तर त्यो स्तरमा नेपालको सहकारी अभियान पुग्न सकेन नि ?
सामाजिक गतिविधि गर्ने उच्चतम थलो सहकारी हो । सहकारीमा स्वच्छन्दता र न्युट्रालिटीको प्रश्न रहन्छ । यसलाई आधार मानेर मुलुकभरका समुदायका नागरिक सहकारीको सदस्य बनेका हुन्छन् । सदस्यहरुको पवित्रतम अभ्यास गर्ने सहकारीलाई राज्यले विश्वास गर्यो र समृद्धिमा जाने पाइपलाइनको रुपमा स्वीकार गर्यो । तल्लो तहमा विकासका कुनैपनि योजना लैजानुपर्यो भने सहकारीमार्फत छिटो पुग्छ भन्ने बुझाई सरकारमा छ । तर सहकारीको नेतृत्वमा यति धेरै पक्षपात देखियो । ताकि न्यूट्रालिटी हुन नसकेको नेतृत्वदेखि डराएर अन्य निकाय खडा गरेर समुदायमा राज्य गइराखेको छ । सहकारीलाई पूर्णरुपमा वाइपास गरेका छ । हामी सहकारी जस्ता हुनै सकेनौं । सहकारीको काम न्युट्रल हुन सकेन । हामी कहीँ न कहीँ आश्रित भयौं । आफु केन्द्रित उद्देश्यहरु पुरा गर्न लाग्यौं । हामी सहकारीको नेतृत्वमा रहेर राज्य र नागरिकको बीचमा जोडिने समृद्धिको पाइपलाइन कतै बनेनौं ।
सहकारी अभियानभित्र यति धेरै विषयवस्तु रहेछन्, भोलिका दिनमा तपाईं नेतृत्वमा पुग्दै गर्दा यी सबै कुराको चिरफार हुन्छ त ?
यी कुराहरु चिर्ने र वास्तविक सहकारीको अनुभूति सदस्य र नागरिक समाजलाई गराउन म कटिवद्ध छु । नेतृत्वको अधिकतम ठाउँमा म पुगिसकेको छु । म महासंघको सञ्चालक र यहि अभियानमा २४ वर्षदेखि कहिँकतै रहेर काम गरिराखेको छु । तर नेतृत्वको उच्च तहमा नपुग्दासम्म आफुले देखेको र सोचेको कुरालाई पूर्णरुपमा कार्यान्वयन गर्न सकिँदो रहेनछ । अब बाँकी ४ वर्ष यसैका लागि काम गर्न समर्पित गर्ने योजना बनाएको छु । ४ वर्ष मध्ये ३ वर्ष मात्र म काम गर्छु र अन्तिम एक वर्ष बरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष बनाएर साधारण सभाको अध्यक्षता गर्न मात्र आउँछु ताकि अर्को कार्यकालमा आउने नेतृत्वलाई काम गर्न सजिलो होओस् भन्ने मेरो चाहना हो ।
तपाइँले नेतृत्वको उच्चतम तहमा पुगेको अनुभूति छ भन्नु भयो तर सहकारीका सदस्यले त्यो अनुभव कहिले गर्न पाउँछन् ?
सदस्यहरुलाई मैले नतिजाको अनुभूति दिलाउन सकुँला । त्यसका लागि नेतृत्वमा पुग्नै पर्ने हुन्छ । हामीले संघ/महासंघमा एउटै व्यक्ति पटकपटक दोहोरिने पद्धतिलाई ब्रेक गर्नुपर्छ । म कार्यवाहक अध्यक्षको भूमिकामा रहँदा भएका कतिपय राम्रा निर्णयहरु छन् जुन तपाईंहरुले नेफ्स्कुनमा गएर खोज्न र हेर्नसक्नुहुन्छ ।
विगत दुई वर्षयता नेपालको सहकारी अभियान वित्तीय संकटबाट गुज्रिइरहेको छ । यसले गर्दा सदस्यहरुको विश्वास पनि घटिरहेको छ । गुमेको साखलाई माथि उठाउने र सहकारीका समस्यालाई सम्बोधन गर्न निक्कै चुनौतिपूर्ण अवस्था छ नि ?
साकोस अभियानभित्र हामीलाई कहीँ पनि तरलता व्यवस्थापनको समस्या आउनु नपर्ने हो । जसले नियमनि बचत सदस्यबाट लिनुहुन्न त्यहाँमात्र तरलताको समस्या देखियो । सहकारीको पहिलो दर्शन भनेको सदस्यबाट नियमित बचत संकलन गर्नु हो । हामीले नियमित बचत गरेनौं भने पुँजी संकलन हुँदैन । अर्कोतर्फ आवश्यक पर्दा नियमति बचतको निश्चित प्रतिशत पैसा सदस्यहरुलाई ऋणको रुपमा प्रवाह गर्ने हो । बचत र ऋण भन्दा पनि पहिलो कुरा सदस्यलाई सेवा दिने हो । सेवा भित्र सहकारी शिक्षा, प्रविधि, राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्तको विषयका बारेमा प्रशिक्षण दिने कुरा हुनसक्लान् । ऐन नियम, विनियमका बारेमा जानकारी दिने कुरा होलान् । हाम्रो काम सहकारीलाई प्रवद्र्धन गर्ने हो । सदस्यले गरेका नियमित बचतलाई सुरक्षित गरेर जसलाई आवश्यक पर्छ, उसलाई ऋणको रुपमा बचतको पैसा लगानी गर्ने हो । त्यसकारण सहकारीमा तरलताको समस्या नै हुँदैन । पछिल्लो समय केहि सहकारी संस्थामा तरलताको समस्या आयो । कोभिड १९ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आएको आर्थिक मन्दीका कारणले पनि सहकारीहरु तरलता संकटमा परे । मुलुकमा आर्थिक मन्दी आएकाले त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थामा पनि पर्यो । जसले गर्दा उनीहरुले बचतमा बढी ब्याज दिए । यसले गर्दा सहकारीको पैेसा बैंकतिर सर्यो । हामीसँग ठूलो पैसा राख्न धेरै जोखिम छ । यी सबै कुराले गर्दा सहकारीहरुमा तरलता समस्या देखिएको हो । जसले नियमित बचत गरेका छैनन र अस्वाभाविक ढंगले लगानी गरेका छन्, समस्या त्यहाँबाट आएको हो । ऋणीले लिएको ऋण समयमा सम्बन्धित संस्थामा फिर्ता नआउँदा पनि तरलता समस्या परेको छ । सदस्यहरुको बचत असुरक्षित भएको छैन । अस्वाभाविक क्षेत्रमा भएको लगानी र केहि सञ्चालकहरुको गलत नियतका कारण यो समस्या आएको हो । सहकारी ऐनमा उल्लेख भएको ऋण असुली न्यायाधिकरण गठन नभएकाले पनि यो हदसम्मको समस्या आयो । कर्जा सूचना केन्द्रको व्यवस्था गर्न सकेको भए सदस्यले लिएको ऋणको अवस्थाको बारेमा थाहा हुन्थ्यो । दोहोरो सदस्यता रहेकाले एउटा सदस्यले धेरै संस्थाबाट ऋण लिएका छन् । एउटा धितो धेरै ठाउँमा देखाइएको छ । यी सबै कुरालाई नियन्त्रण गर्न कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण चाहिन्छ । वित्तीय सहकारी ऐन ल्याउन सकियो भने यी सबै कुरालाई त्यसैभित्र प्याकेजमा डिल गर्न सकिन्छ ।
विभागले नेफ्स्कुनलाई लक्षित गर्दै परिपत्र गरेको छ, खास कुरा के हो ?
सहकारी ऐन २०७४ ले परिभाषित गरेको विषय हो यो । हाम्रो बानी हिँड्दाखेरी खुट्टामा ठेस नलागेसम्म जुत्ताको परिकल्पना गर्दैनौं । ऐनमा भएको कुरालाई विभागले स्पष्ट पारिदिएको मात्र हो । नेफ्स्कुन आफैंले पत्राचार गरेर सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ लाई व्याख्या गरिदेउ भनेर पठाएपछि ऐनको दफाको मनासय यो हो भनेर विभागले स्पष्ट पारेको हो । माथिल्लो पदमा गएपछि तलको पद छाड, दाहोरो पदमा नबस भन्न खोजेको हो । दुवै संघसंस्थामा बस्दा उत्तिकै समय दिनुपर्यो । त्यो सम्भव नभएकाले एक व्यक्ति एक पदको अवधारणा लागु गर्न विभागले भनेको हो । नेतृत्व गर्ने व्यक्ति स्वयंले आफ्नो प्राथमिकता कहाँ हो, आफुलाई न्यूट्रलमा राखेर छनोट गर्न र सोही अनुसार अगाडि बढ्नुपर्ने विभागको आशय हो । यसले एक खालको सुरुवात गर्छ । २०७४ देखि यो विषयलाई अभ्यासमा ल्याइएको भए यति धेरै चासो हुने थिएन । ऐन जारी भएको ६ वर्षपछि सुरु गर्न लागेकाले केहि हलचल ल्याएको हो । एउटा मोडमा पुग्दासम्म यसले सकारात्मक सन्देश दिन्छ ।
आफ्ना शुभेच्छुक, सहकारीकर्मी र साकोस अभियानको नेतृत्वलाई के आग्रह गर्नुहुन्छ ?
म यसै मिडियामार्फत सबै साकोस अभियानका प्रतिनिधिहरुलाई मेरो सन्देश प्रवाह गर्न चाहन्छु । मैले स्वाभाविक नेतृत्व गर्न खोजेको हुँ । यो अभियानमा २४ वर्ष बिताउँदासम्मका मेरा गुण दोषलाई अध्ययन गर्न आग्रह गर्छु । मेरा लागि तपाईंहरुले २४ वर्ष कुरिदिनुभयो भने अर्को ४ वर्ष मलाई अवसर दिएर बचत तथा ऋण अभियानभित्र देखिएका समस्याहरुको व्यवस्थापन गर्ने अवसर दिनुस् । राष्ट्रिय सहकारी महासंघ, अन्य संघ, सहकारी विभाग, मन्त्रालय, प्रदेश र स्थानीय तहको सहकारी शाखासम्म बहस पैरवी गरेर समग्र सहकारी अभियानलाई पुरानै लयमा लैजान सफल नेतृत्व प्रदान गर्छु । पौष ७ र ८ गते प्रकृयाको कुरामात्र हो । अहिले प्रतिनिधि छनौट चलिराखेको छ । मंसीर मसान्तसम्म प्रतिनिधि पठाउने समय छ । नेतृत्व परिवर्तनको स्लोगन बनाएर अगाडि बढ्न सबैजनालाई मेरो आग्रह छ । यस पटक जसरी पनि नेतृत्व बदलौं र सहकारी अभियानको साखलाई माथि उठाउने काममा सबैले साथ, सहयोग र हातेमालो गरौं । जय सहकारी !