शनिबार, कार्तिक ८ गते २०८३

नेपाल बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति १३ अर्ब नाघ्यो 

कार्तिक २३, २०८० बिहीबार
नेपाल बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति १३ अर्ब नाघ्यो 


झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी० ले  १० अर्ब बढी लगानी गरेको छ । संस्थाले आव २०७९ / ०८० को असार मसान्तसम्म १० अर्ब ६३ करोड ३८ लाख २९ हजार १८ रुपैयाँ कर्जा लगानी गरेको छ । 

सहकारीले  पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । सहकारीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सहकारीको संस्थागत पूँजी ७६ करोड ९ लाख  छ भने कूल प्राथमिक पूँजी २ अर्ब १६ करोड १४ लाख  रहेको छ । सहकारीले सोही अवधिमा ९ अर्ब ४० करोड ७४ लाख   बचत संकलन गरेको छ भने १० अर्ब ६३ करोड ३८ लाख  कर्जा लगानी गरेको छ । त्यसैगरी संस्थामा १ अर्ब ४० करोड ५ लाख   शेयर पूँजी पुगेको छ ।

कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र इलाममा ५८ वटा सेवा केन्द्रमार्फत् सेवा प्रवाह गर्दै आएक एनएमसीमा हाल १ लाख ५३ हजार ८०३ सेयर सदस्य आबद्ध छन् । संस्थाको ५ वटै व्यवसायमा गरी कूल १ हजार १४४ जना कर्मचारी कार्यरत छन् ।

पत्रकार सम्मेलनमा सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले मंसिर २ गतेदेखि ८ गतेसम्म सात वटा इकाइगत साधारणसभा हुने जानकारी दिए । सहकारीले मंसिर १६ गते माइन्युट प्रमाणिकरण भेला गरेर ३१ औं बार्षिक साधारण सभा सम्पन्न गर्ने जनाएको छ ।

पछिल्लो समयमा देखिएको आर्थिक संकट सहकारी क्षेत्रमा पनि परेको बताउँदै अध्यक्ष शिवाकोटीले संस्थामा एक जना सदस्यले बचत गरेको रकम अर्को सदस्यले ऋणको रुपमा प्रयोग गरेकाले भ्रम र अफवाहको पछि नलागी सदस्यले समयमै कर्जा बुझाउनुपर्नेमा जोड दिए ।

सहकारीले बचत तथा ऋणको कारोबार देखि सहकारी पसल, डेरी उद्योग, कृषि र चिया उद्योग गरी पाँच वटा सहकारी व्यवसाय सञ्चालन गरिरहेको सहकारीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । आर्थिक मन्दिका कारण व्यवसायलाई पनि असर गरेको बताउँदै उप्रेतीले व्यवसाय केही घाटामा गएको स्पष्ट पारे ।

उनले अहिले क्रमशः सुधार देखिँदै गएको र सदस्यले उत्पादन गरेको स्थानीय बस्तुको बजारीकरणका लागि सहकारी पसल अनिवार्य भएको उल्लेख गरे । मुलुकको अर्थतन्त्र संकटमा पर्दा सहकारीले जोगाउन सक्ने भन्दै उनले सहकारीको सिद्धान्त भन्दा बाहिर गएका सहकारी समस्यामा गएको बताए । उनले सहकारीको मूल्य र मान्यता बमोजिम सहकारी संस्था चल्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । उनका अनुसार २०५० सालमा स्थापना भएर काँकरभिट्टाबाट २ लाख ५३ हजार लगानीबाट सुरु भएको सहकारीको  हाल कुल सम्पति १३ अर्व २ करोड ८ लाख  पुगेको छ । सहकारीले २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैया नाफा कमाएको छ । सहकारीमले साना ठूला गरी २१ वटा सहकारी एकिकरण  गरिसकेको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता