अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्न नमिल्ने बताएका छन् । त्यस्ताे माग कसैले राख्छ भने राज्यले कुनै सुनवाइ नगर्ने उनले स्पष्ट पारेका हुन्।
अर्थतन्त्रलाई गति दिन भन्दै निजी क्षेत्रका व्यवसायीसँग कुराकानी गर्दै मन्त्री डा. महतले अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा छलफल भइरहेकाे जनाए । उनले भने ‘तर ऋण लिएर तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनवाइ हुँदैन । ऋण तिर्नैपर्छ । अप्ठ्यारामा परेकाहरुलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ ।’
ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन नसक्ने समेत बताए । उनले भने, `समस्यामा परेकाले केही समय पाउँ, केही सहज होस् भन्छ भने उसप्रति राज्यले केही सोच्ने छ ।’
अर्थतन्त्रमा संरचनागत समस्या रहेकाे भन्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन अझ धेरै काम गर्न बाँकी रहेकाे मन्त्री डा. महतले जनाए। उनले भने, ‘समग्रमा दीर्घकालीन सोचका साथ जलविद्युत, कृषि, पर्यटन, आईटी, साना उद्योग व्यवसायको प्रवद्र्धन गर्ने क्षेत्रमा तदारुकताका साथ सरकारले काम गर्नेछ ।’