विद्युतीय सवारी साधनमा नेपाली ग्राहकको आकर्षण बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको दुइ हजार १ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएको भन्सार विभागले जनाएको छ ।
चालु आवको तीन महिनामा ५० किलोवाट क्षमताका नौ सय ५४ वटा विद्युतीय सवारी साधन आयात भएका छन्। ५० किलोवाट क्षमताका विद्युतीय सवारी साधन खरिद गर्दा एक अर्ब ७२ करोड २८ लाख ७२ हजार रूपैयाँ विदेशिएको छ।
त्यसैगरी ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमतासम्मका एक हजार एक सय ६६ वटा चार पांग्रे विद्युतीय सवारी साधन आयात भएका छन्। ती सवारी साधन आयात गर्दा तीन अर्ब ३८ करोड २४ लाख २९ हजार रूपैयाँ खर्च भएको छ।
गत आर्थिक र्वषभर आयात भएका सवारी साधनको कुल संख्याको ५० प्रतिशतभन्दा धेरै विद्युतीय सवारी साधन चालु आवको तीन महिनामा आयात भएको तथ्यांकले देखाउँछ ।
पछिल्ला वर्षहरुमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात घटिरहेको छ भने विद्युतीय सवारी साधनको आयात उल्लेख्य मात्रामा बढिरहेको देखिन्छ।
भन्सार विभागका अनुसार चालु आवको दुई महिनामा आठ सय ९८ वटा चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका थिए। भन्सार विभागका अनुसार सो अवधिमा चार वटा फरक क्षमताका चार पांग्र्रे विद्युतीय सवारी साधन आयात भएका थिए।
त्यसैगरी चालु आवकै दुई महिनामा ५१ किलोवाट क्षमतादेखि एक सय किलोवाट क्षमताका इलेक्ट्रिक कार, जिप र भ्यान ६ सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। ती सवारी साधन आयात गर्दा एक अर्ब ८७ करोड ६४ लाख २६ हजार रूपैयाँ बराबरको आयात भएको छ।
चालु आवमा १०१ किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका इलेक्ट्रिक कार, जिप र भ्यान तीन वटा सवारी साधन आयात भएको छ ।
विभागका अनुसार अघिल्लो आवमा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय सात वटा आयात भएका थिए। अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चार पांग्रे विद्युतीय सवारी साधन आयात भएका थिए।
विभागको विगत दुई वर्षको तथ्यांकले पनि नेपालमा विद्युतीय सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखाउँछ।
त्यसैगरी चालु आवको तीन महिनामा दुई हजार पाँच सय २८ वटा तीन पांग्रे विद्युतीय सवारी साधन आयात भएको छ। ती सवारी साधन आयात गर्दा २४ करोड ४७ लाख रूपैयाँ बराबरको आयात भएका छन् ।